ओली भन्छन्- एमाले भन्ने बित्तिकै ज्येष्ठ नागरिकले गहभरि आँसु पार्छन्, आशीर्वादमा हात उठाउँछन् – Nepal Press

ओली भन्छन्- एमाले भन्ने बित्तिकै ज्येष्ठ नागरिकले गहभरि आँसु पार्छन्, आशीर्वादमा हात उठाउँछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, युवा र बालबालिका सबैले एमालेलाई माया गर्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘आज ज्येष्ठ नागरिकहरूको पिँढी होस की ज्येष्ठ नागरिकहरूको आज एमाले भन्ने बित्तिकै गहभरि आँसु आउँछन् । आशीर्वाद दिन हात उठ्छ,’ उनले भने,‘नेकपा एमालेलाई आशीर्वाद छ । एमाले बढोस्, फलोस्, फुलोस् भनेर आशीर्वाद दिन ज्येष्ठ नागरिकहरू हात उठाउँछन् ।’

यस्तै युवाहरूले पनि एमालेप्रति आशा र भरोसा रहेको दाबी गरे । उनले भने,‘आज, युवाहरू भन्नुहुन्छ, हाम्रो आशा–भरोसा एमालेसँग छ ।’ यसरी भरोसा गर्ने युवाहरू एमालेमा समाहित हुन लालायित भइरहेको पनि उनले बताए ।

‘युवाहरू भन्छन्–एमालेका उद्देश्यहरूलाई साथ दिएर, झण्डा बोकेर, एमाले भएर, एमालेसँगै एउटा नदीको रूपमा बहेर हामी हाम्रो भविष्य सुन्दर देख्छौँ,’ उनले भने,‘त्यो भविष्य सुन्दर बनाउन हामी त्यसैअनुसार एमालेमा सामेल हुन्छाैँ ।’

ज्येष्ठ नागरिक र युवाजस्तै बालबालिकामा पनि एमालेप्रति त्यस्तै प्रेम रहेको अध्यक्ष ओलीले बताए ।

‘आज बालबालिकालाई सोध्यौं । बालबालिकाहरूलाई राजनीतिमा लगाउनु हुँदैन राजनीतिका लागि प्रयोग हुनुहुँदैन,’ उनले भने,‘तर बालबालिकाले के देख्छन् भने, बालबालिकाले आमा लाई माया गर्नुहुन्छ की हुँदैन ? बालबालिका बाबा, दाजु दिदीहरूलाई माया गर्नुहुन्छ की हुँदैन ? त्यसै गरी बालबालिका एमालेलाई माया गर्छन् ।’

सोध्यो भने ‘आई लभ यु नेकपा एमाले’ भनेर बालबालिकाले भन्ने गरेको उनको टिप्पणी छ ।

‘बालबालिकालाई सूर्य अंकित झण्डा दिनुस्, हल्लाउन थाल्छन्,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर