नेकपा एसको काठमाडौं रणनीति – महानगरमा गठबन्धन, बाँकी नगरपालिकामा सिंगल – Nepal Press

नेकपा एसको काठमाडौं रणनीति – महानगरमा गठबन्धन, बाँकी नगरपालिकामा सिंगल

गठबन्धनबाट काठमाडौं महानगरको उपमेयरमा ईश्वरमानको पल्ला भारी

काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूबीचमा काठमाडौं महानगरपालिकामा चुनावी तालमेल केन्द्रबाटै भइसकेको छ । तालमेलअनुसार महानगरको प्रमुख पद कांग्रेसको र उपप्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

२०७४ को स्थनीय तह निर्वाचनमा एमाले जितेको यो महानगरमा सुरूमा नेकपा एसले प्रमुख पदमा दाबी गरेको थियो । गठबन्धन दलहरूको बीचमा सहमती भएपछि काठमाडौंको दाबीबाट पछि हटेको थियो ।

देशको राजधानी भएको जिल्ला काठमाडौंको यो एकमात्र पालिका भने होइन । यहाँ अन्य थप १० वटा नगरपालिका पनि छन् । महानगरमा तालमेल भएपनि जिल्लाभरका अन्य १० वटा नगरपालिकामा भने अहिलेसम्म तालमेलका लागि सहमती हुन सकेको छैन् ।

गठबन्धन दलहरूका स्रोतले जनाएअनुसार सहमती नजुटेपछि बाँकी १० वटै नगरपालिकाहरूमा ‘मित्रवत प्रतिस्पर्धा’ हुने सम्भावना बढेको छ ।

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एसलाई कुनै पनि नगरपालिकामा भाग दिन तयार नभएपछि अवस्था यस्तो आएको नेकपा एस काठमाडौंका जिल्ला अध्यक्ष कुसुमकुमार कार्कीले बताए । उनले भने, ‘कांग्रेस तयार नभएपछि हामीले काठमाडौंका १० वटै नगरपालिकामा मेयरसहितको उम्मेदवारी दिने तयारी गरेका छौं ।’ १० मध्ये केही नगरमा माओवादी केन्द्र र जसपासँग तालमेल गर्ने सम्भावना पनि रहेको उनले बताए ।

गठबन्धन दलहरूबीचको छलफलका क्रममा नेकपा एसले कीर्तिपुर, तारकेश्वर, कागेश्वरी मनहरा र शंकरापुरमा मेयर दाबी गरेको थियो । तीमध्ये कीर्तिपुर र शंकरापुरमा माओवादी केन्द्रले उपमेयर दाबी गरेको थियो ।

तर, नेपाली कांग्रेस दुई दलको दाबीमा उदार नभएपछि गठबन्धन भाँडिएको छ । दाबी गरिएका नगरपालिकाहरूबाट समाजवादी पछाडि नहट्ने अध्यक्ष कार्की बताउछन् ।

‘हामीसँग जनमत छैन् भन्ने नाममा अपमानित गरिदैछ’, उनले भने, ‘जनमत देखाउनका लागि पनि एकल उम्मेदवारी जरुरी भयो ।’

महानगरमा ईश्वरमान बलिया

केन्द्रबाटै सहमती भएको काठमाडौं महानगरमा नेकपा एसले उपप्रमुख पाएको छ । उपप्रमुखमा नेकपा एस जिल्ला कमिटीले शुक्रबार ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा ईश्वरमान डगोल, ओमकुमारी श्रेष्ठ, रामेश्वर श्रेष्ठ, शुद्ध डगोल, सीता श्रेष्ठ र रन्जना मास्के छन् ।

उनीहरूमध्ये वडा नम्बर १५ का वडाध्यक्षसमेत रहेका महानगर प्रवक्ता ईश्वरमान डंगोलको पल्ला भारी छ । उनको पक्षमा सम्मानित नेता झलनाथ खनालदेखि उपत्यका इन्चार्ज जीवनराम श्रेष्ठसम्म उभिएको स्रोतले जानकारी दियो । बाँकीलाई वडाध्यक्ष र प्रदेशसभामा पठाउने गरी व्यवस्थापन गरिने पार्टीका एक उपमहासचिवले बताए ।

टिकटको आधिकारिक टुंगो पार्टीको केन्द्रीय सचिवालय बैठकले शनिबार बेलुकीसम्म लगाउने स्रोतले जनायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर