गृहमन्त्रीको चेतावनी- गठबन्धनको निर्णय नमान्नेको नोटिस गरिएको छ, सांसदसम्म उठ्न पाउँदैनन् (भिडिओ) – Nepal Press

गृहमन्त्रीको चेतावनी- गठबन्धनको निर्णय नमान्नेको नोटिस गरिएको छ, सांसदसम्म उठ्न पाउँदैनन् (भिडिओ)

रुपन्देही । कांग्रेस नेताहरूबाटै गठबन्धन विरोधी आवाज आइरहेको बेला नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले उक्त चेतावनी दिएका हुन् ।

पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयविरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको भनाइ छ ।

वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने खाणले बताए ।

‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको केन्द्रीय कमिटीको निर्णय हो त्यस विपरीत जान सकिँदैन, निर्णय विपरीत जाने नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी गतिविधि नोटिस गरिएको छ’, खाँणले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति टिप्पणी गर्दै गृहमन्त्री खाणले गभर्नर अधिकारीले गरेका काम कारबाहीप्रति कमीकमजोरी देखिएकोले सरकारले निलम्बन गरे पनि सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने बताए ।

अर्थमन्त्रीको सिफारिस भए पनि मन्त्रिपरिषद्को निर्णयबाटै गभर्नर अधिकारीलाई निलम्बन गरिएकोले यसको जिम्मेवारी पनि सरकारले नै लिने उनको भनाई छ ।

खाँणले स्थानीय तहको निर्वाचन देशभर एकै पटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए ।

अघिल्लो पटकको तिन चरणमा सम्पन्न गरिएको स्थानीय तहको निर्वाचन यस पटक भने वैशाख ३० गते एकै दिन हुने भएकोले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर