ओलीको टिप्पणी- एमालेको सूर्य कब्जा गर्न खोज्नेहरूको थुतुनो जलिरहेको छ (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- एमालेको सूर्य कब्जा गर्न खोज्नेहरूको थुतुनो जलिरहेको छ (भिडिओ)

‘नेकपामा ममाथि १९ बुँदे फौजदारी आरोप लगाएर त्यही आधारमा थुन्ने योजना बनाएका थिए’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरेका छन् ।

केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा एकताको बेला आफूले दिएको बहुमत दुरुपयोग गर्न प्रचण्ड-माधव उद्धत भएर १९ पृष्ठ लामो फौजदारी अभियोग लगाएको बताए ।

ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने, ‘हनुमानले जस्तै यिनीहरूले पनि एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।’

ओलीले आफूलाई प्रचण्ड-माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताए । उनले एमाले र माओवादीको एकता भंग भएर जनमत खण्डित भएपछि प्रतिनिधिसभा भंग गरेको बताए ।

ओलीले अदालतले संविधानबाहिर गएर आफ्नो सरकार हटाएको न्यायाधीशले नै स्वीकार गरिसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर