तामाकोशीमा एमालेको सरप्राइज- सिनियरलाई जिताउँन हिँडेका युवा इन्जिनियरले पाए टिकट – Nepal Press

तामाकोशीमा एमालेको सरप्राइज- सिनियरलाई जिताउँन हिँडेका युवा इन्जिनियरले पाए टिकट

दोलखा । स्थानीय चुनावमा उम्मेदवारका आकांक्षीहरु आफूले नपाए आकाशै खस्ने जसरी दौडधूप र टिकट नपाए विद्रोह गरिरहेका बेला दोलखाको एउटा गाउँपालिकामा भने फरक दृष्य देखियो ।

टिकटका लागि जे पनि गर्ने प्रवृतिभन्दा फरक दृष्य के भने,जसले गाउँपालिका अध्यक्षको टिकट पाउँने कल्पनै गरेका थिएनन् र दाबी समेत गरेका थिएनन्,उनैले अवसर पाए । तामाकोशी गाउँपालिकाको अध्यक्षमा एमालेले अध्यक्ष उठाएका अभिशेक सुवेदी अहिले जिल्लाको सर्वाधिक चर्चित पात्र बनेका छन् ।

जिल्लाकोमात्र नभएर देशकै सम्भवतः थोरै युवा उम्मेदवारमा परेका छन् ३१ वर्षीय सुवेदी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका सुवेदी अध्यक्षको रेसमा थिएनन्,बरु उनी आफूभन्दा सिनियर नेता जसले पाए पनि जिताउने अभियानमा थिए ।

तर उनीभन्दा धेरै सिनियर ९ जना आकांक्षीहरुभन्दा बाहिरबाट जिल्ला नेतृत्वले अभिशेकलाई तामाकोशीको अध्यक्षमा उम्मेदवार बनायो । यसअघि पार्टीका जिल्ला अध्यक्ष तथा हाल प्रदेश इन्चार्ज हेबिवेट नेता ईश्वरचन्द्र पोखरेलले नेतृत्व गरिरहेको गाउँपालिकामा पुस्तान्तर गर्दै एमालेले सुवेदीलाई अघि सारेपछि उनको चर्चा चुलिएको हो ।

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका– ५ साविक शहरे गाविसका अभिशेक सुवेदी नसोचेको जिम्मेवारी पाउँदा आफैं अचम्ममा परेका छन् । पार्टीले आफूले नसोचेको र दावी समेत नगरेको अध्यक्षको उम्मेदवारी प्रदान गरेको र अब चुनौतिलाई अवसरमा परिणत गर्दै युवाले केही गर्न सक्छ भन्ने सन्देश दिनुपर्ने उनले बताए ।

चैत्र २५ गते स्थानीय पालिका कमिटीको बैठकमा छलफल हुँदा ९ जनाले दावी पेश गरेका भएपनि जिल्ला कमिटीले सो लिष्टलाई निस्कृय पारेर अकस्मात आकांक्षी वाहिरबाट यिनको नाम अनुमोदन गर्यो ।

२०६४ सालमा सोही गाउँपालिकाको गोल्मेश्वर उच्च माद्यामिक विद्यालयबाट पहिलो पटक डिस्टिङ्सन ल्याएर एसएलसी पास गरेका सुवेदी तिक्ष्ण र मेहनती विद्यार्थी हुन् । स्कुल सकेर राजधानी पसेपछि २०६५–६८ मा थापाथली इन्जिनियरीङ कलेजबाट ओभरसियर र २०७०–७४ मा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणबाट ब्याचलर्स इन सिभिल एण्ड रुरल इन्जिनियरीङ को अध्ययन पूरा गरेका छन् उनले ।

विद्यालयदेखि नै एमाले निकट विद्यार्थी संगठनको स्थानीय कमिटीमा नेतृत्व गरेका सुवेदीले २०६५ सालमा अखिलको जिल्ला कमिटी सदस्य, २०६७ मा थापाथली क्याम्पस कमिटी अध्यक्ष र २०७१ मा अनेरास्ववियु राष्टिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

त्यसयता लगातार अखिलको केन्द्रिय नेतृत्वमा रहेर पार्टीमा काम गरिरहेका उनी हाल स्थायी कमिटी सदस्य रहेको र प्रतिभाशाली युवाले अवसर पाएको अखिल अध्यक्ष सुनिता बरालले बताइन् ।

दोलखा जस्तो एमालेको गढ मानिने जिल्लामा आफूभन्दा पुराना पुस्ताका नेताहरुको सम्मान र नयाँ युवा पुस्ताको भावनात्मक प्रतिनिधित्व गरेर अघि बढ्नु चुनौतिपूर्ण रहेको छ अभिशेक सुवेदीको लागि ।

पार्टी निर्णयलाई आत्मसाथ गर्दै बैसाख ८ गते दिउँसो चरिकोट पुगेर नेताहरुसँग परामर्शमा लागेका सुवेदी अहिले गाउँघरमा छन् । निर्वाचन केन्द्रित योजना सहित गाउँ पस्ने योजनामा रहेको र आफूलाई अग्रज सबै नेताहरुको साथ रहेको उनले बताए । हालका पालिका अध्यक्ष तथा नेता ईश्वरचन्द्र पोखरेलले नै आफूलाई प्रस्ताव गरेको उनको भनाइ छ ।

१७ हजार मतदाा रहेको पालिक अध्यक्ष जित्नेमा विश्वस्त छन् । यसपटक उनले पाँच दलीय गठबन्धनको सामना गर्दैछन् । अघिल्लोपटक यहि पालिकामा कांग्रेस–माओवादी गठबन्धनलाई परास्त गरेको एमालेका लागि यसपटक नेकपा एस पनि थपिएको छ । यो पालिकामा गठबन्धनमा नेकपा एसले अध्यक्ष पाएको छ ।

पार्टीको सांगठानिक आधार, युवाहरुको साथ, विगतको इन्जिनियरिङ पढाइबाट प्राप्त अध्ययन र आम पालिकाबासीहरुको भावनालाई आत्मसाथ गरेर पार्टीलाई विजयी गराउनेमा उनी विश्वस्त देखिएका छन् । युवा इन्जिनियर चुनावी मैदानमा आएपछि यहाँ एकप्रकारको तरंग भने सिर्जना भएको छ ।

पेशागत हिसाबले दक्ष र अब्बल रहेका सुवेदीले दोलखा गौरीशंकर गाउँपालिकाको रिङरोड डिजाइन गरेका थिए । शैलुङ गाउँपालिकाको यातायात गुरुयोजनाको डिजाइन पनि उनले नै गरेका थिए । दुवै सडकद सडकको देशब्यापी प्रचार भयो र गाउँपालिकाले उत्कृष्ट भएको पुरस्कार समेत पाए ।

पर्यटन मन्त्रालय अन्तर्गत बनेको नेपालकै पहिलो कुरी स्की एड्भेन्चर्स गुरुयोजना पनि उनैले बनाएका थिए, जुन दोलखाको कालिञ्चोकमा पर्छ।त्यस्तै मेलुङ डाँडाखर्क बाटो डिजाइन र तामाकोसी किर्नेटार मोटरबाटो डिजाइन पनि उनैले गरेका थिए।अब उनका लागि आफ्नै पालिका बनाउने जिम्मेवारी थपिएको छ ।

सुवेदीका हजुरबुबा पञ्चायतकालमा ३० वर्ष सोही गाउँको प्रधानपञ्च निर्वाचित भएका थिए । उनका नातागोता नै यहि पालिकाभर धेरै छरिएकाले पनि माहौल सिर्जना गर्न सहज भएको नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर