सुदूरपश्चिममा माओवादी र कांग्रेसको छुट्टै छलफल, किन सहभागी भएन नेकपा एस ? – Nepal Press

सुदूरपश्चिममा माओवादी र कांग्रेसको छुट्टै छलफल, किन सहभागी भएन नेकपा एस ?

कैलाली । आगामी स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टै छलफल गरेका छन् ।

धनगढी स्थित जलसा होटेलमा भएको छलफलमा उनीहरू सहमति नजिक पुगेको बताइएको छ ।

मुलुकमा पाँच दलीय गठबन्धन भए पनि सुदूरपश्चिम प्रदेशमा तीन दलीय गठबन्धन हुने भएको छ । तर, तीन दल बिच पनि भागबन्डामा कुरा नमिले पनि आज नेपाली कांग्रेस र माओवादीले छुट्टै छलफल गरेका हुन् । उक्त छलफलमा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित भएका थिएनन् ।

नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले तीनै दलले धेरै स्थानीय तहमा दाबी गरेपछि छुट्टा छुट्टै छलफल गर्नु परेको बताए।‘ सबैको दाबी धेरै छ । त्यसैले एक्ला एक्लै बस्नु परेको हो’ उनले नेपाल प्रेसलाई भने, ‘यस पछि हामी फेरी नेकपा एकीकृत समाजवादीसँग छलफल गर्छौ ।’

दार्चुला जिल्लामा कांग्रेस र माओवादी तालमेल गरेर एकीकृत समाजवादीलाई कुनै पनि पालिका नदिएको भन्दै उनीहरू रुष्ट भएका छन् ।

यस्तो अवस्थामा धनगढीमा प्रदेश स्तरीय छलफलमा समेत एकीकृत समाजवादी नआउँदा आशङ्का पैदा भएको छ । तर, कांग्रेस प्रदेश सभापति बलायरले भने सहमतिको प्रयास को लागि यस्तो गरिएको बताए ।

‘उहाँहरूलाई सँगै लिएर जाने कुरा मात्रै होइन उहाँहरूलाई विजयी गराउने कुरा पनि छ’ उनले भने , ‘अहिले यसरी छलफल गरे पनि अब उहाँहरू सहित पाँचै दलसँग छलफल सुरु गर्छौ । ’

प्रदेश सभापति बलायरले यस पछि पाँच दलसँग छलफल गर्ने बताए पनि सुदूरपश्चिम प्रदेशमा चार दलीय तालमेल मात्रै हुने छ ।

पाँच दल भित्रै रहेको जनता समाजवादी पार्टीले यस अघि नै सम्मानजनक भूमिका नभएको भन्दै गठबन्धन तोडिसकेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मात्रै बसेको बुधवारकै बैठकमा पनि ठोस सहमति भने भएको छैन । छलफल सकारात्मक भए पनि सहमति नभएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए ।

‘सहमति हामी सबै बसेर गर्छौ अहिले दुई पक्ष मात्रै बस्दा सहमति गर्ने कुरा भएन’ उनले भने ‘आज हामीले विवाद घटाउँदै लैजाने र दाबी घटाउँदै जाने विषयमा कुरा भएको छ’ ।

उनका अनुसार काँग्रेससँगको बैठकमा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई पनि व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।

अझै लचक हुनु पर्नेमा कांग्रेसलाई माओवादीले आग्रह गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ । माओवादीले ३० स्थानीय तहमा दाबी गरेको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा २० पालिका दाबी गरेको छ ।

समाजवादीले सुदूरपश्चिम प्रदेशमा धेरै अपेक्षा गरेका कारण सहमति हुन नसकेको हो ।

आज कांग्रेस र माओवादी बिच पनि एकीकृत समाजवादीलाई कसरी र कति स्थानीय तह दिएर व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर