एमाले घोषणापत्रका हाइलाइट्स : जथाभाबी डोजर निषेध, प्रत्येक पालिकामा एक उद्योग (सूची) – Nepal Press

एमाले घोषणापत्रका हाइलाइट्स : जथाभाबी डोजर निषेध, प्रत्येक पालिकामा एक उद्योग (सूची)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय घोषणापत्रमार्फत आफ्ना योजनाहरु प्राथमिकीकरण गरेको छ । केन्द्रीय कार्यालय च्यासलबाट सार्वजनिक घोषणापत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै स्वच्छ खानेपानी हरेक घरमा पुर्याउने र सरसफाइका लागि दीर्घकालीन योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । एमालेले ‘स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी’ नारा अघि सारेको छ ।

त्यस्तै कृषि र उद्योगलाई स्थानीय तहबाट प्राथमिकता दिन विभिन्न योजना अघि सारिएको छ । हरेक पालिकामा उद्योग ग्राम स्थापना गर्ने र कृषिको विकास तथा हरेक पालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम गरिने जनाइएको छ ।

एमालेले दिगो यातायात पूर्वाधारलाई जोड दिँदै सडक पूर्वाधार विस्तारका नाममा जथाभाबी डोजर चलाउने र वनजंगल तथा खेतीयोग्य जमिन बिगार्ने काम बन्द गरिने जनाएको छ । घोषणापत्रमा दिगो यातायात पूर्वाधार र सबै पालिका जोड्ने पक्की सडकलाई प्राथमिकता दिइएको छ ।

उद्यमशीलता र रोजगारी सिर्जना गर्न हरेक पालिकामा कृषि तथा स्थानीय उद्योगहरुको विकास गरिने एमालेले जनाएको छ । त्यस्तै मौलिक कला र संस्कृति विकास गर्दै पर्यटनबाट समृद्धि हासिल गर्ने कुरालाई एमालेले जोड दिएको छ ।

‘खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपांगमैत्री सबै पालिका’ भन्दै एमालेले सिमान्तकृत समुदायको अधिकारका लागि काम गर्ने र सामाजिक सुरक्षाको एमालेले थालनी गरेको लोककल्याणकारी कार्यक्रमलाई विकसित गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

एमालेले जलवायु अनुकूलन र विपद् व्यवस्थापनमा स्थानीय तहबाट ठोस काम गरिने भन्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्न पालिकाहरुले अबका योजना अघि सार्ने उल्लेख गरेको छ ।

अब स्थानीय तहले संस्थागत र संरचनागत सुधार गर्दै पालिकास्तरबाटै न्याय निरुपण तथा मानव अधिकार संरक्षणका कार्यक्रम अघि सार्ने जनाइएको छ । एमालेले आफ्ना जनप्रतिनिधि शासक नभई सेवकका रुपमा रहने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर