ओलीको दाबी- ७ सालमा कांग्रेस र हामीले बन्दुक उठाएका हौं (भिडिओ) – Nepal Press

ओलीको दाबी- ७ सालमा कांग्रेस र हामीले बन्दुक उठाएका हौं (भिडिओ)

शान्तिपूर्ण बाटोबाट परिवर्तन देखेपछि ‘जबज’ ल्यायौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले कम्युनिष्टलाई हिंसामा विश्वास गर्ने र आफूलाई शान्तिवादी भनेर भ्रम फिँजाइरहेको टिप्पणी गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र जारी गर्दै उनले राणाशाहीविरूद्ध २००७ सालमा कांग्रेस र कम्युनिष्ट सबैले बन्दुक बोकेको बताए ।

‘नेपाली कांग्रेस पनि अलिअलि हाउभाउ गर्छ । हामीलाई हिंसामा विश्वास गर्नेको रूपमा परिभाषित गर्ने र आफूचाँही शान्तिवादीको रूपमा परिभाषित गर्न खोज्ने,’ उनले भने,‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राज्यसत्ता कब्जा गर्ने र राणाशाही उल्टाउने नीतिका साथ स्थापना भएको थियो ।’

कम्युनिष्ट पार्टी पनि त्यसैगरी बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ नै स्थापना भएको उनले बताए ।
‘कांग्रेसले पनि ७ सालमा हतियार उठाएको हो, हामीले पनि उठाएका हौं,’ उनले भने ।

तानाशाही व्यवस्था भएका ठाउँमा सुरूमा जसले पनि बलजफ्नी नगरिकन सत्ता प्राप्त नहुने सबैले बुझेको अध्यक्ष ओलीले बताए ।

‘तानाशाही व्यवस्थामा स्थापना भएका पार्टीहरूले बलजफ्ती नगरिकन सम्झाएर मान्दैनन्, तानाशाहीले भन्ने बुझ्या हुन्छ,’ उनले भने,‘ र त्यस्तो तानाशाही उल्टाउनका लागि बल प्रयोग प्रयोगको विधि आवश्यक पर्छ भनेर मान्दछन् ।’

तर, तानाशाही नभएका बेला शान्तिपूर्ण ढंगले, संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने उनले बताए ।

उनले भने, ‘त्यसले क्रान्तिलाई नजिक ल्याउने होइन, टाढा भगाउँछ । कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउँने होइन, अलोकप्रिय बनाउँछ ।’
त्यस्तो क्रान्तिले देशमा सकारात्मक परिवर्तन ल्याउने होइन, सकारात्मक कठिन बनाउँने बाटो तिर लिएर जाने उनको टिप्पणी छ ।

एमालेले यही बुझेर नै शान्तिपूर्ण राजनीतिमा आई सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने लागेर जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेर लागू गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर