कृष्ण सिटौलाले झापामा गठबन्धन भंग गरेको नेकपा एसको आरोप – Nepal Press

कृष्ण सिटौलाले झापामा गठबन्धन भंग गरेको नेकपा एसको आरोप

कांग्रेस भन्छ– एउटा वडा जित्ने हैसियत नभएकाले ४ वटा मेयर र ८ उपमेयर मागे

बिर्तामोड । बुधवार साँझ बालुवाटारमा महानगरपालिका र उपमहानगरपालिकाहरुको भागबण्डा टुंगिदै गर्दा झापामा पनि सत्ता गठबन्धनको जिल्लास्तरीय संयन्त्रमा सहमतिको खाका बनिसकेको थियो ।

कांग्रेसका झापा जिल्ला सचिव कृष्ण हुमागाईको संयोजकत्वको संयन्त्रमा माओवादीबाट मोहन टुडु, नेकपा एसबाट निलमणी बराल र जसपाबाट गौरीमान राई थिए । १५ वटै स्थानीय तहमा लगभग भागबण्डा मिलेको थियो ।

तर एकाएक दिन कांग्रेस नेता कृष्ण सिटौला झापा पुगेपछि एकाएक बनिसकेको सहमति भाँडिएको आरोप नेकपा एसले लगाएको छ ।

सिटौला बिर्तामोडमा गएर प्रदेश सभापति उद्धब थापा र जिल्ला सभापति देउमान थेबेलगायतका नेतासँग छलफल गरेपछि हुमागाईँले सहमति लागू गर्न नसकिने संयन्त्रमा रहेका अन्य दलका नेतालाई जानकारी दिएको नेकपा एसका जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले बताए ।

तर कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईँले भने सिटौला झापामै नआएको बताए । उनले नेकपा एसले हैसियतभन्दा धेरै भाग मागेपछि अन्य दलबीचमात्र गठबन्धन हुने अवस्था आएको जानकारी दिए ।

के थियो सहमति ?

बुधवार बेलुकासम्म भएको सत्ता गठबन्धनको संयन्त्रमा झापा १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले लिने र दमकको प्रमुख माओवादीले लिने सहमति भएको थियो । त्यस्तै नेकपा एसलाई अर्जुनधारा नगरपालिकाको उपमेयर र कमल गाउँपालिकाको उपाध्यक्षसहित ५ वडाध्यक्ष दिने प्रस्ताव अन्य दलले राखेका थिए । नेकपा एसले भने बिर्तामोड र शिवसताक्षीको उपमेयर पनि दाबी गरेको थियो भने २० वटा वडाध्यक्ष माग्यो ।

यसमा छलफल चलिरहेका बेला कांग्रेसले गठबन्धन तोडेको सिग्देलले बताए । तर कांग्रेसका जिल्ला सचिव तथा संयन्त्रका संयोजक हुमागाईँले भने केन्द्रीय मापदण्ड अनुसार नेकपा एसले झापामा एउटामात्र वडाध्यक्ष पाउने भए पनि आफूहरुले उदार भएर ५ वटा वडाध्यक्ष दिएको बताए ।

उनले भने– उहाँहरुको मतभार हेर्दा कहिँ पनि जित्ने ठाउँ छैन । हामीले ५ वडा वडाध्यक्ष दियौं त्यो एमालेले जित्ने निश्चित हुँदा हुँँदै पनि उदार बनेर दिएको हो । एउटा उपमेयर र एउटा उपाध्यक्ष पनि दियौं तर उहाँहरुले २६ वडाध्यक्ष, चारवटा मेयर र ८ वटा उपमेयर मागेपछि त्यो दाबी सम्बोधन गर्न सक्ने अवस्था रहेन ।

हुमागाईले नेकपा एसले गठबन्धन छाडेर गए पनि उसलाई भाग लगाएको ठाउँ कांग्रेसले नलिएको बताए । उनका अनुसार नेकपा एसलाई छुट्याएको भाग माओवादी र जसपालाई बाँड्ने सहमति भएको छ ।

झापामा अब नेकपा एसबाहेकको गठबन्धन बन्ने भएको छ । नेकपा एसले भने कांग्रेसले भित्रभित्रै एमालेसँग पनि गठबन्धनको प्रयास गरेको आरोप लगाएको छ । कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस र एमालेको तालमेलका लागि छलफल चलेको आफूहरुले जानकारी पाएको सिग्देलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर