ओखलढुङ्गामा चुनाव लड्न धमाधम जागिर छोड्दै शिक्षकहरू – Nepal Press

ओखलढुङ्गामा चुनाव लड्न धमाधम जागिर छोड्दै शिक्षकहरू

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनाव लड्न सरकारी जागिर छोड्नेहरु बढेका छन् । स्थानीय तहमा चुनाव लड्नकै लागि ओखलढुङ्गाकाे सामुदायिक विद्यालयका २६ जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनकाे मिति घोषणापछि जिल्लामा २६ जना शिक्षकले राजीनामा बुझाएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ । व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि अधिकांश शिक्षककाे उद्देश्य चुनाव लड्ने देखिएको इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले बताए ।

इकाईका अनुसार मानेभञ्ज्याङकाे देवी आधारभूत विद्यालयका शिक्षक रामचन्द्र महतो र सोडान्तर आधारभूत विद्यालयका शिक्षक होमप्रसाद दाहाल, हर्कपुर माध्यमिक विद्यालयका शिक्षक गोविन्दप्रसाद अधिकारीले राजीनामा दिएका छन् ।

यसैगरी सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, हिमगंगा मावि रावादोलुकै तिलक विश्वकर्मा, टोपबहादुर बस्नेत र डिल्लीराम बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्ज बहादुर सुनुवार, बालज्योति मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मधुकर प्रसाद चौधरी र शिक्षक शंखवीर राईले राजीनामा दिएको इकाई प्रमुख गजुरेलले जानकारी दिए ।

उनका अनुसार कालिका आधारभूत विद्यालय चुहानछापका जयकुमार कार्की, कालिका आधारभूत विद्यालय भालुथुम्काका युवराज घिमिरे, भुमेथान आधारभूत विद्यालयका तोयानाथ काफ्ले र चञ्चला आधारभूत विद्यालय खोदम्पाका बालकुमार खड्काले शिक्षण पेशाा त्यागेर राजीनामा दिएका छन् ।

त्यस्तै यो अवधिमा एकजनाको अवकाश भएको र स्थानीय तहमा ६ जना अस्थायी राहत शिक्षकले राजीनामा दिएको कार्यालय प्रमुख गजुरेलको भनाइ छ ।

ओखलढुङ्गामा अघिल्लो स्थानीय निर्वाचनमा पनि दुई दर्जन शिक्षकले चुनाव लड्न राजीनामा दिएका थिए । उनीहरूमध्ये केहीले मात्रै टिकट पाएका थिए । टिकट पाउनेमध्ये खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष र ३–४ वटा वडामा मात्रै शिक्षक पृष्ठभूमिका उम्मेदवारले चुनाव जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर