देश बचाउन राप्रपालाई मत दिने समय आयो : राजेन्द्र लिङ्देन – Nepal Press

देश बचाउन राप्रपालाई मत दिने समय आयो : राजेन्द्र लिङ्देन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा जनताको भविष्यको पार्टी भएको बताएका छन् ।

राप्रपाले बुटवलमा बिहीबार आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा प्रतिबद्ध रहेकाे बताएका हुन् ।

‘देशभन्दा ठूलो र माथि कोही नभएकाले देश बचाउन कांग्रेस, एमाले र माओवादीका विरुद्ध राप्रपालाई मत दिने समय आयो’, उनले भने, ‘गएको चुनावमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गति भोग्नुपरेको छ । नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रस्ट पारेको छ ।’

कांग्रेस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याई भत्ता खाएर देश चलाएको आरोप लगाउँदै लिङ्देनले भने, ‘राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो । हुँदा खाँदाको राजतन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासँग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको छ । कांग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ । नेपाली जनताले बुझेका छन् । नबुझेकालाई हामी बुझाउने छौं ।’

संघीयताले देशको ऋण र कर बढेको बताउँदै उनले कर तिरेर पनि जनताले केही नपाएको औंल्याए । राष्ट्रघातीहरुलाई हराउन बाउबाजेको पार्टी राप्रपालाई भोट दिन उनले आग्रह गरे ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताए । उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुलाई जनतासँग भोट माग्ने अधिकार नभएको दावी गरे । मुलुकका लागि राजा र राजतन्त्र चाहिने उनको तर्क थियो ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, पुनराम पोखरेललगायतले भ्रष्टाचारको अन्त्य, मुलुकको राष्ट्रिय स्वाधीनता र एकताका लागि राप्रपालाई एकपटक अवसर दिनका लागि मत दिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर