किरात वर्कसका कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू – Nepal Press

किरात वर्कसका कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू

काठमाडौं । गृहमन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया थालेको छ ।

पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरू गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाइ र कानूनअनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।

गृहप्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया मन्त्रालयले सुरू गरेको जानकारी दिए ।

सो पार्टी र त्यसबेला मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ मा चियाबारी कटेजमा वार्ता भएको थियो । वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाटसंयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए ।

त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता कार्यकर्ता थुनामा छन् भने आधा दर्जन बढी मुद्दा छन् । कानून अनुरुप मिल्ने मुद्दा फिर्ता र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू भएको हो । सो पार्टीले गतिविधि पूर्वी नेपालमा बढी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर