शब्दचित्रमा चिनौं धरान र इटहरी उपमहानगरपालिकाका एमाले उम्मेदवार – Nepal Press

शब्दचित्रमा चिनौं धरान र इटहरी उपमहानगरपालिकाका एमाले उम्मेदवार

इटहरी । प्रदेश १ का दुई उपमहानगर छन् । यी दुइटै उपमहानगर सुनसरीमै छन् र एकापसमा जोडिएका छन् ।

यी उपमहानगरको मेयर र उपमेयर उम्मेदवार सार्वजनिक गर्न गठबन्धनभन्दा अगाडि नेकपा एमाले आएको छ । एमालेले शनिबार साँझ यी दुई उपमहानगरको उम्मेदवार फाइनल गरेको हो । कांग्रेस नेतृत्वको गठबन्धनले भने दुइटै उपमहानगरको उम्मेदवार फाइनल गरेको छैन ।

धरानमा एमालेका मेयर पूर्वउपमेयर, उपमेयरमा पूर्ववडा अध्यक्ष

मेयर उम्मेदवार मञ्जु भण्डारी

एमालेले धरानको मेयरमा मञ्जु भन्डारीलाई उम्मेदवार सिफारिस गरेको छ । भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयर निर्वाचित भएकी थिइन् । मेयर तारा सुब्बाको निधनपछि २०७५ साउनदेखि २०७६ मंसिरसम्म उनले कार्यबाहक मेयर भएर धरान हाँकेकी थिइन् । भण्डारी धरान १५ आडालाइनकी स्थायी बासिन्दा हुन् । उनको जन्म २०३९ साउन २ गते इटहरी ८ मा भएको थियो । विद्यार्थी जीवनमै राजनीतिमा डेब्यु गरेकी भण्डारीले इटहरी केन्द्रित दोस्रो जनआन्दोलन सशक्त सहभागी भएकी थिइन् ।

२०५३ सालमा इटहरी जनता माविमा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा उनी सदस्य भइन् । उनी दुई कार्यकाल अनेरास्ववियूको केन्द्रीय सदस्य भइन् । २०६२÷६३ को जनआन्दोलनमा लडाकु युवा नेताको छवि बनाएकी थिइन् भण्डारीले । २०६१ देखि २०६३ सम्म उनी पटकपटक थुनामा परिन् । २०६४ बाट उनले धरान केन्द्रित राजनीति गरिरहेकी छिन् । २०५८ सालमा राजाको संकटकालताका उनी एमालेको संगठित सदस्य भइन् । दुई पटक सुनसरी जिल्ला कमिटी सदस्य भएकी उनी एमालेको बुटवलमा भएको आठौं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य तथा सुनसरी जिल्लाको सहइन्चार्ज भएकी छिन् । भारत, चीन, कोरियालगायतका देशमा पुगेकी भण्डारी सुनसरीमा चिनिएकी विकासे कार्यकर्ता तथा सामाजिक अभियन्ता पनि हुन् ।

उपमेयर उम्मेदवार पदम लिम्बू

धरानको उपमेयरका उम्मेदवार पदम लिम्बू धरानको विकासे रेखाचित्र कोर्ने पूर्वमेयर मनोज मेन्याङ्बोका टिममेट हुन् । मनोज मेन्याङ्बो मेयर हुँदा लिम्बू धरान १९ का वडा अध्यक्ष थिए । राजनीति, खेलकुद, कानुनमा राम्रो जानकारी राख्ने लिम्बू जस्ता युवाहरुको साथ पाएरै २०५४ देखि २०५९ सम्म मनोज मेन्याङ्बोको कार्यकाल सफल रहेको बताइन्छ । आज धरानमा त्यो कार्यकालमा जनसहभागिताबाट बनेका चिल्ला सडकदेखि धरानको घन्टाघर जस्ता संरचनामा मनोज मेन्याङ्बोले पाउने क्रेडिटका एक सहयोगी लिम्बू पनि हुन् ।

५३ वर्ष अगाडि तेह्रथुमको खाम्लालुङमा जन्मिएका लिम्बूको साइनो धरानले २०७४ मा विजयी गराएका मेयर तारा सुब्बासँग पनि छ । सुब्बा लिम्बूका साइनोले भान्जा पर्छन् । २०४८ सालबाट २०५४ सम्म धरानको किरातेश्वर निमाविमा शिक्षक भएर काम गरेका लिम्बूले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा लेक्चररको रुपमा समेत काम गरे । उनले महेन्द्र बहुमुखी क्याम्पसमा २०५१ देखि २०५२ सम्म पढाएका थिए । कानुन व्यवसायीको रुपमा २०५१ देखि अभ्यास गरेका उनले स्थानीय जनप्रतिनिधि भएपछि वकालत पेसालाई साइडमा राखेका थिए । २०५९ देखि उनी निरन्तर अधिवक्तामा सक्रिय छन् ।

एमाले जिल्लाका प्रभावशाली नेता लिम्बू दोस्रो जनआन्दोलनपछि नेपाल सरकारले नियुक्त गर्ने जिल्ला खेलकुद विकास समिति सुनसरीको अध्यक्ष भएका थिए । साढे तीन वर्ष जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा धरानलाई खेलकुद नगरी बनाउने लिम्बूको देखिने पहल थियो । धरान रंगशाला, कभर्ड हल र अन्य खेलकुद क्षेत्रमा जग्गाको प्रबन्ध गर्न उनको योगदान र नेतृत्व छ ।

इटहरीका मेयरमा जनआन्दोलनका सहायक कमान्डर, उपमेयरमा सामाजिक नेतृ

मेयर उम्मेदवार याम सुब्बा

२०७४ सालको चुनावमै मेयरको नाममा आएको एक नाम थियो याम सुब्बा । तर, सुब्बाले मेयर पाउन धेरै जोडबल गरेनन् । इटहरीका सञ्चारकर्मीको प्रश्नमा उनी भन्थे, ‘अग्रजहरुको दाबी भएकोले धेरै जोडबल गरेको छैन ।’ अहिलेको चुनावमा पनि सुब्बाको नाम मेयरमा सिफारिस भएर गयो । यसबारेमा पनि मेयर हुनेमा आशावादी थिएनन् । मेयरको टिकट पाएपछि नेपाल सुब्बाले प्रेससँग भने, ‘यो पालि पनि नाम गएकोमा खुसी थिएँ । तर, मेयरकै टिकट पाउनेमा ढुक्क भने थिइनँ ।’

सुब्बा इटहरी एमालेमा टोल कमिटीबाट क्रमशः नगर कमिटी सदस्य, सचिव हुँदै अध्यक्ष भएका नेता हुन् । २०५७ सालमा तत्कालिन इटहरी १ वडाको तीन नम्बर टोल भनिने बीपी चौक एरियाको उनी टोल सचिव भए । वडा कमिटी सदस्य हुँदै वडा कमिटी सचिवबाट उनी नगर कमिटीमा प्रवेश गरेका थिए । उनलाई एमाले वृत्तमा कुशल संगठक मानिन्छ ।

राजाको प्रत्यक्ष शासन कालदेखि एमाले विभाजनको समयमा उनी नेतृत्वमा आए । २० वडा भएको इटहरीमा विगतमा १५० टोल कमिटी थिए । अहिले बढेर २८० टोल कमिटी भएको इटहरीमा एमालेका १६ वटा जनसंगठनहरु सक्रिय छन् । यसको गठनमा सुब्बाकै सक्रियता देखिन्छ ।
नेपाली कांग्रेस इटहरीका नेता अमरबहादुर गौरी जनआन्दोलनका बेला इटहरीको कमान्डर हुँदा सुब्बा सहायक कमान्डर थिए । जनआन्दोलन २०६२/६३ हुँदा उनी १४ दिन थुनामा परेका थिए । सुब्बाको टोली राज्यको आँखामा नपर्न गाडी गुडाएर त्यसैमा बसेर बैठक गर्थे ।

आसपासका चार गाविस समेटेर २०७१ सालमा इटहरी उपमहानगरपालिका बाइएको थियो । जसअनुसार दुई कार्यकाल सचिव र अध्यक्ष भएका सुब्बा इटहरी उपमहानगरको संयोजक भए । पार्टी विभाजनपछि गएको फागुन १ र २ गते भएको एमाले इटहरीको छैटौं अधिवेशनबाट सुब्बा सर्वसम्मत अध्यक्ष चुनिए ।

६३ वर्ष अगाडि ताप्लेजुङ सान्थाक्राको तेल्लोकपामा जन्मेका सुब्बाको राजनीतिमा झुकाव २०३६ सालको विद्यार्थी आन्दोलनसँगै सुरु भएको थियो ।

उपमेयर उम्मेदवार संगीता चौधरी

इटहरी एमालेको भूगोलको राजनीतिमा धेरै लामो अनुभव छैन संगीता चौधरीसँग । तर, इटहरी १५ को एकम्बामा माइती र इटहरी १५ कै पडरिया घर भएकी चौधरीको सामाजिक कामको सक्रियता लामो छ । उनी इटहरी १५ को पडरियामा रहेको बाल आदर्श विद्यालयकी संस्थापक हुन् । त्यो क्षेत्रकै नामी विद्यालयमा उनको व्यवस्थापकीय नेतृत्व अहिलेसम्म जारी छ । उनका श्रीमान शिवनारायण चौधरी प्राचार्य भएको निजी विद्यालयको व्यवस्थापकीय र लेखाको नेतृत्व संगीता गर्छिन् ।

इटहरी १६ को ऊर्जा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दुई कार्यकाल अध्यक्ष भएकी चौधरी स्नातक उत्तीर्ण थारु महिलामध्ये एकमा पर्छिन् । उनी राजनीतिक रुपमा नेकपा (एमाले) को महिला संगठनमा सक्रिय छिन् । उनी अखिल नेपाल महिला संघ इटहरीको सहसचिव हुन् । यस्तै वडा नम्बर १५ को उनी इन्चार्ज पनि हुन् ।

४५ वर्षकी चौधरी उपमेयर टिकट पाउनेमा ढुक्क थिइनन् । टिकट पाएपछि उनले नेपाल प्रेससँग भनिन्, ‘सिफारिस भएको त थियो । पाउँछु नै भन्ने विश्वास थिएन ।’

एमालेले इटहरीको मेयर र उपमेयर उम्मेदवारको नाम घोषणा गर्दा मेयर र उपमेयरको टिकट पाएका सुब्बा र चौधरी इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा छलफलमा थिए । छलफलकै क्रममा टिकट पाएको सार्वजनिक भएसँगै द्वारिकलाल चौधरीले दुवै उम्मेदवारलाई बधाई दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर