टिकट बाँडफाँट र गठबन्धनको साइड इफेक्ट : गृहमन्त्री खाँणको गृहजिल्लामा कांग्रेस छोड्दै प्रभावशाली नेताहरु – Nepal Press

टिकट बाँडफाँट र गठबन्धनको साइड इफेक्ट : गृहमन्त्री खाँणको गृहजिल्लामा कांग्रेस छोड्दै प्रभावशाली नेताहरु

रुपन्देही । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पार्टीका प्रभावशाली नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । गठबन्धनको विपक्षमा रहेका तथा पार्टीमा खाँण समूहमा नरहेकाहरुले कांग्रेस नेताहरुले पार्टी छाडेका हुन् ।

पार्टीको वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनमा अलग–अलग देखिएका समूहहरु निर्वाचन नजिकिएसँगै पुनः टाढिन थालेका छन् । यसले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई ठूलै असर पर्ने पुराना कार्यकर्ताहरु बताउँछन् ।

बुधबार जिल्लाका पुराना तथा स्थापित नेता मातृका यादवले पार्टी परित्याग गरेको घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ सभापति हरि लम्सालले पार्टी छाडेको घोषणा गरेका छन् । उनले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

बिहीबार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर बुटवलका नगर सभापतिले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखको नाम सिफारिस गर्दा जिल्ला समितिले विधानविपरीत स्वीकार गरेपछि राजीनामा दिएका हुन् । उनले नगर सभापतिले एकलौटी गरेको र आफूहरुको कुनै सुनुवाइ नभएको इमानदारिता, निष्ठा र विधानको कुनै महत्व नरहेको ठम्याइ गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति बनेका थिए ।

यसअघि नगर सभापति खेलराज पाण्डेयले नगर प्रमुख सिफारिस गर्दा क्षेत्रसँग कुनै सल्लाह नगरी एकलौटी आफ्नोमात्रै नाम पठाएपछि कांग्रेस क्षेत्रीय सभापति लम्सालसहित १७ जनाले लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनलाई भेटेर विधानविपरीत भएको कामलाई सच्याउनको लागि ध्यानार्कषणपत्र पठाएका थिए । तर पार्टीले कुनै कदम चालेपछि वर्षौंदेखि काम गर्दै आएका लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन् ।

अहिले उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेस रुपन्देहीमा नेता कार्यकर्ताहरुको असन्तुष्टि बढेर गएको कांग्रेस युवा नेताहरुले प्रतिक्रिया दिएका छन् । ‘निर्वाचन नजिक आएपछि कांग्रेसमा आउने ठूलो रोग हो, मातृका यादवपछि हरि दाइले पनि पार्टी छोड्नुभएछ, कांग्रेसलाई पछाडि पार्ने कांग्रेस नै हो’, उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टीभित्र बढेको असन्तुष्टिसँगै नेताहरुले सो पार्टी परित्याग गर्न थालेका हुन् । यसअघि कांग्रेसका पूर्वक्षेत्रीय सभापति तथा गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा मेयरका प्रत्यासी मातृका यादवले पनि नेपाली कांग्रेस छोडेका छन् । उनी नेता बालकृष्ण खाँणकै निर्वाचन क्षेत्रका हुन् । अहिले पनि यहाँबाट मेयरका आकांक्षी रहेका यादव खाँण समूहले इस्तियाक अहमद खानलाई मेयरमा प्रस्ताव गरेपछि पार्टी नै छोडेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर