तुलसीपुरका टिकाराम- जमिनदारको ‘हली’ हुँदै मेयरको चुनावी मैदानमा – Nepal Press

तुलसीपुरका टिकाराम- जमिनदारको ‘हली’ हुँदै मेयरको चुनावी मैदानमा

दाङ । डेढ वर्ष हुँदा आमा गुमाएको विद्रोही स्वभावको एउटा ‘ख्याउटे केटो’ नेतृ मेनका पोखरेलको नजरमा पर्‍यो । हाडेमीको मजगैँया परिवारकी छोरी मेनका २०३५/०३६ सालतिर पञ्चायत विरुद्ध विद्यार्थी आन्दोलनमा होमिएकी थिइन् । उनको नजरमा परेको ख्याउटे केटो टिकाराम खड्का थिए ।

टिकारामको गतिविधि हेर्दा मेनकालाई लाग्यो,‘यसले केही गर्न सक्छ ।’ अनि उनले टिकारामलाई पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनमा लाग्न प्रेरित गरिन् । टिकाराम के कम मेनकाले हिम्मत दिएपछि आन्दोलनमा हेलिए । नेकपा मालेको अनेरास्ववियुका सदस्य रहेको उनी त्यति बेला ७ कक्षमा पढ्थे । २०३७ सालको माघमा नारायणपुरमा विद्यार्थीहरूको सभा थियो । त्यो सभामा भाग लिन उनी पनि पुगेका थिए । प्रहरी दमन ग¥यो । उनले पनि प्रहरीको लाठी खाए ।

पञ्चायत विरुद्धको आन्दोलन चलिरह्यो, उनी पनि आन्दोलनमा लागिरहे ।

सात कक्षा पास गरेपछि उनी काकासँग रुकुम गए । मुरु माविमा ८ कक्षामा भर्ना भए । त्यति बेला उनलाई राजनीतिको नशा लागिसकेको थियो । उनले आफू कम्युनिस्ट भएको बताउँदै त्यहाँ अखिल छैटौँमा आबद्ध भए । उनी त्यति बेला अखिल छैटौँको एरिया कमिटी सदस्य भए ।

६ महिनापछि उनले थाहा पाए कि अखिल छैटौँ त मसालको संगठन रहेछ । पछि उनी पुनः माले निकट अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा अघि बढाए । २०३९ जेठमा उनका बुवाको निधन भयो । अनि दाङ फर्के । डेढ वर्षमा आमा गुमाएका उनले १४ वर्षमा बुवा गुमाएपछि टुहुरो बने । दिदीको बिहे भर्खरै भएको थियो । उनका बुवाको निधन भएपछि बाबुको नाममा रहेको २० हजारको ऋणको भारीले उनको टाउको थिच्यो । उनले चाहेर पनि पढ्न पाएनन् । उनी ऋणबाट मुक्त हुन भारत पसे ।

३ वर्ष भारतमा मजदुरी गरेका उनले ३ हजार रुपैयाँ मात्रै कमाउन सके । अनि नेपाल फर्के त्यति बेला उनलाई थप १७ हजार रुपैयाँ आवश्यक प¥यो । आम्दानी केही थिएन । न जग्गा जमिन नै थियो । त्यसपछि उनी जमिनदार मोहनसिंह केसीको घरमा ऋण कटाउन ‘हली’ बसे । हली बसेरै उनले बिरौजीमा पढ्न थाले ।

यो पनि पढ्नुहोस्- यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

प्रारम्भिक शिक्षा प्रावि भित्री संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत मावि बिरौजीमा लिए । त्यसपछि उनले भारतको गोरखपुर भारतबाट एसएलसी पास गरे । जब राजनीतिमा लागे, त्यसपछि पढाई पनि थाँती राखेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

२०४१ सालमा तत्कालीन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय सङ्गठित सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए । पार्टी निकट भातृ संगठनमा सक्रिय रहेका उनी पार्टीमा पनि उत्तिकै क्रियाशील थिए । राजनीति गर्ने सिलसिलामै उनी २०४४ सालमा जेल समेत परेका थिए ।

खड्का ०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदा देखि नै पूर्ण कालिन कार्यकर्ताको रुपमा भूमिगत भए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका इलाका सचिव हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङ जिल्ला सदस्य भएका थिए ।

त्यसपछि उनलाई पार्टीको संगठन बिस्तार गर्न रोल्पा पठाइयो । २०४६ सालको जनआन्दोलन सफल भएपछि टिकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटी उपसचिव भए । अनि २०४८ साल जेठ १ मा भएको प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो महाधिवेशनले केपी ओली लाई अध्यक्ष चयन गर्‍यो खड्का केन्द्रीय सदस्य बने ।

२०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हाले । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाका अझैँ पनि प्रशंसा हुने गर्छ ।

२०५८ सालदेखि दाङमा जिल्ला कमिटी रहेर काम गरे । २०६४ सालमा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य बने भने २०६७ मा संघको स्थायी कमिटी सदस्य भए । उनले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको नेतृत्व गर्ने अवसर समेत प्राप्त गरे । उनी तत्कालीन एमाले र माओवादी एकीकरण पश्चात् बनेको नेकपा दाङको अध्यक्ष समेत बन्ने अवसर पाएका थिए । त्यसपछि खड्का एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन् ।

सादगी र निम्न वर्गीय धरातलमा रहेका खड्काले आफ्नो जीवन राजनीतिमा नै सुम्पिएका छन् । कम्युनिस्ट पार्टीका नेतामा उनी उदाहरण बन्ने गरेका छन् । किनकि, उनी जस्ता वर्गीय नेता तथा कार्यकर्ताहरूले नै अहिलेको कम्युनिस्ट आन्दोलनलाई सार्थक बनाएको छ ।

यो पनि पढ्नुहोस्– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

कम्युनिस्ट पार्टीभित्र वर्ग उत्थान भएका नेता तथा कार्यकर्ताले विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने, उनीहरूकै एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिने प्रवृत्ति हाबी भएको अवस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् ।

यस्तै व्यक्तिहरूले नै अहिले कम्युनिस्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर–१८ स्थित अक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका बुबाले जोत भोग गरेको ५÷७ कट्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरूले जोत भोग गर्दै आएका छन् ।

उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक एमालेले उम्मेदवार बनाएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि उनी परेनन् ।

यो पनि पढ्नुहोस्- पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

२०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भएका छन् । तर, त्यसमा लामो समय काम गर्न पाएनन् । ३ महिना मात्रै काम गर्ने अवसर पाए । त्यति बेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उनले राजनीतिक नियुक्ति पाएका थिए । तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडी नबढाउन भनेपछि त्यतिकै रोकियो ।

पार्टी भित्र होस्, वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका खड्काले घर–परिवार भित्र पनि निकै संघर्ष गर्नुपर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर