कांग्रेसभित्रको असन्तुष्टिले कर्णालीमा भागबन्डा गर्न गठबन्धनलाई सकस – Nepal Press

कांग्रेसभित्रको असन्तुष्टिले कर्णालीमा भागबन्डा गर्न गठबन्धनलाई सकस

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कर्णालीमा सत्तारुढ गठबन्धनले अझै भागबन्डाको टुंगो लगाउन सकेको छैन । शुक्रबार बिहान मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धन बैठकमा विभिन्न कोणबाट सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन । शुक्रबार साँझ पुनः गठबन्धनमा आवद्ध दलहरुले एक्लाएक्लै चुनाव लड्ने निश्चित भएको दावी गरेका थिए ।

तर, जुन पालिकामा जसले जितेको हो, त्यो उसैको हुने र एमालेले जितेका स्थानको मात्रै भागबन्डा गर्ने भनेर केन्द्रबाट आएको निर्देशनले गठबन्धन औपचारिक रुपमा टुट्नबाट जोगिएको छ ।

७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले २५–२५ पालिका जितेका थिए । नेकपा एमालेले २७ वटा पालिका जितेको थियो । दुइटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको थियो । एमालेले जितेकामध्ये पाँच पालिकाका प्रमुख तथा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा गइसकेका हुँदा २२ वटा पालिकामा मात्रै एमालेको नेतृत्व रहेको छ ।

प्रदेश संयन्त्रको बैठकमा एकीकृत समाजवादीलाई बढीमा चार पालिका र अरु १८ पालिका कांग्रेस र माओवादीले बाँड्ने रणनीति बनाएपछि समाजवादीले असन्तुष्टि जनाएको छ ।

‘समाजवादीले असुहाँउदो रुपमा भागबन्डा मागिरहेको छ । उसलाई एक्लै छोड्न पनि नसकिने, सँगै लैजाँदा बढी भाग खोजेकाले कर्णालीमा गठबन्धनले आवश्यक निर्णय लिन नसकेको हो’, संयन्त्र बैठकमा सहभागी एक नेताले भने, ‘चार–पाँच सय मतदाता भएको दललाई पालिकाको नेतृत्व पनि दिन नसकिने अवस्था आएको छ । यसले गर्दा गठबन्धन दलमा समाजवादी घाँडो भएको छ ।’

गठबन्धनले भागबन्डा टुंगो लगाउन नसक्नुको अर्को कारण पनि छ । रुकुम, हुम्ला, डोल्पा, कालिकोटमा कांग्रेस शून्य हुने अवस्था देखिएको छ । दैलेख र सुर्खेतमा माओवादीले भाग मागिरहेको छ । यस्तो अवस्थामा एक्लै ३५ पालिका जित्ने लक्ष्य राखेको कांग्रेस बिच्किएको छ । त्यसमाथि समाजवादीले मागेको भाग आफ्नै कोटाबाट काटिने हुँदा कांग्रेस मानिरहेको छैन ।

‘रुकुम, हुम्ला, डोल्पा, कालिकोटमा कांग्रेसले पालिका प्रमुख नपाउने देखिएको छ । यस्तो अवस्थामा उहाँहरुसँग तालमेल गर्नै समस्या भएको छ’, प्रदेश संयन्त्रमा सहमतिको प्रयासमा रहेका कांग्रेस नेता भन्छन्, ‘नेता कार्यकर्ता गठबन्धन नगरौं, एक्लै जाऔं भनेर दबाब दिइरहेका छन् । तर, केन्द्रले भने ‘जसरी पनि गठबन्धन गर्नू’ भन्ने निर्देशन दिएकाले सत्ता गठबन्धन समस्यामा परेको हो ।’

कांग्रेसभित्रको असन्तुष्टिले पनि भागबन्डा टुंगोमा पुग्न नसकेको हो । कर्णालीमा महाधिवेशनपछि कांग्रेसभित्र दुई खेमा प्रस्ट देखिएका छन् । कांग्रेसको संस्थापन पक्ष गठबन्धन जोगाएर लैजाने पक्षमा छ भने शेखर पक्ष एक्लै चुनावमा जानुपर्ने लाइनमा उभिएको छ । यदि गठबन्धन नै गरेर जाने हो भने पनि आफूले ४० प्रतिशत भाग पाउनुपर्ने अडान शेखर पक्षको रहेकाले गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

कांग्रेस संस्थापनका नेताहरुमा शेखर पक्षबाट बागी उम्मेदवारी पर्ने हो कि भन्ने त्रास छ । ‘हामीले गठबन्धन बनाउने तर उहाँहरुले बागी उम्मेदवारी हालेको खण्डमा कतै हार व्यहोर्नुपर्ने त होइन ?’ कांग्रेस संस्थापनका एक नेता भन्छन्, ‘त्यसैले गठबन्धनमा निर्णय लिन गाह्रो भएको छ ।’

उनका अनुसार दैलेख, सुर्खेत, सल्यान, हुम्ला, डोल्पा, कालिकोट, जुम्लालगायत सबै जिल्लामा कांग्रेसभित्रै दुई धार प्रस्ट देखिँदा उम्मेदवार छनोटमा समेत सकस छ ।

यता, गठबन्धनका उम्मेदवार हेरेरमात्रै आफ्नो उम्मेदवारको टुंगो लगाउने पक्षमा एमाले रहेको छ । एमालेले सबै पालिकामा उम्मेदवारबारे छलफल तीव्र पारे पनि टिकट कसलाई दिने भनेर निर्णय गरिसकेको छैन ।

एमाले स्रोतका अनुसार शनिबार एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह र प्रदेश इन्चार्ज यामलाल कंडेल काठमाडौं जान लागेका छन् । ‘विप्लव नेकपा, नेमकिपालगायतका दलहरुसँग गठबन्धन बनाउन दुई जना काठमाडौं जान लाग्नु भएको छ’, एमाले स्रोत भन्छ, ‘त्यसपछि मात्रै उम्मेदवारको नाम घोषणा गर्छौं ।’

कर्णालीमा एमाले र सत्तारुढ गठबन्धन वैशाख १२ गते मनोनयनपत्र दर्ता गराउने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर