भूमिगतकालमा ओलीका विश्वास पात्र बाबुराम एमालेबाट बुटवलको मेयर उम्मेदवार – Nepal Press
स्थानीय चुनाव

भूमिगतकालमा ओलीका विश्वास पात्र बाबुराम एमालेबाट बुटवलको मेयर उम्मेदवार

रुपन्देही । एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार हुन् बाबुराम भट्टराई । २०३२ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध बुटवलका भट्टराई अघिल्लो निर्वाचनमा पनि बुटवल मेयरको अन्तिम दौडमा रहेका थिए ।

उनले १३ वर्षको हुँदादेखि नै राजनीतिमा चासो राखेका थिए । पार्टीका नेताहरु भूमिगतकालमा आफू बसेकै भाडाको घरमा आउनेजाने क्रम चल्दा राजनीतिमा लगाब बढेको उनी बताउँछन् । लामो समय व्यवसायमा रहेका उनी पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका छन् ।

भूमिगतकालमा केपी ओलीले आवश्यक खर्च राख्न र औषधिमूलोका लागि बाबुराम भट्टराईलाई सम्झन्थे । अहिले उनै ओली पार्टी अध्यक्ष भएपछि बुटवल उपमहानगरको मेयरमा भट्टराईले टिकट पाएका छन् ।

केही दिनअघि केपी ओली बुटवल आएका थिए । त्यसबेला पार्टी अध्यक्ष ओलीले त्यो दिन सम्झेका होलान् कि नाई भनेर आफूलाई कौतुहल लागेको भट्टराई बताउँछन् । तर ओली आफैले त्यो समयमा बाबुराम र उनको श्रीमतीलाई रकमसहितको झोला राख्न दिने तथा आवश्यक पर्दा थोरैथोरै मागेर लैजाने गरेको भूमिगतकालको सम्झना रहेको सुनाएका उनले बताए । त्यसबेला आफूहरु आश्चर्यमा परेको भट्टराईको भनाइ छ । ओलीको त्यो सम्झना नवीकरणले आफूले टिकट पाउने सम्भावना बढेको भट्टराईले केही दिन पहिले सुनाएका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय भट्टराई २०६२÷६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचेको रकम केही समयअघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो ।

त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । भट्टराई तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) को समेत अध्यक्ष भइसकेका छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट नगर प्रमुखमा विजयी शिवराज सुवेदीले उनलाई पहिलो बैठकदेखि नै योजना निर्माणमा सामेल गराउँदै आएका थिए । मेयर टिकट नपाएपछि सुवेदीलाई भट्टराईले साथ नदिने धेरैले अनुमान गरेका थिए । त्यसको विपरीत उनलाई सुवेदीले पहिलो बैठकमै सहभागी बनाएर चुनावमा भट्टराईले गरेको योगदान नबिर्सेको बताएका थिए ।

गत निर्वाचनमा सुवेदीले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले पराजित गरेका थिए । बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजारभन्दा बढी मतदाता थपिएका छन् । थपिएका मतदाता निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ ।

गठबन्धनको तर्फबाट बुटवलका मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डे र भट्टराई दुवै स्याङजाबाट बुटवल झरेका हुन् ।

उपमेयर उम्मेदवार सावित्रा अर्याल

बुटवल ३ निवासी सावित्रा अर्याल पार्टीकी केन्द्रीय सदस्य हुन् । पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी अर्याल बुटवलमा सञ्चालित आमाहरुको विद्यालय साधन महिला विद्यालयका संस्थापक अध्यक्ष हुन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनी राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषितसमेत भइसकेकी छन् ।

२०३६ सालबाट पार्टीमा आवद्ध उनीसँग नेकपाकालमा प्रदेश कमिटी सदस्य, अनेमसंघको केन्द्रीय सदस्यलगायतको जिम्मेवारी संगालेको अनुभव छ ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । उनी २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् । २०५४ सालमा वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०६२/६३ को जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसिजबाट ‘लेडी अफ द इयर २००८’ बाट सम्मानित भएकी थिइन् ।
अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन् । बुटवलमा महिलाहरूमात्रैले स्थापना गरेको रेडियो मुक्तिकी पूर्वअध्यक्ष रहेकी उनी रेडियो मदनपोखरा, लुम्बिनी टेलिभिजन, जीवन आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षय कोषकी संस्थापक सदस्यसमेत हुन् ।

पाँचदलीय गठबन्धनबाट बुटवलमा नगर प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार घोषणा भएको अवस्थामा अर्याल उपप्रमुखमा महिला उम्मेदवार हुने भएकी छन् । नेत्रप्रसाद आचार्य र दिलकुमारी आचार्यकी छोरी अर्याल पाल्पाको कुशुमखोलामा जन्मिएकी हुन् । विष्णुप्रसाद अर्यालसँग बिहे भएपछि बुटवलमा बस्दै आएकी उनका एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर