स्थानीय चुनाव लड्न विराटनगरमा पाँच वडाध्यक्षसहित १३ जनप्रतिनिधिको एकसाथ राजीनामा – Nepal Press

स्थानीय चुनाव लड्न विराटनगरमा पाँच वडाध्यक्षसहित १३ जनप्रतिनिधिको एकसाथ राजीनामा

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका पाँच वडा अध्यक्षसहित १३ जना जनप्रतिनिधिले बिहीबार एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन् ।

विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले राजीनामा दिएका हुन् । त्यसैगरी सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुकले पनि राजीनामा दिएका छन् ।

विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन् । राजीनामा दिएका १४ जनप्रतिनिधिमध्ये विराटनगर ५ का वडाध्यक्ष मिनकुमार आचार्यबाहेक १३ जना जनप्रतिनिधिहरुको राजीनामा सनाखत भइसकेको छ ।

महानगरपालिकामा बेरुजु देखिएको र बेरुजु फस्र्यौट नभएका कारण आचार्यले बुझाएको राजीनामा बिहीबार सनाखत हुन सकेन । विकास निर्माणको कार्यमा जनप्रतिनिधिहरुले लिएको पेश्की फरफारक नहुँदा महालेखा परीक्षणको प्रतिवेदनमै त्यस्ता बेरुजुहरु अधिक रहेको भन्दै असुल गर्न निर्देशन दिइएको थियो ।

विराटनगर ५ का वडाध्यक्ष आचार्यसहित वडा सदस्य केवल राय अमात, दलित महिला सदस्य राधादेवी पासवान र महिला वडासदस्य बिनादेवी धानुकले राजिनामा दिएका थिए । वडाध्यक्ष आचार्यबाहेक सबैको राजिनामा सनाखत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर