प्रदेश १ मा गठबन्धन : अधिकांश स्थानीय तहमा अझै जुट्न सकेन सहमति, एक्ला-एक्लै लड्ने तयारी – Nepal Press

प्रदेश १ मा गठबन्धन : अधिकांश स्थानीय तहमा अझै जुट्न सकेन सहमति, एक्ला-एक्लै लड्ने तयारी

विराटनगर । स्थानीय तह निर्वाचनमा मनोनयन गर्दाको एक दिन अघिसम्म पनि प्रदेश नम्बर १ का अधिकांश तहमा गठबन्धनमा सहमति हुन सकेको छैन ।

एउटै स्थानीय तहमा धेरै दलहरूले दाबी नछाडेपछि प्रदेशका केही पहाडी जिल्लमा तालमेलको सहमति भए पनि तराईका जिल्लामा एक्ला एक्लै चुनावमा जाने तयारी दलहरू पुगेका छन् ।

पहाडी जिल्लाका केही स्थानीय तहमा भने वडा तहसम्म तालमेल गरेर जान दलहरू सहमत भएका छन् ।

गठबन्धन दलका नेताहरूका अनुसार कुल १४ जिल्ला रहेको प्रदेश १ अन्तर्गत १३७ स्थानीय तह मध्ये हिमाली र पहाडी जिल्लाहरू ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धनबिच भागबण्डा टुंगिएको छ ।

यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा आजसम्म टुङ्ग्याउने गरी संवाद भइरहेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।

यसै गरी भोजपुरमा पनि गठबन्धन दलहरूबिच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुई वटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । जसअनुसार कांग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।

यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरूबिच सहमति भएको छ । सहमति अनुसार ३ वटामा कांग्रेस, ३ वटामा माओवादी तथा चार दलबिच सहमति हुन नसकेका ४ वटा पालिकामा कांग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

यस्तै कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ कांग्रेस, एमाले र अन्य गठबन्धन दलबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय अनुसार इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको नेताहरूको दाबी छ।

यसबाहेक प्रदेश १ का अन्य ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर देखिएको छ । बढी मतदाता रहेका तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी, त्यसै गरी सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको नेताहरूले नै बताएका छन् ।

पाँच दलीय गठबन्धन भित्रका दलहरूले यी जिल्लाका स्थानीय तहहरूमा तालमेलको सम्भावना न्यून भएपछि ती जिल्लामा दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु गरेका छन् ।

एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य एव प्रदेश सचिव महेर रेग्मीले गठबन्धन भित्रका दलहरूसँग सहमतिका लागि अधिकतम प्रयास भए पनि सार्थक परिणाम आउन नसकेपछि समाजवादी पार्टीले ती जिल्लाका स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

कतिपय स्थानीय तहमा कांग्रेस त कतिपय स्थानीय तहमा माओवादी केन्द्रले आफ्नो दाबी नछाडेपछि सहमति हुन नसकेको रेग्मीले बताए ।

माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीले इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा आज साँझसम्म भागबण्डा टुंगिने बताए ।

केन्द्रले एक मात्र विराटनगर महानगर, दुई उपमहानगर इटहरी र धरान मा भने तालमेल गरेर जाने निर्णय गरिसकेको छ । जस अनुसार विराटनगर महानगर र इटहरी काँग्रेस धरान माओवादी केन्द्रको भागमा परेको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा कुल १ ३७ स्थानीय तह रहेको छन् । जसमा एक महानगर दुई उपमहानगर ४५ नगरपालिका ८९ गाउँपालिका रहेकामा १ हजार ५७ वडा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ बाट मेयर उपमेयरसहित कुल ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन । प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर