बलात्कार मुद्दामा सर्वोच्चको त्यो नजिर- बकपत्रलाई पन्छाउँदै प्रमाणका आधारमा पीडकलाई १२ वर्ष जेल
काठमाडौं । आफ्नै ७ वर्षीया झड्केली छोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला अदालतले २०७१ असार १ गते मुलुकी ऐनको व्यवस्थालाई टेकेर संगम सार्कीलाई १२ वर्ष जेल सजाय गर्ने फैसला गर्यो ।
जिल्ला अदालतको फैसलाविरुद्ध सार्कीले पुनरावेदन गरे । तर पुनरावेदन अदालत राजविराजले २०७१ साल चैत ११ गते जिल्ला अदालतको फैसला सदर गर्यो । त्यसपछि सार्की सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७५ चैत ५ गते जिल्ला र पुनरावेदन अदालतको फैसला सदर गर्यो ।
यस मुद्दामा पीडित नाबालिग र जाहेरवाला उनकी आमाले अदालतमा बयान फेरेका थिए । तर, पनि सार्कीले उन्मुक्ति पाएनन् ।
न्यायाधीश खतिवडाले फैसलामा लेखेका छन्–
जबरजस्ती करणी मुद्दामा वारदात स्थापित गर्ने विषयमा जाहेरवाला, पीडित तथा अन्य व्यक्तिको भनाइ महत्त्वपूर्ण हुन्छ । वारदातको सम्बन्धमा पीडितको मौकाको बयान, किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थलको मुचुल्का, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको साविती बयान तथा घटना सम्बन्धमा अन्य व्यक्तिले गरिदिएको कागजबाट जबर्जस्ति करणी पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी प्रतिवादी, जाहेरवाला तथा स्वयम् पीडितसमेतले बयान बकपत्र गर्दैमा जबरजस्ती करणी भएको होइन भनी निष्कर्षमा पुग्न सकिँदैन ।
फौजदारी मुद्दामा कहिलेकाहीँ पीडित, जाहेरवाला तथा अन्य व्यक्तिले विभिन्न कारणले आफूले गरेको बयान कागजको प्रतिकुल हुने गरी प्रतिवादीलाई बचाउने हेतु बयान बकपत्र गर्ने गरेको पाइन्छ । अन्य प्रमाणबाट कसुर पुष्टि भइरहेको अवस्थामा जाहेरवाला, पीडित तथा अन्य व्यक्तिले अनुसन्धानको क्रममा आफूले भनेको भनाइविपरित हुने गरी अदालतमा गरेको बयान बकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिनु न्यायको दृष्टिले न्यायोचित हुँदैन ।
रङ्गेहात पक्राउ परेका थिए सार्की
सार्की २०७० पुस ६ गते उदयपुरको तत्कालीन हडिया गाविस–५ मा रहेको ससुराली घरमा पुगेका थिए । भोलिपल्ट ससुरालीबाट फर्कँदा झड्केली छोरी पनि सँगै जान्छु भनेपछि उनलाई लिएर सार्की निस्किए । बाटामा उनले मदिरा सेवन गरे ।
पछि छोरीलाई पनि मदिरा सेवन गर्न लगाए । प्रहरीसँगको बयानमा सार्कीले मदिरा सेवन गरेपछि यौन सम्बन्ध गर्न मन लागेर स्थानीय जङ्गलमा लगेर छोरीलाई बलात्कार गरेको बताएका थिए । गोठालाहरूले खबर गरेपछि सार्कीलाई यौन सम्पर्क गर्दागर्दै पक्राउ गरेको प्रहरीको दाबी थियो । प्रहरीका अनुसार त्यति बेला दुवै जना नग्न थिए र बालिका बेहोस थिइन् ।
प्रहरीले स्थानीयलाई बोलाएर घटनास्थलको मुचुल्का गरेको थियो जसमा सार्कीले पनि हस्ताक्षर गरेका थिए । तत्कालै अस्पताल पुर्याइएकी बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा यौनीबाट रगत बगेको उल्लेख थियो । त्यसपछि पीडितका तर्फबाट उनकी आमाले श्रीमानविरुद्ध प्रहरीमा जाहेरी दिइन् ।
अनुसन्धान अधिकारीसँग पीडित बालिकाले बुबाले मदिरा खुवाएर जङ्गलमा लगी बलात्कार गरेको बताएकी थिइन् । सार्कीले पनि प्रहरीसँगको बयानमा अपराध स्वीकार गरेका थिए । तर अदालतमा सार्कीले इन्कारी बयान दिए । प्रहरीले जबरजस्ती स्वीकार गर्न लगाएको उनले दाबी गरे ।
पीडित बालिकाले पनि आफू बुबासँग जाँदा जङ्गलमा बेहोस भएको र अस्पताल ल्याइएको भन्दै बलात्कार नभएको बताइन् । उनकी आमाले पनि छोरीलाई सामान्य बिरामी भएको अवस्थामा अस्पतालबाट ल्याइएको भन्दै जाहेरीमा भएको ब्यहोरा आफ्नो नभएको दाबी गरेकी थिइन् । तर जिल्ला अदालत र पुनरावेदन अदालतले पीडित र पिडकको बकपत्रलाई प्रमाणका रूपमा हेरेन ।
सर्वोच्चका न्यायाधीशद्वय खतिवडा र सिन्हाको संयुक्त इजलासले अन्य प्रमाणले कसुर पुष्टि हुने देखिएकामा बकपत्रको अर्थ नहुने जिकिर गर्यो ।
पल शाहको मुद्दासँग कति समान ?
यति बेला चर्चामा रहेको पल शाहको मुद्दामा जाहेरीवालाले बयान फेरेपछि कस्तो फैसला आउला भन्ने कौतूहल छ । माथि उल्लेखित मुद्दा र पल शाहको मुद्दामा धेरै समानता देखिन्छन् ।
दुवै मुद्दामा पीडित नाबालिग छन् । र, दुवैमा पीडितले अदालतमा बकपत्र दिँदा पहिलेको बयान फेरेका छन् । पीडितले नै बलात्कार नभनेको भनिसकेपछि अब पल शाहले स्वतः सफाइ पाउने उनको पक्षधरको विश्वास छ । तर, यो त्यति ‘स्ट्रेटफरवार्ड’ नहुने माथिको दृष्टान्तबाट पनि बुझिन्छ ।
अदालतले बकपत्र नै सबै थोक होइन भन्ने सर्वोच्चको उक्त नजिरले देखाउँछ । यदि अन्य प्रमाणहरूले बलात्कार प्रमाणित हुन्छ भने न्यायाधीशहरुले होस्टाइल बनेका पीडित पक्षको बकपत्रलाई नजरअन्दाज गर्न सक्ने यो फैसलाले स्थापित गरेको नजिर हो ।
पल शाहको मुद्दामा पनि बलात्कार प्रमाणित हुने बलिया प्रमाणहरू छन् । सार्वजनिक भएको अडिओमा पल स्वयम्ले नाबालिगसँग सम्बन्ध रहेको स्वीकारोक्ति व्यक्त गरेका छन् । उक्त अडिओमा सुनिएको आवाज पलको हो भन्ने पुष्टि भइसकेको अवस्थामा उनले सहजै छुटकारा पाउन कठिन देखिन्छ ।