भोजपुरका ‘ध्रुवे हात्ती’- दोस्रोपटक महागठबन्धन पल्टाउन चुनावी मैदानमा
काठमाडौं । सत्तारुढ पाँच दलको तालमेलका कारण यो पटकको चुनाव जित्न नेकपा एमालेलाई सकस छ । तर, अधिकांश ठाउँमा चुनौती बढिरहँदा भोजपुर टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई भने ढुक्क छन् । किनकि २०७४ कै चुनावमा महागठबन्धनलाई हराएर एमालेका ध्रुवराजले यो गाउँपालिकामा विजय हात पारेका थिए ।
उनी चुनावी मैदानमा होमिएदेखि नै अघिल्लोपटक जोड रूपमा ‘ध्रुवे हात्ती’ को चर्चा चल्यो । एकताका चितवनमा ध्रुवे हात्तीको जगजगी थियो । धेरैलाई आतंकित पारेको ध्रुवे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका ध्रुवराज राईलाई कार्यकर्ताहरूले नै ‘धुर्वे हात्ती’ को संज्ञा दिएका थिए ।
टिकट पाउनासाथ धेरैले त पत्याएका थिएनन्, राजनीतिमा केश फुलाएका रामसिंह राईं (तत्कालीन संघीय समाजवादी फोरम) सँग ‘ठिटो’ ध्रुवराजले टक्कर देलान् भनेर । तर, जिल्लाका धेरै स्थानीय तह एमाले हारिरहँदा टेम्केमैयुङ भने जित्यो ।
कुनै बेला ध्रुव अखिलको राजनीतिमा बामे सर्दा नै रामसिंह एमालेको जिल्ला नेताका रूपमा स्थापित थिए । तर, अशोक राईहरूसँग रामसिंहले पनि एमाले छाडे ।
त्यो चुनावमा टेम्केमैयुङ र साल्पासिलिछो गाउँपालिका गुम्न सक्ने एमालेको आँकलन थियो । तर, परिणाम ठीक विपरीत आयो ।
जित्छौं भनेको भोजपुर नगरपालिकाका साथै अरुण, षडानन्द र आमचोकमा हार्दा टेम्केमैयुङमा ध्रुवराजले शानदार जित निकाले । योसँगै हतुवागढीमा पनि एमालेका प्रेम राईले गठबन्धनलाई पछारे । एमालेका लागि यो केवल एउटा स्थानीय तहको जित मात्र नभइ, महागठवन्धनविरुद्धको जित थियो ।
उसो त ध्रुवराजसँग प्रतिस्पर्धामा उत्रिएका रामसिं पनि जिल्लामा इमान्दार, अहिलेसम्म कतै लाभको पदमा नबसी त्यागी छवि बनाएका नेता हुन् तर, यतिले मात्र विजयी गराउन सकेन ।
चुनाव-७४ मा फर्किँदा
२०७४ को चुनावमा टेम्केमैयुङमा ध्रुवराजले महागठबन्धनलाई १४८ मतले हराए । उनले २७८० मत ल्याउँदा रामसिंले २६३२ मत प्राप्त गरे । वडा नम्बर ६, ७, ८ र ९ कोट, गोगने, लेखर्कको मत नै ध्रुवको लागि निर्णायक मत बन्न पुग्यो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।
९ वटा वार्ड रहेको टेम्केमैयुङमा ४ नम्बर नागी तत्कालीन संघीयय समाजवादी फोरमबाट विवश राई र ६ नम्बर माओवादीबाट सूर्य नेपालले वडाअध्यक्ष जितेका थिए ।
त्यो बेला जम्मा मतदाता ११ हजार २४७ जना थिए ।
अहिले के छ अवस्था ?
र, पाँच वर्षपछाडि आउँदो ३० गतेको चुनावका लागि एमालेले उनै ध्रुवलाई पुन: अध्यक्षको उम्मेदवार बनाएको छ गठबन्धनविरुद्ध । उपाध्यक्षमा रमा राईलाई अघि सारिएको छ । रमा हाल जिल्ला समन्वय समिति सदस्य छिन् ।
निर्वाचन आयोगका अनुसार टेम्केमैयुङमा अहिले १३ हजार ६१८ मतदाता छन् । गत चुनावभन्दा थपिएका २ हजार ३७१ मतदाता पनि यसपटक जिताउन र हराउन निर्णायक मानिन सक्छन् ।
गठबन्धनको जिल्लास्तरीय संयन्त्रले टेम्केमैयुङको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसलाई भागबण्डा गरिसकेको छ । यहाँ कांग्रेसबाट सरोज बस्नेत मुख्य दाबेदार छन् । एमालेबाट जितेर हाल समाजवादीमा रहेकी इन्द्रावतीलाई पुन: उपाध्यक्ष उठाउने गरी सो पार्टीले तयारी गरेको छ ।
सबै पार्टीका केन्द्रदेखि जिल्लासम्म प्रभावशाली नेता यहीँका भएकाले सबैले यस पालिकालाई प्रतिष्ठाको विषय बनाउनु स्वाभाविकै हो । र, पनि टेम्केमैयुङको चासो र चर्चा बढी छ ।
एमालेका केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष शरणकुमार राई, कांग्रेसका पूर्व र हालका सभापति नन्दमणी राई र विनोद बान्तवा, नेता हेमन्त मुकारुङ, माओवादीका केन्द्रीय सदस्य अजम्बर काङमाङ, राजेश खतिवडा, नेकपा एसकी उपाध्यक्ष जयन्ती राई, जसपाका केन्द्रीय नेताहरू हेमराज राई, रामसिं राईको गृहपालिका हो यो ।
माओवादीको असन्तुष्टि एमालेले गर्ला त ‘क्यास’
टेम्केमैयुङको प्रमुखमा जसपाले दाबी गरेको थियो । अघिल्लोपटक गठबन्धनबाट भिडेका तत्कालीन संघीय समाजवादीका रामसिंहलाई उठाउने गरी जसपाले पछिसम्म पनि दाबी छाडेको थिएन । तर, जसपालाई जिल्ला समन्वय समिति प्रमुख दिने सहमति गरिसकिएको छ ।
यता अध्यक्ष-उपाध्यक्ष केहीमा पनि आफूलाई भाग नछुट्याएको भन्दै माओवादीमा तीब्र असन्तुष्टि बढेको छ । ७४ मा पनि अध्यक्ष-उपाध्यक्ष केही उम्मेदवार नपाएको माओवादी यसपटक भागबन्डा गर्दा कम्तीमा उपाध्यक्ष पाउनेमा विश्वस्त थियो ।
माओवादीका एक नेताले असन्तुष्टि जनाउँदै भने, ‘पोहोर पनि रुखमा र पुल्ठो (संघीय समाजवादी फोरम) मा हालियो टेम्केमैयुङमा माओवादी नै नभएजस्तो गर्छन् साथीहरू यसपाली देख्लान् ।’
टेम्केमैयुङकै मोहन किराती ‘मादेन’ ले गठबन्धमा भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीमा प्रभावशाली नेता मानिन्छन् ।
मादेनले पार्टी परित्याग गर्नुमा ३ वटा कारण देखाएका छन् । कुनै पदमा पनि आफूले आकांक्षा नराखेको प्रष्ट्याउँदै मादेनले भने, ‘गठबन्धनको (मुख्यत कांग्रेस) केही मानिसको उक्साटमा लागेर हाम्रो जिम्मेवार नेताहरूले पार्टीलाई मटियामेट बनाउने सम्मको सहमति गर्ने देखे पश्चात् म मेरो सम्पूर्ण जिम्मेवारी बाट अलग भएको हो । यसमा मेरो कुनै किसिमको व्यक्तिगत महत्वकांक्षा थिएन छैन पनि ।’
माओवादीलाई हदैसम्मको उपेक्षा गर्दै गठबन्धनका साझा उमेदवारलाई जिताउन नसक्ने भएकाले जिम्मेवारी लिएको ठाउँबाट नैतिकताको आधारमा अलग्गिएको मादेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
माओवादीबाट जितेका वडा नम्बर ६, कोटका अध्यक्ष सूर्य नेपाल केही जनप्रतिनिधि र करिब २ सय दलबलसहित एमाले प्रवेश गरिसकेका छन् । उनी १९३ मत ल्याएर विजयी भएका थिए ।
यता कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने गरी गरिएको माइन्यूट उल्टाएको भन्दै माओवादी नेता अजम्बर काङमाङले फेसबुकमा पोष्ट गरेको नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने सूचीप्रति पनि गठबन्धनमा खटपट भयो ।
भागबन्डाप्रति माओवादी र कांग्रेस नेताकै कुरा बाझिएपछि दबाबका बीच काङमाङले केही घण्टामा पोष्ट सच्याए ।
को हुन् ध्रुवराज ?
२०३९ सालमा भोजपुरको पश्चिम नागीमा सामान्य परिवारमा जन्मिएका राईले भोजपुर बहुमुखी क्याम्पस हुँदै त्रिवि कीर्तिपुरबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेका छन् । अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए ।
अखिल सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२/६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका उनी आर्मीका ब्यारेक, प्रहरी/प्रशासनअगाडि हाक्काहाक्की राजाविरोधी नारा र भाषण गर्थे ।
युवामाझ लोकप्रिय ध्रुवलाई जिताउन एमाले कार्यकर्ता एक ढिक्का बनेर सबैको घरदैलोमा पुगे । विभिन्न पेशा, व्यवसायमा रहेकाहरू विराटनगर, काठमाडौंमा बसेका युवाहरू २० हजारसम्म व्यक्तिगत खर्च गरेर भोट हाल्न मात्र गएनन् गाउँ-टोलको प्रचार प्रसार खर्चमा सकेको सहयोग गरे ।
यो पाँच वर्षको बीचमा अधिकांश जनप्रतिनिधिलाई ‘ठाँट’ पल्टेको आरोप लागिरहँदा उनी यसबाट मुक्त भए । एउटा छड्के ब्याग कहिले छाडेनन् । फाट्टफुट्ट औपचारिक पोशाकबाहेक साधारण ड्रेसमै देखिन्छन् । गाडीभन्दा बढी बाइकमै कुद्छन् ।
ध्रुवले ५ वर्षमा के गरे मुख्य काम ?
उनको नेतृत्वमा गाउँपालिकाका सबै घरमा बिजुली पुगेको छ । ‘चुनाव उठ्दा धेरै वटा टुक्रे आश्वासन बाँडेर भन्दा पनि जनताको जीविकामा सहज हुने गरी सबै घरमा बत्ती बाल्छु भनेको थिएँ । जनताले पनि साथ दिनु भयो म सफल भएँ’, उनले नेपाल प्रेससँग भने । अहिले टेम्केमैयुङ ‘उज्यालो गाउँपालिका’ घोषणा भइसकेको छ ।
तर, अहिले यही बिजुली बालेको कुरालाई विरोध गर्दै विपक्षीले चुनावी मुद्दा बनाउन थालेकोमा उनको चित्त दुखेको छ । ‘जनश्रमदान गरेर हामीले पनि पोल गाडेको भन्न थालेका छन् । राम्रो कामलाई राम्रो भन्ने राजनीतिक संस्कार नै भएन हामीमाझ । मेरोमा भन्दा अगाडि ठेक्का लागेका पालिकाले अहिलेसम्म कि त सामान नै ल्याएका छैनन् । ल्याएकाले पनि बाल्न सकेका छैनन् । मैले श्रमदान पनि अन्यत्रभन्दा कम गराएको छु’, ध्रुवले भने ।
वडा नम्बर ३, ४, ६, ७, ८ लाई ध्रुवले फुसको छानोमुक्त वडा बनाइसकेका छन् । अरु वडाका लागि भनेर छुट्टिएको बजेट भने रामप्रसादराई गाउँपालिकामा लगेर २५ प्रतिशतजति काम अपूरो रहेको उनको भनाइ छ ।
कृषकको टाउको दुखाइ बनेको बाँदरको उपद्रो नियन्त्रणका लागि ध्रुव रातविरात जनतासँगै खटे । हुनत: उनलाई पशु अधिकारकर्मीले विरोध नगरेका भने होइनन् । तर, लगाएको बाली उठाउन नपाउने गरी बाँदरले क्षति पुर्याएको र दिनहुँ कृषक दैलोमा आएर गुहार मागेको देखेर उनीहरूको पीडामा मल्हम लगाउन गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको उनको भनाइ छ ।
भोजपुरका अधिकांस गाउँ बाँदर आतंकले बसाइ गएका उदाहरण प्रशस्त छन् ।
ध्रुवको नेतृत्वमा पर्यटन क्षेत्रमा पनि गाउँपालिकाले फड्को मारेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा यहाँको ‘मुन्दुम पदमार्ग’ परेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले घोषणा गरेको यो पदमार्गमा अहिले विदेशी तथा आन्तरिक पर्यटकको चाप छ । जिल्लामै होम स्टे सुरू गर्ने यो पहिलो पालिका बनेको छ ।
गाउँपालिकाका अनुसार नागी-खावा-कोट १४ किलोमिटर पक्की सडक निर्माणको चरणमा छ भने सिक्तेल-गुम्बा-आहाले-कोट-पान्धारे ग्राभेल सडक निर्माण थालिएको छ । त्यस्तै पालिकाभित्रका २८० किमि कच्ची सडक मर्मत र १०९ नयाँ सडक निर्माण साथै २१ किमि सडक ग्राभेल सकिएको छ ।
यसपटक आफूले शिक्षा, कृषि, रोजगारमूलक कार्यक्रम र खेलकुदको क्षेत्रमा जोड दिने ध्रुवले बताए । उनले भने, ‘पूरा गर्न नसक्ने कुरा कसैलाई आश्वासन दिन्नँ । जे घोषणापत्रमा ल्याउँछु त्यो पूरा गर्छु । नसक्ने कुरा बोल्दिनँ ।’