मुख्यमन्त्रीकै जिल्लामा नेकपा एसमा असन्तुष्टि, कांग्रेस-माओवादीको उपेक्षापछि आफ्नै उम्मेदवार तयार – Nepal Press
स्थानीय चुनाव

मुख्यमन्त्रीकै जिल्लामा नेकपा एसमा असन्तुष्टि, कांग्रेस-माओवादीको उपेक्षापछि आफ्नै उम्मेदवार तयार

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार मनोनयन सुरू हुने अघिल्लो दिनसम्म भोजपुरमा गठबन्धनबीच सहमति भएका स्थानीय तहमा उम्मेदवार टुंगो लागेको छैन ।

सत्तारुढ दलको जिल्ला संयन्त्रले सुरूमा नेपाली कांग्रेसलाई ५, नेकपा माओवादी केन्द्रलाई २ स्थानीय तहको भागबण्डा गरेको थियो । कांग्रेसले पाएको स्थानीय तहमा भोजपुर र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका साथै हतुवागढी गाउँपालिका थियो ।

त्यस्तै माओवादीको भागमा रामप्रसाद राई र पौवादुङमा गाउँपालिका परेको थियो । बाँकी २ अरुण र आमचोक गाउँपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै तालमेल गरिएन ।

सहमतिको मसी सुक्न नपाउँदै पौवादुङमामा कांग्रेस र माओवादीले गठबन्धन तोडे । वडा बाँडफाँटमा कुरा नमिलेपछि यहाँ एक्लाएक्लै भिड्ने तयारी भएको छ ।

गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ-आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको जिल्लाको गठबन्धन संयन्त्रलाई जानकारी गराइसकेका छन् ।

यता भोजपुर र टेम्केमैयुङमा आफूहरूलाई बेवास्ता गरेको भन्दै माओवादीमा असन्तुष्टि छाएको छ । यी दुवै ठाउँमा नेकपा एसलाई उप दिने गठबन्धनमा निर्णय भएको छ ।

नेकपा एकीकृत समाजवादीमा पनि भागबन्डालाई लिएर तीब्र विरोध र असन्तुष्टि देखिएको छ । भोजपुर नेकपा एसकी केन्द्रीय उपाध्यक्ष जयन्ती राई (राष्ट्रियसभा सांसद) र पार्टी सचिवसमेत रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गृहजिल्ला हो । यी दुई प्रभावशाली नेताले भोजपुरलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । तर, एउटासम्म पालिकाको प्रमुख पनि लिन नसकेको भनेर आन्तरिकरूपमै आलोचना र गुनासो सुरू भएको छ ।

मुख्यमन्त्री राईको गृहनगर षडानन्द नगरपालिकामा समाजवादीले उपमेयर आफ्नो बटमलाईन बनाएको थियो । मेयरबाटै दाबी सुरू गरेको एसले ४ वटा वडाध्यक्ष मागेको थियो । तर, त्यहाँ कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर दिने गरी तालमेल भएको छ ।

नेकपा एसका युवा नेता प्रताप तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता र पार्टीको हितको लागि थियो भने षडानन्द नपाको लागि ठूलो भनौदा नेताहरू लड्नुपर्थ्यो तर व्यक्तिगत हितको लागि जस्तै भयो कि के हो ?’

नेता र भागबन्डा मिलाउन बस्ने जिल्ला नेतृत्वले व्यक्ति र आफन्तलाई मात्र हेरेर निर्णय गरेको नेकपा एस भोजपुरका उपसचिव एवं षडानन्दका नेता ईश्वर कार्कीले टिप्पणी गरे ।

‘कांग्रेस एमालेबाट फुटेको पार्टीको भोट नै छैन भन्ने, माओवादी पनि हामीलाई गन्दै नगन्ने अहिले पनि उनीहरू मात्र छलफल गर्दैछन् । लु न त आफू आफू भिडौं हैसियत कसको कति छ भनेर हामीले पनि तयारी गरेका हौं । हामीलाई सिट माग्ने भिखारीजस्तो सम्झे’, कार्कीले नेपाल प्रेससँग भने ।

यहाँ नगर कमिटी अध्यक्ष हरि भित्रिकोटीलाई मेयरसहित समाजवादीले ९ जना वडाअध्यक्ष अघि सारेर प्रचार सुरू गरेको छ । उपसचिव कार्कीले आज साँझसम्म पर्खने र माग पूरा नभए आफैंले मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

‘हरिजीकै कारण षडानन्दमा हाम्रो संगठन व्यापक भएको छ । उहाँ समग्र नगरको चुनावी कमाण्ड सम्हाल्नुपर्छ हामीबीचमा सहमति भइसकेको छ । मैले मेयरका लागि तयारी गरिसकेको छु ।

नेकपा एसले भोजपुर नगरपालिकामा ममिता राई र टेम्केमैयुङमा इन्द्रावती राईलाई दोहोर्‍याउने गरी उप लिएको छ । ७४ मा एमालेबाट जितेका दुवैजना हाल एसमा छन् । जनप्रतिनिधिको पहिलो कार्यकालमै न्यायिक समिति, विशेष गरी आफ्न स्थानीय तहका महिलाका समस्या समाधान र विकास निर्माणको सहजीकरणमा प्रभावकारीरूपमा जिम्मेवारी निभाएका छन् ।

समाजवादीनिकट युवा संघका प्रदेश १ सचिव एवं मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सन्दीप राई आफ्नो पार्टीको प्रभाव चुनावी परिणामले देखाउने भन्दै त्यतिञ्जेल पर्खन आग्रह गर्छन् ।

‘संविधान र परिवर्तन मास्ने ओली र एमालेलाई जनताले चिनिसकेका छन् । पहिले भोट दिएर के पायौं भनेर जताततै असन्तुष्टि छ । नेकपा एसमा जनताको आकर्षण व्यापक छ । सानो पार्टी भनेर कसैले नहेप्दा हुन्छ’, उनले चुनौती दिए ।

षडानन्दको हकमा गठबन्धनमा कुरा नमिलेपछि पार्टीका साथीहरूले अस्तित्वका लागि पनि आफ्नो तयारी गरेको सन्दीपको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर