जसपाको घोषणापत्र : हरेक वडामा ५० र नगरपालिकामा ५०० जनालाई रोजगारी (भिडिओ) – Nepal Press

जसपाको घोषणापत्र : हरेक वडामा ५० र नगरपालिकामा ५०० जनालाई रोजगारी (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ ।

जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने जनाएको छ ।

त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यमिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए । त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँ गाउँमा स्वस्थकर पिउने पानी, फोहर मैला व्यवस्थापनका विषय र विपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए ।

त्यस्तै जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुराउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनको भनाई छ ।

जसपाले मधेसी, तारु, मुस्लिम, आदिबासी जनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दुर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता जनाएको छ ।

आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर