एमाले इच्छाकामना गाउँपालिका अध्यक्षका उम्मेदवारले लिए नागरिकसँग सुझाव – Nepal Press

एमाले इच्छाकामना गाउँपालिका अध्यक्षका उम्मेदवारले लिए नागरिकसँग सुझाव

चितवन । नेकपा एमालेको तर्फबाट चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुखका उम्मेदवार बनेका दानबहादुर गुरुङसँगले गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकसँग सुझाव लिएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनको आयोजनामा आज शनिवार इच्छाकामना ४ कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले एमाले प्रतिबद्धता पत्रमा समेट्न विभिन्न सुझाव दिएका थिए ।

‘इच्छाकामनाको विकास र समृद्धि नागरिकको अपेक्षा’ शीर्षक राखेर गरिएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका नागरिकहरूले गाउँपालिकाले आगामी पाँच वर्षमा गर्नुपर्ने कार्यक्रमहरूका बारेमा सुझाव दिएका थिए ।

इच्छाकामनाका स्थानीय पत्रकारसमेत रहेका चित्र सोल्टी गुरूङले गाउँपालिकाले स्थानीय जातजातिको भाषा तथा संस्कृतिको संरक्षणमा विशेष ध्यान दिन जरुरी रहेको बताए । इच्छाकामनाका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा सहभागीहरूले बितेको पाँच वर्षमा गाउँपालिकाको प्राकृतिक स्रोत सधानको दोहन कानुन विपरीत भएकोले त्यसलाई कमभन्दा कम क्षति हुने गरी र गाउँपालिकाको विकासमा मात्रै लगाउनुपर्नेमा जोड दिए ।

यस्तै गाउँपालिकामा भरपर्दो अस्पताल नहुँदा जनताले हैरानी भोग्नुपरेको भन्दै गाउँपालिकाको एउटा सुविधा सम्पन्न अस्पताल बनाउने योजना अबको कार्यक्रममा समेटिनुपर्ने धारणासमेत सहभागीहरूले राखे ।

इच्छाकामनाको तामिन लगायतका भूभागमा सुन्तलाको पकेट क्षेत्र रहेकोले यसको प्रवर्द्धन र रोग किरा नियन्त्रण, जल पर्यटन, ठूला होटेल व्यवसायीहरूलाई आकर्षित गर्ने, चितवन जिल्लाकै अग्ला डाँडाहरू सिचाईचुली र उपरदाङगढीमा सुविधा सम्पन्न होमस्टे बनाएर स्थानीय जनतालाई आयआर्जनमा लगाउनुपर्ने, चेपाङ जातिमा रहेको पछ्यौटेपनलाई हटाउन विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने सुझाव गाउँपालिका अध्यक्ष उम्मेदवारलाई सहभागीहरूले दिए ।

कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले जनताको समस्या समाधानका लागि आफू जहिल्यै तयार रहेको प्रतिबद्धता जनाए । इच्छाकामनाको जनताले चाहे अनुसारको विकास विगतमा नभएको भन्दै उनले जनचाहना अनुसारको विकासमा आफ्नो ध्यान जाने बताए । शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, घरेलु उद्योग स्थापना, कृषि प्रवर्द्धन, पर्यटन आफ्नो मूल एजेन्डा रहेको उनले बताए । विकासका लागि पहाडी भूगोल केही अप्ठेरो भए पनि यसलाई आफूहरूले सौन्दर्यको गहनाको रुपमा लिएको उम्मेदवार गुरुङको भनाइ छ ।

‘भौतिक विकास मात्र होइन, जनतामा चेतना, शिक्षा, सीपको पनि विकास आवश्यक छ उनले भने,‘पहाडका जनतालाई गरिब बनाइराख्ने र उनीहरूको नाममा राजनीति गर्ने काम म विजयी भएपछि अन्त्य हुन्छ ।’ यस अघिको स्थानीय सरकारले भौतिक विकासतर्फ पनि उल्लेखनीय प्रगति गर्न नसकेको उनको टिप्पणी छ ।

साथै इच्छाकामनामा भएको गठबन्धन नेताहरूबिच मात्र भएको र त्यो मतदाताले नरुचाएको भन्दै आफू नै सक्षम र बलियो उम्मेदवार रहेको नेता गुरुङको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा भनाइ राख्दै नेकपा एमाले जिल्ला प्रचार विभाग संयोजक रवि किरण पौडेलले जिल्लाका सातै तहमा आफ्ना उम्मेदवारहरूले चुनाव जित्ने बताए । चेपाङ, जनजाति र आर्थिक विपन्नता भएका अन्य नागरिकको समृद्धिको लागि काम गर्नु पर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नारायणप्रसाद अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणी सापकोटा, गाउँपालिका सह इन्चार्ज जुनाराज राजभण्डारी, गाउँपालिका पार्टी अध्यक्ष कृष्ण सिलवाललगायतको उपस्थिति रहेको थियो । पालिका उपाध्यक्ष उम्मेदवार र वडाका अध्यक्ष तथा अन्य सदस्यहरूमा उम्मेदवार छान्ने काम अन्तिम चरणमा पुगेको गाउँ कमिटी अध्यक्ष कृष्ण सिलवालले जानकारी दिए । सो कार्यक्रममा एमालेबाट उम्मेदवार बनेका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।

प्रेस चौतारी चितवनले यसअघि वैशाख ७ गते भरतपुर महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीलाई राखेर नागरिकहरूसँग अन्तरक्रिया गरेर सुझाव संकलन गरेको थियो । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले नागरिकहरु नै शक्ति र विचारका स्रोत भएकोले नागरिकहरूका सुझावलाई लिएर अगाडि बढ्न र नागरिकका अपेक्षाहरूलाई पनि पार्टीको प्रतिबद्धता पत्रमा समेट्न यस्ता कार्यक्रमको आयोजना गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर