टिकट नपाएपछि कांग्रेस छाडेर माओवादीमा – Nepal Press

टिकट नपाएपछि कांग्रेस छाडेर माओवादीमा

रुपन्देही । नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष बनेकी पावित्रीदेवी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन् ।

आगामी स्थानीय तहको निर्वाचनको मनोनयन गर्न दुई दिन बाँकी रहँदा कांग्रेसबाट उपाध्यक्ष पदमा चुनाव जितेकी कोहार माओवादी केन्द्र प्रवेश गरेकी हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालगायतका नेताले कोहारलाई पार्टीमा स्वागत गरेका थिए । माओवादीले कोहारलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी प्रवेश गरेको जनाइएको छ ।

जनताले मन पराएको भए पनि आफ्नो पार्टी नेपाली कांग्रेसले टिकट दिने संकेत नगरेको र आफू अन्यायमा परेको महसुस गरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको कोहारले बताइन् ।

कांग्रेसले उपाध्यक्ष पदको उम्मेदवारमा २ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहारले असन्तुष्टि जनाएकी थिइन् ।

‘अध्यक्षको उम्मेदवारमा १ जना र उपाध्यक्षमा कोहारबाहेक २ जनाको नाम सिफारिस गरिएको छ,’ नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष हरिहर चौहानले भने ।

जिल्लाका २ पालिकामा मात्र गठबन्धन पार्टी मिलेर जानेबारे छलफल भएको छ । तर त्यहाँ पनि सहमति जुटेको छैन ।

पाल्हीनन्दनसहित अन्य पालिकामा भने गठबन्धन दलहरू छुट्टाछुट्टै जाने गरी उम्मेदवार चयन गरिरहेका छन् । उक्त गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले जितेको हो ।

माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोहारले कांग्रेस छाडेको बताइएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरेर कोहारलाई माओवादीका नेताहरूले पार्टी प्रवेश गराएका छन् ।

‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन । पार्टीमा आए उपाध्यक्षमा उम्मेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गइकी हुँ,’ उपाध्यक्ष कोहारले भनिन् ।

पश्चिम नवलपरासीका सात वटा पालिकामा यसअघि विजयी उम्मेदवार अधिकांशले सोही पदमा चुनाव लड्न राजीनामा दिएर पार्टी फेरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर