पोखराको मेयरसम्बन्धी निर्णय पुनर्विचार गर्न एमालेमा छलफल – Nepal Press

पोखराको मेयरसम्बन्धी निर्णय पुनर्विचार गर्न एमालेमा छलफल

काठमाडौं । पोखराको मेयरमा उम्मेदवार बनाउन लागिएका दीपक पौडेलको सन्दर्भमा स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब परेपछि एमाले अध्यक्ष केपी शर्मा ओली परामर्शमा जुटेका छन् ।

प्रदेश २ लगायत कतिपय प्रदेशका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारकै विषयमा विवाद सल्टाउनु परेकाले पोखराको बारेमा सोमबार बिहानसम्म एउटा निर्णय हुन एमाले स्रोतले जनाएको छ ।

सचिवालय बैठकले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यलाई मेयर र उपमेयरमा हालकै मन्जु गुरुङलाई टिकट दिने निर्णय गरेको थियो । तर, पोखराजस्तो देशको ठूलो र एमालेको गढ मानिएको महानगरमा उम्मेदवारी छनौट गर्दा ध्यान नदिइएको भन्दै पार्टीमा असन्तुष्टि छ ।

यसैबीचमा पौडेलको एउटा विवादस्पद सिसिटिभी फुटेजसमेत बाहिर ल्याइएपछि उम्मेदवार परिवर्तनका लागि दबाब बढेको हो । यद्यपी सो फुटेज आरोप लगाइएजस्तो नभएको र धेरै पहिलेको कुरा अहिले उम्मेदवार बन्दा बाहिर ल्याइएको एमालेको भनाइ छ ।

एउटा सिसीटिभी फुटेजमा पौडेलले गहना किन्दै गर्दा कुनै वस्तु गोजीमा राखेको जस्तो देखिन्छ । एमाले स्रोतले भने सो भिडिओको कारण भन्दा पनि हेबिवेट उम्मेदवार दिन दबाब परेकाले पार्टीले पुनः विचार गर्न लागेको बताएको छ ।

गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको तिक्ततापूर्ण गुटबन्दीको असर पोखराको उम्मेदवारी छनौटमा देखिएको नेताहरूको भनाइ छ । मेयरका लागि सबैभन्दा बलिया उम्मेदवार प्रदेशसभा सदस्य कृष्ण थापा भए पनि उनी गुटको शिकार बनेको आरोप छ ।

उनको विकल्पमा हालकै उपमेयर मन्जु गुरुङलाई मेयर र युवा नेताहरू रश्मी आचार्य वा दिलिप न्यौपानेमध्ये एकलाई उपमेयर बनाउँदा जित सहज हुने सुझाव कतिपय नेताले दिएका छन् ।

गुरुङले आफू मेयरको पनि दाबेदार नरहेको र उपमेयरमा उम्मेदवार नबन्ने बताइसकेकी छन् । यद्यपि सर्वसम्मत रुपमा पार्टी आग्रह गरे उनी मेयरको उम्मेदवार बन्न तयार छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर