सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा – Nepal Press

सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले प्रदेशसभाको उपनिर्वाचनका क्रममा आफूसँग गरिएको सहमति पालना नगरे चाँगुनारायणमा नेपाली कांग्रेस खरानी हुने चेतावनी दिएको छ ।

राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले हिजो गरिएको सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेसलाई खरानी बनाइने चेतावनी दिएका हुन् ।

उनले हिजोको सहमति पालना गर्न कांग्रेस इमानदार हुनुपर्ने र त्यसको लागि आफूहरु प्रतीक्षामा रहेको बताए । ‘दुईतीन चरणमा छलफल गरेका छौं । तर, सहमति पालनामा कांग्रेस इमानदार देखिएको छैन । हामी कांग्रेसको निर्णय कुरिरहेका छौं’, अध्यक्ष लामिछानेले भने, ‘सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेस खरानी बन्छ । यसले जिल्लाको राजनीतिक दृश्यमै उथलपुथल हुनेछ ।’

उनले कांग्रेसले घात गरे चाँगुनारायणमा मात्रै होइन जिल्लाका चारै नपाका उसविरुद्ध राप्रपाले अन्य दलसँग चुनावी तालमेल गर्ने स्पष्ट पारे । यसको लागि एमाले र नेपाल मजदुर किसान पार्टीसँग संवाद भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

त्यस्तै सहमतिमा हस्ताक्षर गर्ने राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले कांग्रेसलाई शनिबारसम्म कुर्ने जानकारी दिए । कांग्रेसले निर्णय नदिए राप्रपाले अरु दलहरुसँग चुनावी तालमेल गर्ने उनले स्पष्ट पारे ।

प्रदेशसभा उपनिर्वाचनमा एमाले र नेमकिपालाई हराउन कांग्रेसलाई सहयोग गरेको सुनाउँदै सहमहामन्त्री शाहले अहिले कांग्रेस र सत्ता गठबन्धनलाई हराउन एमाले र नेमकिपासँग चुनावी तालमेल गर्नपर्ने अवस्था नआउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

कांग्रेससँगको सहमति पालना भए राप्रपाले सहमहामन्त्री शाहलाई नै चाँगुनारायण नगरपालिकाको मेयरमा अघि सार्ने तयारी गरेको छ ।
यता कांग्रेस जिल्ला सभापति दुर्लभ थापा राप्रपामा फुट आएकाले उससँग चुनावी तालमेल गर्न समस्या भएको बताउँछन् । राप्रपासँग चुनावी तालमेल गर्दा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भए राम्रो सन्देश नजाने उनको भनाइ थियो ।

‘राप्रपामा फुट आएको छ । त्यसैले राप्रपाको मत निर्णायक देखिन्न’, सभापति थापाले भने, ‘राप्रपासँग चुनावी तालमेल गर्दा पनि गठबन्धनका उम्मेदवार पराजित भए देशमै राम्रो सन्देश जाँदैन ।’

कांग्रेसका अरु जिल्ला नेताहरुले राप्रपासँग प्रदेशसभा उपनिर्वाचनमा सहमति–सम्झौता भएको अस्वीकार गरे पनि सभापति थापाले सहमति भएकोलाई भने इन्कार गरेनन् । उनले उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म एउटा निकास निस्कने बताए ।

कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले सत्ता गठबन्धनमै कुरा नमिलेकाले राप्रपासँग पनि सहमति पालनाबारे टुंगोमा नपुगेको जानकारी दिए ।

उनी विभिन्न चरणमा छलफल र संवाद भए पनि अन्तिम सहमति भइनसकेको बताउँछन् । कांग्रेसबाट चाँगुनारायण नपाको मेयरमा आकांक्षी केसी हाल चाँगुनारायण नपा २ नम्बर वडाका अध्यक्ष हुन् ।

के छ सहमतिमा ?

२०७६ साल मंसिर १४ गते भएको भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार राप्रपाको सहयोगमा कांग्रेस उम्मेदवार भँडेल प्रदेशसभा सदस्य निर्वाचितमात्रै भएनन्, सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीसमेत बन्न सफल भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको उपस्थितिमा २०७६ साल मंसिर ८ गते भएको सहमतिपत्रमा कांग्रेस तत्कालीन उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका छन् ।

त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका छन् ।

उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखिएको थियो । आसन्न स्थानीय तह निर्वाचनको क्रममा कांग्रेसले उक्त सहमति कार्यान्वयनमा उदासीनता देखाएपछि मात्र राप्रपाका नेताहरुले हालै उक्त सहमतिपत्र सार्वजनिक गरेका हुन् ।

दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

हेर्नुस् दुई दलबीच भएको सहमतिपत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर