अफगानिस्तानका २ सहरमा बम विस्फोट: १६ जनाको मृत्यु, ५८ घाइते
काठमाडौं । अफगानिस्तानका २ वटा सहरमा भएको बम विस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । अन्य ५८ जना घाइते छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजाजिराले जानकारी गराएअनुसार अफगानिस्तानको मजर ए सरिफ बाल्ख राज्यमा अवस्थित शिया मस्जिदमा भएको विस्फोटमा १२ र कुन्डुज सहरमा भएको विस्फोटनमा ४ गरी १६ जनाको मृत्यु भएको हो ।
यस्तै विस्फोटनमा परी घाइते भएका ५८ जनामध्ये ३२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । कुन्डुज सहरमा भएको विस्फोटमा केही स्कुले बालबालिकासमेत घाइते भएको जनाइएको छ ।
उक्त विस्फोट आईएसआईएस समूहले गराएको हुन सक्ने बताइएको छ । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । गत अगस्टदेखि तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानमा विस्फोटका घटना बढ्दै गएको छ । गत मंगलबारमात्र पनि काबुलमा भएको एक विस्फोटमा परी ६ जनाको मृत्यु भएको थियो । अन्य २५ जना घाइते भएका थिए ।