राप्रपाबाट काठमाडौंको मेयर उम्मेदवारमा मदनदास श्रेष्ठ लगभग फाइनल, ललितपुरमा दुई दावेदार – Nepal Press

राप्रपाबाट काठमाडौंको मेयर उम्मेदवारमा मदनदास श्रेष्ठ लगभग फाइनल, ललितपुरमा दुई दावेदार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको मेयरमा दिग्गज कलाकार मदनदास श्रेष्ठलाई टिकट दिने तयारी गरेको छ । अन्तिम निर्णय हुन बाँकी रहे पनि श्रेष्ठको नाममा करिब सहमति जुटेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘घोषणा भइसकेको अवस्था होइन, तर ९० प्रतिशत सम्भावना मदनदासजीको छ’, उनले भने ।

मदनदास राप्रपाका सक्रिय नेता भने होइनन् । उनी राप्रपा शुभेच्छुकका रुपमा पार्टीको चियापान समारोहमा सहभागी हुने गर्थे । देशको कलाकारितालाई पनि सम्मान गर्ने तथा पार्टीको दायरा फराकिलो बनाउने सोचले उनलाई मेयरमा उठाउन लागिएको हो ।

श्रेष्ठका अनुसार राप्रपाले भोलि देशभरका सबै महानगरपालिकाका उम्मेदवारहरु टुंगो लगाउने छ । ललितपुर महानगरपालिकामा दुई दावेदार देखिएका छन् । जिल्ला अध्यक्ष अष्ट महर्जन र केही दिनअघि माओवादी केन्द्र छोडेर राप्रपामा प्रवेश गरेकी हसिना शाक्यले मेयरमा दावेदारी प्रस्तुत गरेका छन् । उनीहरुमध्ये एकजनाको नाममा भोलि निर्णय हुनेछ ।

बुटबल उपमहानगरपालिकामा राप्रपाको मेयर उम्मेदवारमा बुधबार मृगेन्द्र शेरचनको नाम घोषणा गरिएको छ । यस्तै भैरहवामा सागरप्रताप राणा र पोखरामा विश्व हिन्दू महासंघका उपाध्यक्षसमेत रहेका शंकर खनालको नाम फाइनल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर