लुम्बिनीमा कहाँ कहाँ भत्कियो सत्ता गठबन्धन ? – Nepal Press

लुम्बिनीमा कहाँ कहाँ भत्कियो सत्ता गठबन्धन ?

रुपन्देही । नेकपा एमालेविरुद्ध लुम्बिनीका १०९ पालिकाका सबै वडा तहसम्म गठबन्धन गर्ने प्रतिबद्धता जनाएका सत्तारुढ पाँच दलबीच भागबन्डा नमिल्दा सबै स्थानमा सहमति हुन सकेन । सहमति गरेका केही पालिकामा समेत एक दलले अर्को दलको नेतृत्व स्वीकार्न नसक्दा गठबन्धन भत्किएको छ ।

तराईका पालिकामा जसपाले छाड्नै नखोजेपछि गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । केही पहाडी जिल्लामा समेत पाँच दलको अलग–अलग टिम बनेको छ ।

रोल्पामा नेकपा माओवादी केन्द्रले एकल रुपमा १० वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । गठबन्धनभित्र भागबन्डा नमिलेपछि माओवादीले एकल उम्मेदवारी घोषणा गरेको हो । माओवादीले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए ।
बाँकेको नेपालगञ्जमा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डामा कांग्रेस र जसपाले सम्मानजनक अवसर नदिएको भन्दै माओवादी गठबन्धनबाट बाहिरिएको हो ।

माओवादी नगर अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गरी नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको सार्वजनिक गरेका छन् । केन्द्रीय गठबन्धनको मूल मर्मविपरीत नेपालगञ्जमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुख आफूहरुलाई राखेपछि वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावपछि माओवादीले गठबन्धनको औचित्य समाप्त भएको घोषणा गरेको हो ।

गुल्मीको धुर्कोट गाउँपालिका भागबन्डामा कांग्रेसलाई परे पनि माओवादीले नछाडेपछि विवाद केन्द्रसम्म पुगेको थियो । गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद केन्द्रसम्म पुगेको हो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा कांग्रेसका नेता महेन्द्र भण्डारीले टिकट पाउने भएका छन् । अहिले गाउँपालिका अध्यक्ष भएका पोखरेलले गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अर्घाखाँचीमा जसपा सत्ता गठबन्धनमा बसेको छैन । यहाँ सत्तारुढ चार दलले भागबन्डा गरेपछि जसपा बिच्किएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा जसपा र नेपाली कांग्रेसले अलग–अलग उम्मेदवार तय गरेका छन् । जनमोर्चाले एक्लै जित्नसक्ने प्यूठानको झिमरुक गाउँपालिकामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले उसलाई एक्लो बनाएका छन् ।

भागबन्डामा माओवादीलाई परेपछि पाल्पाको तिनाउ गाउँपालिकामा कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले सामूहिक राजीनामा दिएका छन् । गाउँ सभापति प्रेम पाण्डेले सबै वडा सभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएका बताए । उनले कांग्रेस कार्यकर्ताका हात समातेर माओवादीलाई जिताउन नसकिने र जे जति मत आउँछ सबै ठाउँमा उम्मेदवारी दिने दावी गरे ।

दाङका गढवा, राप्ती गाउँपालिकामा पनि सत्ता गठबन्धन दुई अलग समूहमा विभाजित भएको छ ।

स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १३ पालिकामा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुने भएको छ । भागबन्डा नमिलेपछि सत्ता गठबन्धनका दलहरुले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने नयाँ भाष्य निर्माण गरेका छन्  ।

एमाले तेस्रो र चौथो शक्तिका रूपमा रहेका पालिका र जिल्लामा गठबन्धन दलभित्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति बनेको नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका अनुसार बर्दियामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुनेछ ।

लुम्बिनीमा भारतसँग सीमा जोडिएका २५ स्थानीय तह छन् । सीमा जोडिएका क्षेत्रमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र कांग्रेसको प्रभाव बढी छ । धेरै स्थानमा एमाले तेस्रो र चौथो स्थानमा छ । अहिलेको गठबन्धन एमालेविरुद्ध भएको र एमालेसँग प्रतिस्पर्धा नै नभएका स्थानीय तहमा गठबन्धनभित्र भागबन्डा नगरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलले बताए ।

कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले रूपन्देहीका मर्चबारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको जानकारी दिए ।

बाँके र बर्दियामा सत्ता गठबन्धनबीच नै मित्रवत प्रतिस्पर्धा गर्ने तयारी छ । लुम्बिनीका पहाडी ६ जिल्लामा कमजोर संगठन रहेको जसपाले सम्मानजनक स्थान माग गर्दै आएको थियो । त्यसमा कांग्रेस र माओवादी सहमत नभएपछि जसपा छुट्टै जाने भएको हो ।

गठबन्धनको दलीय संयन्त्रले सबै पालिकामा भागबन्डा मिलाउन नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा हुने कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर