विश्वका नामी विश्वविद्यालय पढेका डा. प्रकाश भट्टराई किन बने सुन्दरहरैंचाकाे स्वतन्त्र मेयर उम्मेदवार ? – Nepal Press

विश्वका नामी विश्वविद्यालय पढेका डा. प्रकाश भट्टराई किन बने सुन्दरहरैंचाकाे स्वतन्त्र मेयर उम्मेदवार ?

‘अमेरिकी राष्ट्रपतिको भन्दा एक वर्ष लामो स्थानीय सरकार विकासमा नमुना काम गर्न काफी छ’

इटहरी । मोरङको विराटनगर महानगरपालिकापछि सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो सुन्दरहरैंचा नगरपालिका । यहाँ ७१ हजार ७५६ मतदाता छन् । देशभर जस्तै यस पालिकामा पनि चुनावी माहोल गर्माएको छ । दलहरुका झन्डा घरघरमा पुगेका छन्, चुनाव चिन्ह घरघरमा फहरिएका छन् । दलहरुका दाबीहरु पनि घरघरमा पुगेका छन् ।

दलहरुका घोषित उम्मेदवारहरु घरघरमा पुगेका छैनन् । तर, विगत साढे एक महिनादेखि मेयरका स्वतन्त्र उम्मेदवार डाक्टर प्रकाश भट्टराई भने घरघरमा पुगिरहेका छन् । उनको घोषणापत्र घरघरमा पुगेको छ । उनको अभियान घरघरमा पुगेको छ ।

अरु उम्मेदवारको नाम घोषणा हुनुअगाडि घरघरमा पुगेका डाक्टर भट्टराईलाई मतदाताले संशय व्यक्त गरे, ‘तपाईं अलि ढिलो आउनु भयो ।’
आम मतदाताको आशंकामा डा. भट्टराईको सहज उत्तर छ, ‘म अरुभन्दा चाँडो आएको हुँ । अरु उम्मेदवारहरु को हुने भन्ने अहिलेसम्म टुंगो लागेकै छैन । त्यसैले म नै तपाईंहरुसँग पहिले आएको हो ।’

डा. भट्टराईको यो कुरामा दलसँग जोडिएका मतदाताले हत्तपत्त चित्त बुझाएका छैनन् । उनलाई मतदाताहरु सुझाव दिन्छन्, ‘अबको पाँच वर्षपछि चैं तपाई उठ्नुभएको भए राम्रो माहोल हुन्थ्यो ।’

यसलाई डा. भट्टराई हिन्दी उखान जोड्दै उत्तर दिन्छन्, ‘जब जागा तब सबेरा ।’ लोकतन्त्र भनिए पनि अभ्यासमा आएको दलतन्त्रले स्वतन्त्र उम्मेदवारहरुमा केही असजिलो भएको डा. भट्टराईको अनुभव छ । बहुसंख्यक मतदाताले घोषणापत्र नहेर्ने, उम्मेदवारको योग्यता र दक्षता नहेर्ने, मुद्दामा कुरा नगर्ने दल र तिनका चुनाव चिह्नमात्रै हेर्ने गरेको आफूले पाएको उनी बताउँछन् । यही बहुसंख्यकको मनोविज्ञानकै कारण मतदाताहरुले पनि दलहरुबाट ब्याज खाइरहेको उनी बताउँछन् ।

राहत शिक्षकको नियुक्ति, कल गाड्ने, कृषि अनुदान पाउने, वडा कार्यालयदेखि प्रहरी र मालपोत कार्यालयमा दलहरुको डटफटले मात्रै काम हुने अवस्थाले आम मतदाताबाट दलहरुले पनि आफ्नो स्वार्थ र फाइदा लिइरहेको डा. भट्टराईको बुझाइ छ ।

समाजलाई कुशासनको दाम्लोले दलीयकरण गरी त्यसको उपयोग दलहरुले दुई समयमा गर्ने गरेको आफूले पाएको डा. भट्टराई बताउँछन् । उनी भन्छन्, ‘दलहरुले महाधिवेशन र चुनावमा यस्तो जनताको प्रयोग राम्रोसँग गर्छन् ।’

यही दलहरुको दलदलकै कारण राम्रो र स्वतन्त्र रुपमा काम गर्न चाहने बौद्धिक व्यक्तित्वहरुले गाउँघरमा बसेर काम गर्ने वातावरण नभएर उनीहरु कि त ठूला सहर कि त विदेश पलायन भएको उनी बताउँछन् । दलहरुले पुरानो विरासतको ब्याज र संगठकको कारण प्रचारप्रसार र हल्लाखल्लामा रातो पासपोर्ट पाएको उनी बताउँछन् ।

डा. भट्टराईले देखे चार खाले मतदाता

सुन्दरहरैंचाका १२ वडाका डुल्दा भट्टराईले चार खाले मतदाता पाएको अनुभव सुनाए । उनले विगत डेढ महिनाको चुनाव केन्द्रित अभियानमा प्रत्यक्ष देखेका मतदाताका यी प्रकार हुन् । पहिलो प्रकारका मतदातालाई उनी ‘खान्तेपिन्ते मतदाता’ भन्छन् । यो वर्गमा दलहरुले खानपिन गर्न दिने र पेट्रोल भरिदिएको आधारमा र चुनाव अगाडि दिएको भोजको आधारमा मत दिने मतदाताहरु पर्छन् । यसमा केही युवा र निम्न आय भएका मतदाता पर्छन् । यो करिब १० प्रतिशत रहेको डा. भट्टराईको अनुमान छ ।

दोस्रो मतदाताहरुलाई उनी ‘दलले डामेका मतदाता’ भन्छन् । यसमा दलहरुले दिएका विभिन्न सेवा–सुविधाहरु लिएका र दलहरुका परम्परागत समर्थक तथा कट्टर समर्थकहरु पर्छन् । उनीहरुको सरोकार उम्मेदवार र मुद्दामा हुन्न । मात्रै आफ्नो प्रिय दलको चुनाव चिन्हमा हुन्छ । यो संख्या २० प्रतिशत भएको डा. भट्टराई अड्कल गर्छन् ।

तेस्रो खालका मतदातलाई डा. भट्टराई ‘उकुसमुकुस मतदाता’ भन्छन् । यसमा कुनै विकल्प नभएर दललाई नै भोट हाल्न बाध्यहरु पर्छन् । यसको प्रतिशत ३० भएको उनको दावी छ ।

चौथो र सबैभन्दा ठूलो प्रतिशतका मतदाताहरुमा ‘स्वतन्त्र मतदाता’ छन् । यो संख्या ४० प्रतिशत हाराहारीमा रहेको डा. भट्टराई बताउँछन् । भोटै हाल्न नचाहने, भोट हाल्ने उत्साह नभएका स्वतन्त्र मतदाताहरु यो वर्गमा पर्छन् ।

यी चार प्रकारका मतदातामा उकुसमुकुस र स्वतन्त्र मतदाताहरुलाई आफूले लक्षित गरेको उनले जानकारी दिए । दलले डामेका र खान्तेपिन्ते समूहलाई आफूले वास्तै नगरेको उनी बताउँछन् । आफ्नो लक्षित समूहका मतदातासम्म पुग्न दलहरुको जस्तो सांगठनिक सञ्जाल नभएकोले केही सकस भएको भट्टराई बताउँछन् । तर, निराश भने नभएको उनको भनाइ छ । उनले थपे, ‘मेरो अभियानमा करिब पचास जना युवा स्वयंसेवी रुपमा मेरो जानकारीविनै मेरो पक्षमा सामाजिक सञ्जालमा सक्रिय भएको भेटेँ । यो संख्या बढ्दै छ । यसमा आशावादी छु ।’

२०७४ सालमा दलहरुलाई भोट हालेका सुन्दरहरैंचाका १० प्रतिशत मतदाता विभिन्न कारणले बसाइसराई तथा विदेश बसाइका कारण दलहरु पहिले जस्तो शक्तिशाली नभएको उनी बताउँछन् । चुनाव चिन्ह ढिलो मतदातामाझ पुगे पनि स्वतन्त्र उम्मेदवारका मुद्दा जनतासामु पु¥याउन सकिएमा जित्ने सम्भावना बढ्ने भट्टराई सुनाउँछन् । ‘२०७४ को तथ्यांकमा २३३ स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु भएको छ । उहाँहरुले पनि चुनाव चिन्ह ढिलो पाउनु भएको छ ।’

भट्टराई किन आए स्वतन्त्र राजनीतिमा ?

भट्टराई स्नातकोत्तर गर्न सन् २००८ मा अमेरिकाको युनिभर्सिटी अफ नोट्रेडेममा पुगे । त्यहाँबाट शान्ति तथा द्वन्द्व अध्ययन विषयमा स्नातकोत्तर गरेपछि उनी सन् २०१० मे मा नेपाल आए । त्यसपछि विद्यावारिधि गर्न उनी सन् २०११ मा न्यूजिल्यान्ड लागे । न्यूजिल्यान्डको युनिभर्सिटी अफ ओट्यागोमा शान्ति प्रक्रियामा तेस्रो पक्षको सहभागिताको विषयमा थेसिस गरे । नेपालको शान्ति प्रक्रिया र फिलिपिन्सको मोरो इस्लामिक द्वन्द्वको विषयमा उनले तुलनात्मक अध्ययन गरेर विद्यावारिधि पूरा गरे ।

अमेरिका र न्यूजिल्यान्डमा पढेको कुरा उनले स्विडेनको नामी विश्वविद्यालय उप्सलामा पुगेर प्रयोग गरे । भिजिटिङ स्कलरको रुपमा उनी स्विडेनमा तीन पटक पुगे । पहिलोपटक उनी सन् २०१३ मा पुगेका थिए । सन् २०१७ मा उनी जर्मनको चर्चित पिस रिसर्च इस्टिच्युटमा पुगे ।

सन् २०१८ मा हङकङको हङकङ विश्वविद्यालयमा एसिया ग्लोबल फेलो भएर पुगे । विश्वस्तरीय प्राज्ञिक तथा खोज व्यक्तित्व बनाएका डा. भट्टराईले आधा दर्जन बढी खोज तथा अनुसन्धानमूलक पत्रहरु लेखिसकेका छन् । ती सामग्री विश्वका विभिन्न नामी संस्थाका प्रकाशनबाट प्रकाशित भइसकेका छन् । पछिल्लो समय उनी रुटलेज नामक बेलायतको प्रसिद्ध प्रकाशन गृहले प्रकाशन गर्न लागेको एक पुस्तकका सम्पादक छन् । पुस्तक नेपालको शान्ति प्रक्रियाको बारेमा छ ।

उनले विज्ञ भएर काम गरेका संस्था र गतिविधिको फेहरिस्त लामो छ । खोज र अनुसन्धानमा विश्वस्तरीय व्यक्तित्व डा. भट्टराईमा किन स्थानीय सरकारमा रुचि जाग्यो ? प्रतिपक्षविहीन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम गर्ने सरकार स्थानीय सरकार भएकोले आफूले यसमा रुचि गरेको उनी बताउँछन् ।

नेपालको संविधान २०७२ ले अनुसूची ८ मा दिएको स्थानीय सरकारका २२ विशेष अधिकार र १५ साझा अधिकारहरुले काम गर्न ठूलो बाटो खोलिदिएको डा. भट्टराईको बुझाइ छ । उनी भन्छन्, ‘हामीले खोजेको विकासको दिल्ली मोडेलको काम स्थानीय सरकारबाट गर्न सकिन्छ ।’

नैतिक पतन र भ्रष्टाचार नहुँदा पाँच वर्ष आनन्दले काम गर्न सकिने स्थानीय सरकारमात्रै भएकाले काम गरेर देखाउन आफू स्वतन्त्र नै भए पनि मेयरमा उठेको डा. भट्टराईले स्पष्ट पारे । आफूले संसारका धेरै विश्वविद्यालयका धेरै प्रोफेसर र विज्ञहरु चिनेकाले विज्ञहरुसँगको पहुँचलाई प्रयोग गर्न र अन्य स्रोत जुटाउन सकिने भएकाले उनले आफू स्थानीय तहको नेतृत्वको लागि योग्य उम्मेदवार भएको दावी गर्छन् ।

‘संघीय सरकार र प्रदेश सरकारको पैसामात्रैले स्थानीय तहमा विकास पुग्दैन । दाताहरुसँग र निजी क्षेत्रको लगानी पनि आवश्यक छ’, डा. भट्टराई भन्छन्, ‘यो क्षेत्रमा म काम गर्न सक्छु ।’

स्थानीय सरकारमा अयोग्यहरुको दबदबा बढ्दा जनताले न्याय नपाएको उनी जिकिर गर्छन् । योग्यता र विज्ञता भएकाहरु नआएकाले पनि आफू स्थानीय सरकारमा आएको उनी तर्क गर्छन् । भट्टराई थप्छन्, ‘विभिन्न क्षेत्रमा स्थापित विज्ञहरुले यस्तो आँट नगरेकाले मैले आफ्नो पालिकामा आँट गरेको हुँ ।’

डा. भट्टराईका चार मुद्दाका चार ‘स’

डा. भट्टराईले दलविरोधी चर्का एवं उनीहरुप्रति घृणाका अभिव्यक्ति दिएका छैनन् । यसमा उनलाई इच्छा पनि छैन । उनी समाजका विभिन्न स्वार्थ समूहसँग बसेर टाउको गन्दै मतदाताको मोलमोलाई पनि गरिरहेका छैनन् । उनी आफ्नो आठ पृष्ठको घोषणापत्रका मुद्दा बोकेर गाउँगाउँ र घरघर पुगिरहेका छन् । उनले मूलतः चार ‘स’ को चार मुद्दा बोकेका छन् ।

पहिलो ‘स’ सुशासन हो । दलगत नेतृत्वले नागरिकको हितभन्दा आफ्ना नेता–कार्यकर्ताको मात्रै बढी हित हुने शासनको विपक्षमा यो मुद्दा अघि सारेको उनको दाबी छ । दोसो ‘स’ हो सन्तुलित विकास । यसले ठूला–ठालु नेताहरु भएको क्षेत्रमा र दबाब समूहको क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा सन्तुलित विकासको काम गर्ने उनी बताउँछन् ।

तेस्रो ‘स’ समावेशिता हो । स्थानीय सरकारका सबै काम तथा निर्णयहरु बन्द कोठामा दुई चार जनाले नगरेर समाजका सबै पक्षको सहज सहभागिता र समावेशिताको पक्षमा यो मुद्दा बोकेको उनी बताउँछन् ।

चौथो ‘स’ हो सेवक सरकार । स्थानीय सरकारलाई लोकल्याणकारी सरकार बनाउने उद्देश्यले यो मुद्दा बोकेको डा. भट्टराई बताउँछन् । ज्ञान अनुसन्धान केन्द्र सञ्चालन, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसामुक्त नगरपालिका, हरित नगर, शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, खेलकुद, कला–संस्कृति आदि क्षेत्रका बुँदागत मुद्दा डा. भट्टराईको आठ पृष्ठको घोषणापत्रमा प्रस्ट छन् ।

पाँच वर्षे कार्यकालमा यी चार ‘स’बाट स्थानीय तहमा देखिने गरी विकासको काम गर्न सकिने उनको आत्मविश्वास छ । उनी भन्छन्, ‘अमेरिकी राष्ट्रपतिको भन्दा एक वर्ष लामो आयुको स्थानीय सरकार विकासमा नमुना काम गर्न काफी छ ।’

उम्मेदवार बनेपछि झेलेको ‘मोसफल पीडा’

काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा ज्यादै छ । पोखराका स्वतन्त्र उम्मेदवार गनेश पौडेलको पनि उत्तिकै चर्चा छ । तर, आफ्नो चर्चा मिडियामा कम आएको डा. भट्टराईको गुनासो छ । राष्ट्रिय मिडियाका रिपोर्टर नभएको वा कम भएकोले आफ्नो चर्चा तुलनात्मक कम भएको अनुभव डा. भट्टराईको छ ।

‘मुद्दा र योग्यताको मामलामा म बालेनजी र गनेशजी भन्दा कमजोर देख्दिनँ’, डा. भट्टराई भन्छन्, ‘तर राष्ट्रिय मुद्दामा चर्चा भएका स्वतन्त्र उम्मेदवारहरुमा म छायाँमा परेँ । मैले मोफसलको उम्मेदवारको हुनुको पीडा महसुस गरेँ ।’

काठमाडौं संघीय राजधानी र पोखरा प्रादेशिक राजधानी भएकोले त्यता धेरैको ध्यान पुगेको हुनसक्ने उनी बताउँछन् । राष्ट्रिय मिडियामा आफ्नो चर्चा कम भए पनि स्थानीय स्तरको खटाई भने कमजोर नभएको उनको दावी छ । भट्टराई भन्छन्, ‘राष्ट्रिय मिडियामा चर्चा हुँदा पनि सूचना पुग्नुपर्ने स्थानीय मतदाताकैमा हो । हाम्रो अभियान अहिले मतदाताको घरदैलोसम्म पुगिरहेको छ ।’


प्रतिक्रिया

2 thoughts on “विश्वका नामी विश्वविद्यालय पढेका डा. प्रकाश भट्टराई किन बने सुन्दरहरैंचाकाे स्वतन्त्र मेयर उम्मेदवार ?

  1. Des ko harek Chetra lai chusta, durusta ra pardarshi banauna sake matra sushan huna sakxa natra des jai le pani kusasan ra ku saskriti simit xa hamro mulukma bigya ta vanda pani bikriti ra bishangati lai badi prathamikta pradan garinxa jasle garda des dal dal ma xa yeslai kasari sahi bato ma lane bigya ta ko khacho xa. Jay des Jay Naresh Jay matri bhumi. Best of luck Dr. Bhattarai

  2. स्थानिय चुनाबमा राजनैतिक पार्टिको हस्तछेप नगरी स्वत्रन्त चुनाव गराउन सके उहाँ जस्तो भिजन भएका पदाधिकारीले विकासको खाका कोर्न सफल हुने थिए !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर