प्रधानमन्त्रीकै गृहजिल्लामा टुट्यो गठबन्धन, देउवा-प्रचण्डको सल्लाहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ – Nepal Press
स्थानीय चुनाव

प्रधानमन्त्रीकै गृहजिल्लामा टुट्यो गठबन्धन, देउवा-प्रचण्डको सल्लाहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा गठबन्धन टुटेको छ । भागबन्डा नमिल्दा जिल्ला संयन्त्रले ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति जनाएका छन् ।

७ पालिका रहेको डडेलधुरामा सिट बाँडफाँटमा कुरा नमिलेपछि असन्टुष्टिका बीच चुनावमा होमिँदा परिणाम विपरीत आउने भन्दै गठबन्धनमा रहेका दलले एक्ला-एक्लै भिड्ने निष्कर्ष निकालेका हुन् ।

छलफलका क्रममा जिल्ला सभापति भीमबहादुर साउद नै नगरप्रमुख रहेको परशुराम नगरपालिकाको दाबीमा माओवादी केन्द्र पछाडि हटेको थिएन् । यसबाहेक माओवादीले ३ स्थानीय तह र र समाजवादीले २ ठाउँमा दाबी गरेका थिए । जसमा आफ्नो पार्टी सहमत नभएपछि सँगै जान नसकिएको सभापति साउँदले बताए ।

‘पहिलो कुरा त हामीले आपसमै भागबन्डा हुनसक्ने अवस्था देखनौं । दोस्रो गरिहाले पनि पार्टीभित्र चरम असन्तुष्टि हुने देखियो,’ उनले नेपाल प्रेससँग भने, ‘यसबाहेक बेग्ला बेग्ला लड्दा पनि जित्ने आधारको दाबी हामी सबैको रह्यो । यही कारण गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’

केही दिनअघि नि गठबन्धन नगर्ने लिखित सहमति गरी माथि पठाइसकेको अध्यक्ष साउँदले जानकारी दिए ।

यस विषयमा गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारीसमेत गराइसकिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिंह मालले बताए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि यस विषयमा सल्लाह भएर नै गठबन्धन नगर्ने निर्णय गरिएको हो ’, मालले भने ।

डडेलधुरामा कांग्रेसभित्र अधिवेशनदेखि असन्तुष्ट रहेको पूर्वजिल्ला सभापति कर्ण मल्लको समूहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर