हरिबोल कमजोर पार्न राजन हाबी हुँदा माओवादी आधार इलाका मरिणमा सामूहिक विद्रोह – Nepal Press

हरिबोल कमजोर पार्न राजन हाबी हुँदा माओवादी आधार इलाका मरिणमा सामूहिक विद्रोह

सिन्धुली । जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो निर्वाचन क्षेत्र र श्रीमती दीपा बोहोराको गाउँपालिका अध्यक्ष पद सुरक्षित गर्नका लागि कांग्रेससँग सिट भागबन्डा गरेको आरोप लगाउँदै माओवादीको आधार इलाका मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीसहित ७८ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागेका छन् ।

गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक विद्रोह गरेका हुन् । गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार नै राजीनामा दिइसकेका थिए भने बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

राजिनामापत्रमा जिल्ला नेतृत्वको आलोचना गर्दै नेतृत्वको चरित्र सच्चिएमा मात्रै पार्टीमा फर्किन सक्ने उल्लेख छ । राजन दाहालको ‘म’ प्रवृत्तिविरुद्ध आधार इलाका मरिणबाट विद्रोह भएको नेताहरुले बताएका छन् । नेतृत्वको गलत प्रवृत्तिका कारण चैत्र महिनादेखि नै माओवादी छाड्नेको लहर चलिरहेको उनीहरुले बताएका छन् । वडा नं ६ का शम्भु कार्की माओवादी छाडेर एमालेको अध्यक्षका उम्मेदवार बनेका छन् । वडा नं ७ का खिलहरि गिरीले पनि माओवादी त्यागेका छन् ।

गाउँपालिका कमिटी उपाध्यक्ष चिनध्वज बम्जनको नेतृत्वमा ६७ जनाले लिखित र अन्य दर्जनौंले अलिखित रुपमा माओवादी परित्याग गरेको घोषणा गरेको बताएका छन् । घोषणा नगरेका मरिण गाउँपालिका वर्तमान अध्यक्ष पानीराज बम्जन, अध्यक्षका प्रत्यासी तथा भूमि आयोगका अध्यक्ष रामकुमार पौडेललगायतका नेताहरु राजीनामा घोषणा कार्यक्रममा सहभागी थिए ।

यो राजीनमापछि माओवादी मरिण गाउँपालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सचिवालय सदस्यलगायत धेरै वडा कमिटीका अध्यक्ष र सचिवलगायतका पदाधिकारीविहीन बन्न पुगेका छन् ।

माओवादीको सबैभन्दा बलियो र आधार इलाकाको रुपमा रहेको मरिण गाउँपालिकामा गत चुनावमा सबै वडासहित पालिका जितेको थियो । दाहालले दीपा बोहोराको सुनकोसी पालिका जित्ने सुनिश्चत गर्नकै लागि कांग्रेससँग गठबन्धन गरेर मरिण र हरिहरपुरगढीमा कांग्रेसलाई जीत सुनिश्चित गराएको आरोप छ ।

मरिण क्षेत्रका पूर्वजनमोर्चा खेमाका माओवादीहरुले दाहालको यही कदमको विरोध गर्दै अहिले पार्टीबाट विद्रोहको संकेत दिएका छन् ।

हरिबोल कमजोर पार्ने रणनीति ?

माओवादी सिन्धुलीका जिल्ला इन्चार्ज राजन दाहालले जिल्लामा हरिबोल गजुरेलको अस्तित्व समाप्त पार्न र पूर्व जनमोर्चालाई सिध्याउन षड्यन्त्र गरेको आरोप उनीहरूले लगाएका छन् । सिन्धुलीको माओवादी राजनीतिमा उचाइ लिँदै गएका दाहाललाई माओवादीभित्रको पूर्वजनमोर्चा समूह बाधक बनेको छ । त्यसको नेतृत्व रामकुमार पौडेलले गर्छन् ।

त्यसो त सिन्धुलीमा माओवादीको पकड नै पूर्वजनमोर्चाको कारण भएको हो र त्यो ग्रुपको नेतृत्व हरिबोल गजुरेलले गर्छन् । गजुरेललाई कमजोर पार्न पूर्व जनमोर्चा कमजोर पार्नुपर्छ र त्यसका लागि जनमोर्चा भूमि मरिण क्षेत्रलाई विगार्नु पर्छ भन्नेमा माओवादीकै नेताहरु लागिरहको आरोप छ ।

जनमोर्चा पृष्ठभूमिका माओवादीहरुको आधार इलाकामा दाहालले हमला बोलेपछि बिद्रोह गर्नुपरेको नेताहरुले बताएका छन् । मरिण र हरिहरपुरगढीमा पुरानालाई नदोहोर्‍याउने नयाँलाई अवसर दिने निति लिएका दाहालले सुनकोशी गाउँपालिकामा भने श्रीमती दिपा बोहोरालाई दोहोर्‍याएका छन् ।

जबकि माअ‍ेवादीभित्र सबैभन्दा बढि किचलो र आलोचना सुनकोशीमै थियो र छ । दाहाल दम्पत्तीको हैकमवादी शैलीकै कारण सुनकोशीमा धेरै पुराना माओवादीहरु पार्टी छाडेर एमालेमा प्रवेश गरिसकेका छन् भने त्यो क्रम अहिले पनि जारी छ ।

नेता गजुरेललाई नेकपा विभाजन हुँदा टोप बहादुर रायमाझीले एमालेमै लाग्न दिएको सुझाव र गरेको पहल उनले अस्वीकार गरेका थिए । गजुरेलमार्फत सिन्धुलीका नेता कार्यकर्ता मनाउन त्यो बेला रायमाझी एक दिन मरिण गाउँपालिकामै बसेका थिए । मरिण गाउँपालिका अध्यक्ष बम्जन र हरिहरपुर गढीका कार्साङ लामाले अस्वीकार गरेकै कारण गजुरेल त्यति बेला माओवादीमा अडिएका थिए ।

गजुरेललाई अझ कमजोर पार्ने अर्को अस्त्र स्थानीय चुनाव बन्ने भएको छ । आफ्नो अस्तित्व रक्षा र चुनावी मत संरक्षणका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा आफ्नै श्रीमतीलाई कमलामाई नगरको मेयरको उम्मेदवार बनाएका गजुरेलले यो पटक त्यो अवसर पाउने छैनन् ।

गजुरेलको संसदीय चुनाव क्षेत्रमा पर्ने कमलामाई नगरपालिका नै नेपाली कांग्रेसलाई गठबन्धनको नाममा जिम्मा लगाएर आफ्नो निर्वाचन क्षेत्रको दुधौली नगरपालिका लिने गरि गठबन्धन गरेका छन् दाहालले ।

पूर्व जनमोर्चालाई दिनुपर्ने मरिण क्षेत्रमा पूर्व माओवादीका आफ्ना विश्वासपात्र प्रख्यात मुक्तानलाई पालिका अध्यक्षमा अगाडि सारेर दाहालले मरिण क्षेत्रमा पनि विवाद निकालिदिएका छन् । प्रख्यातलाई पालिका अध्यक्ष उम्मेदवार बनाउने भएपछि पूर्वजनमोर्चा समूह मरिणमा रुष्ट भएको छ र धेरैले पार्टी छाड्न थालेका छन् ।


प्रतिक्रिया

2 thoughts on “हरिबोल कमजोर पार्न राजन हाबी हुँदा माओवादी आधार इलाका मरिणमा सामूहिक विद्रोह

  1. सुनकोशी गाउँपालिका मा पनि बिस्तारै विदोह हुँदै छ आफ्नै कार्यकर्ता पनि असन्तुष्टि छन भित्र भित्रै मुर्मुरिएका छन बाहिर बोल्न सकेका छैनन जनताले चाहे भने हराउन सक्छन् आधार इलाका जीत सुनिश्चित छ भन्नु पर्दैन कसैले

  2. अव विवादित र साना पार्टिहरु पलायन हुँदै जानुपर्छ । देशमा दुईध्रुविय दुई शक्ति मात्र रहनुपर्छ । देशले धान्न नसक्ने राजनीतिले अन्तत्वगत्वा हामीलाई नै सिध्याउछ । त्यसैले राष्ट्रको हित चिताउने जोसुकै इमान्दार नागरिकले नेपाली काँग्रेस या नेकपा एमालेमा समाहित भएर देश र राजनीतिलाई सहज वनाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर