गठबन्धन बैठकमा गगन नजानुको यस्तो रहेछ कारण – Nepal Press

गठबन्धन बैठकमा गगन नजानुको यस्तो रहेछ कारण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा केही दिनयता गठबन्धनको बैठकमा अनुपस्थित छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिमा थापा सदस्य रहेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिका बैठकमा नियमित सहभागी हुने गरेका थापा तीन दिनयता भने बैठकमा गएनन् । बुधबार मात्रै गठबन्धनमा महानगर र उपमहानगरको सीट बाँडफाँट टुंगिएको छ ।

गठबन्धनका बैठकमा गगन अनुपस्थिति हुनुका मुख्यतः २ कारण छन् । पहिलो गठबन्धनको निर्णयमा असन्तुष्टि र दोस्रो घोषणापत्र बनाउने व्यस्तता । कांग्रेस कार्यसम्पादन समितिको पछिल्लो बैठकमै महामन्त्री थापाले केन्द्रीय समितिको निर्णय विपरीत तालमेलबारे केन्द्रबाट निर्णय लाद्न खोजिएको भन्दै असन्ष्टि जनाएका थिए । थापाको असन्तुष्टि सम्बोधन गर्न सभापति शेरबहादुर देउवा तयार भएनन् ।

केन्द्रीय समितिको निर्णय जे भएपनि गठबन्धनबाट आफूअनुकूल निर्णय गराउने तयारी देउवाले गरेपछि गगन गठबन्धनका बैठकमा अनुपस्थित भएका हुन् ।

‘कांग्रेस केन्द्रीय समितिले स्थानीय आवश्यकता अनुसार स्थानीय समितिले नै तालमेलबारे निर्णय लिने भनिए पनि गठबन्धनको बैठकबाटै महानगर, उपमहानगर र कतिपय पालिकाहरूको निर्णय गर्ने प्रयत्न गरिएको छ । कांग्रेसको निर्णयविपरीत काम हुने बैठकमा कांग्रेसको महामन्त्री किन जाने ?’, महामन्त्री थापानिकट एक नेताले भने ।

गठबन्धन बैठकमा थापाको अनुपस्थितिको दोस्रो कारण घोषणापत्र लेखनको जिम्मेवारी पनि हो । कांग्रेसले महामन्त्री थापाकै नेतृत्वमा घोषणापत्र लेखन समिति बनाएको छ । वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक हुने घोषणापत्र लेखनमा समय दिनु परेकोले पनि गठबन्धन बैठकमा थापा जान नभ्याएका हुन् ।

‘यसपटकको घोषणापत्र कांग्रेसका लागि सदैव अनुकरणीय होस् भनेर मेहनत गरेका छौं । काठमाडौंबाहिरै बसेर केही दिन काम गरेका छौं । त्यसैले व्यस्तता बढेको छ’, थापाले बुधबार नाँचघरको कार्यक्रममा भनेका छन् ।

कांग्रेसमा महामन्त्री थापालगायतका नेताहरू चुनावी तालमेलको विपक्षमा छन् ।

(बालुवाटारमा सिट बाँडफाँट गर्न गठबन्धनको ‘निर्णायक बैठक’ चलिरहँदा नेविसंघको एक कार्यक्रममा सहभागी भएका गगन । तस्बिरहरू : गौरव पौडेल ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर