समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ: उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ’, उनले भने । लोकतन्त्र स्थापनका लागि सामाजिक संघसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गरे । झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक संघसंस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको उनको भनाइ थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको बताए। ‘युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन’, उनले भने ।
मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गरे ।
केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताए ।