ओखलढुंगाकी अस्मिता बनिन् प्रदेश १ मा एमालेबाट कान्छी उम्मेदवार, उपाध्यक्षमा मनोनयन – Nepal Press

ओखलढुंगाकी अस्मिता बनिन् प्रदेश १ मा एमालेबाट कान्छी उम्मेदवार, उपाध्यक्षमा मनोनयन

ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा आइतबार उम्मेदवारी दर्ता गराएकी अस्मिता थापा सो प्रदेशकै कान्छी उम्मेदवार बनेकी छन् ।

२६ वर्षीया थापाले यसमस्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित गएर उम्मेदवारी दर्ता गराएकी छन् । लिखुमा एमालेले अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाएको हो । एमालेका प्रदेश सचिव चिन्तन पाठकले पार्टीबाट पालिका प्रमुख र उपप्रमुखमा निर्णय भएकामध्ये थापा सबैभन्दा कम उमेरकी उम्मेदवार रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष शान्ता ढुंगेललगायत नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशकै कान्छी उम्मेदवार थापाको प्रस्ताव हालका गाउँपालिका अध्यक्षकी पत्नी यक्षकुमारी पौडेल र समर्थक प्रदेश कमिटी सदस्य लोचन बस्नेत रहेका छन् । आइतबार पहिलो दिन लिखु गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवारको मात्र उम्मेदवारी मनोनयन परेको छ ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहेकी थापा एमालेको ओखलढुंगा जिल्ला कमिटी सदस्य हुन् । पछिल्लो समय विद्यार्थी राजनीतिसँगै गाउँमा सामाजिक तथा राजनीतिक गतिबिधिमा सक्रिय रहेकी थापालाई एमालेको गाउँपालिका कमिटीले उपाध्यक्ष सिफारिस गरेको थियो ।

उम्मेदवारी दर्ता गरेपछि थापाले स्थानीय तहको पहिलो कार्यकाल नीतिगत संरचना निर्माणमा सफल भएको र अग्रज जनप्रतिनिधिले थालेका कामलाई पूर्णता दिँदै गाउँपालिकालाई कृषि र पर्यटनमैत्री बनाएर आत्मनिर्भरतातर्फ लैजान आफूहरुले पहल गर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी थापा गाउँपालिकाका विभिन्न वडामा कोभिड महामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तथा पुर्वाधार विकासमा बजेट पार्न विभिन्न मन्त्रालय र विभागमा लबिङ गर्न सक्रिय थिइन् ।

थापाले युवा महिला हुनुको नाताले समावेशी विकासको साथै महिलालाई गाउँपालिकाकै सहयोग र समन्वयमा उत्पादन तथा रोजगारीमा जोडेर आर्थिक रुपमा आत्मनिर्भर बनाउने विशेष योजना आफूसँग रहेको बताइन् ।

उनले गाउँमा अझै पनि महिलामाथि हुने विभेद र आर्थिक परनिर्भरताको अन्त्यका लागि स्थानीय सरकारले विशेष कार्यक्रम तथा उद्यमशीलताका साथै रोजगारीका अवसरमा प्राथमिकता दिन सकिने बताएकी छन् । थप विषय प्रतिबद्धतापत्रमा समेटिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर