झापा आन्दोलनका चौथो नेता मनकुमारसँगको त्यो भेट – Nepal Press
ब्लग

झापा आन्दोलनका चौथो नेता मनकुमारसँगको त्यो भेट

जसले चिनी आयातको लाइसेन्स नदिँदा मनमोहनमाथि नै हात हालेका थिए

म पूर्व मेचीको यात्रामा थिएँ । यात्राको क्रममा झापा पुगेँ । झापाको बिर्तामोड पुगेपछि सुखानी नपुग्ने कुरै भएन । सुखानी पुगेपछि एउटा नाममा चर्चा भयो, उहाँ हुनुहुन्थ्यो, झापा आन्दोलनका चौथो नेता मनकुमार तामाङ ।

सुखानीबाट पूर्व केही किलोमिटर टाढा उनको घर रहेको हामीलार्ई सहजीकरण गर्ने स्थानीय जीवन खतिवडाले बताए । मलाई लाग्यो अब उनलाई पनि भेट्न पर्छ । हामी यात्रामै रहेको बेला त्यस दिन झापाको अर्जुनधारा नगरपालिकाको वडा नं. १ मा बस्यौं ।

भोलिपल्ट बिहान अर्जुनधारा नगरपलिका वडा नं १ सिस्नेमा पुग्दा मनकुमार तामाङ जंगलबाट दाउरा बोेकेर घर फर्कँदै थिए । उनको दैनिकी यसरी नै बितिरहेको छ । दैनिक जंगल अनि घाँस, दाउरा र खेतीपाती ।

इलामको चिसापानी गाविसमा २००४ सालमा जन्मिएका थिए तामाङ । मध्यम परिवारको भए पनि पहाडमा बस्न मन नलागेपछि झापा झरेको उनले सुनाए । राजनीतिक रुपमा पञ्चको परिवार भए पनि बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए उनी । झट्ट देख्दा सोझा देखिने तामाङको छोरा मनकुमार अरुले शोषण र दमन गरेको देख्नै नसक्ने बताउँछन् । यही कारण पहाडमा परिवारसँग उनको व्यवहार मिलेन र तराई झरे । ‘तराई झरेपछि जमिनदारको खेत अधियाँ गरेर बसेँ । परिवारमा दुई छोरी एक छोरा र श्रीमती गरी पाँचजना भए पनि अहिले दुई बुढाबुढीमात्र छौं’, निराश हुँदै मनकुमारले भने, ‘छोरीहरुको विवाह भयो । बिहे गरिदिएका छोरा पनि भिन्नै बसे । अहिले बुढेसकालमा बुढाको साथी बुढी र बुढीको साथी बुढो भएका छौं ।’

परिवारिक वातावरणकै कारण राजनीतिमा लागेका उनी इलाम छँदा पञ्चहरुको किसान संघका जिल्ला सदस्य भएका थिए । २०२१ सालमा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि जमिनदारहरुले मोही हटाउन सुरु गरे । सोझासीधाहरु त लुरुक्क मोही छाड्दै पहाड फर्कंदै गरे । तर, निडर र आत्मविश्वासी मोहीहरु जमिनदारसँग स्वःस्फुर्त संघर्ष गर्नतर्फ लागे । यही संघर्ष नै झापा आन्दोलनको सुरुवाती स्वरुप भएको उनी स्पष्ट पार्छन् ।

जमिनदारहरुसँग लड्दै गर्दा ७० प्रतिशतभन्दा बढी मोहीहरुलाई छोरीबुहारी ताकेको आरोप लगाउँदै झूटा मुद्दामा फसाउन थालेपछि झापामा किसानहरु संगठित भए । मनकुमार पनि यसबाट अछुतो रहेनन् । स्वःस्फुर्त भएको किसान आन्दोलनमा उनी पनि लामबद्ध भए ।

‘सुखानी हत्याकाण्डका नाइकेलाई त्यही लगेर मारेर सहयोद्धा पाँच जनाको बदला लिने मेरो सपना २०४६ सालको जनआन्दोलनपछिको परिवर्तनले तुहाइदियो’

‘जमिनदारहरुले किसानहरुलाई झूटा मुद्दा लगाउँदै फसाउन थालेपछि झापामा किसानहरु संगठित भयौं’, उनले थपे, ‘२०२५ सालमा अघोषित रुपमा किसान संघको जन्म भए पनि संघर्षका कार्यक्रम भने केही थिएन ।’

उनका अनुसार किसान संघको स्थापनापछि किसानहरु संगठित भए । ‘२०२६ सालमा हरिराज आङ्हाम्बे लिम्बूले धान भित्र्याउन नदिँदा किसानहरु अगाडि बढेर उनको बाली भित्र्याए’, उनले भने, ‘बाली भित्र्याउन लागेका किसानहरुलाई लिम्बूले दमन गरे । अनि सुरु भयो झापा आन्दोलनको छइनछुट्टा अभियान ।’

झापा आन्दोलनको बीउ नै छइनछुट्टा अभियान भएको उनी बताउँछन् । २०२६ को मंसिरमा धान भित्र्याउँदै गर्दा आफूहरुलाई दमन गरेका लिम्बूलाई पछि किसानहरुले कारबाही गरेका थिए । ‘लिम्बूलाई कारबाही गरेपछि झापामा राज्यले पनि दमन गर्यो । फलस्वरुप तिलविक्रम ढकालको नेतृत्वमा सशस्त्र किसान समूह गठन भयो’, मनकुमारले स्मरण गरे ।
२०२७ मा गठित सशस्त्र किसान समूहका अध्यक्ष ढकाल थिए । उपाध्यक्ष राधाकृष्ण मैनाली र सचिव नरेश खरेल थिए । मनकुमारले आफू उक्त समूहको चौथो लिडर भएर संघर्ष अघि बढाएको बताउँछन् । २०२७ सालमा आफ्नै कमाण्डमा सशस्त्र आन्दोलनमार्फत जमिनदारहरुको भकारी फोरिएको उनले सुनाए ।

उसबेलाको आन्दोलनको स्मरण गर्दै उनी थप्छन्, ‘फटाहाहरुलाई सफाया गरेको स्मरण ताजै छ । नमार–नमार भन्दा पनि जनताको लडाइँमा जनताविरोधी सुराकी र फटाहाहरुलाई छाड्ने कुरै भएन । आफ्नै अगाडि किसानहरुलाई कोर्रा लगाएर मरणासन्न पार्नेहरुलाई पनि त्यही अवस्थामा सफाया गरेका थियौं ।’

नेत्र घिमिरे र रामनाथ दाहालको संगतमा नेपाल कम्युनिस्ट पार्टी नजिक पुगेको स्मरण गर्दै मनकुमार भन्छन्, ‘त्यसबेला हामी माक्र्सवाद, लेलिनवाद र माओ विचारले ओतप्रोत भई कम्युनिष्ट पार्टीमा लागेका थियौं । जनताको पक्षमा लडेका थियौं । तर, सोचे जस्तो भएन ।’

त्यसबेला लक्ष्य पूरा नभएकोमा नेताहरुप्रति आक्रोश पोख्दै उनले थपे, ‘हिजोको हाम्रो लडाइँ केही टाठाबाठा बाहुनहरुलाई मात्रै फाप्यो ।’

१७ वर्षे जेल जीवन

झापामा किसान आन्दोलनले उग्र रुप लिइरहेको बेला नेकपाका कार्यकर्ता तथा किसान आन्दोलनका अगुवाहरुलाई पञ्चायतले गिरफ्तार गर्न थाल्यो ।
मनकुमार पनि २०२९ साल फागुनको पहिलो साता झापाबाट प्रहरीको फन्दामा परे । गाउँमै किसानहरुबीच काम गरिरहेका बेला उनलाई प्रहरीले समात्यो ।

उनी समातिनुअघि नै मंसिरमा झापाकै चन्द्रगढीबाट विरेनसिं राजवंशी, चारपानेबाट रामनाथ दाहाल, पुस १३ गते गरामनीबाट नेत्र घिमिरे र माघ १ गते तोपगाछीबाट कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई प्रहरीले समातिसकेको थियो । प्रहरीले समातेका सबैलाई झापा जेलमा राखिएको थियो । झापा जेलमा क्षमताभन्दा बढी कैदी भएको बहानामा ६ जनालाई २०२९ साल फागुन २१ गते इलाम जेल सरुवा गर्ने भनियो ।

मनकुमारले आफ्ना सहयोद्धाहरुलाई सम्झे, ‘साथीहरु सबैले अब को बाँच्ने, को मर्ने केही थाहा छैन, बाँच्नेहरुले देश र जनताको पक्षमा आवाज उठाउन नछाड्ने प्रतिबद्धता गरेका थियौं । तर, जल्लादहरुले मबाहेक सबैलाई सुखानीको जंगलमा लगेर हत्या गरे । त्यो दिन म स्मरण गर्न पनि सक्दिनँ । मेरै अगाडि सबैको निर्मम हत्या गरियो । मेरो हातखुट्टामा नेल–हत्कडी लगाइएका थिए । मलाई जंजिरले बाँधेको थियो । बदलाको भावना आउँदा पनि म केही गर्न सक्ने अवस्थामा थिइँन ।’

 ‘हिजोका सहयोद्धाहरु झापा आउँदा भेटमात्रै गरे पनि खसी हुने थिएँ । तर, मलाई भेट्ने फुर्सद उनीहरुलाई के हुन्थ्यो, राज्यको सम्पत्तिमा दाइँ गर्न र ढुकुटी सक्न पल्केकाहरु ।’

सुखानी हत्याकाण्डलाई सम्झँदै उनले निरन्तर भनिरहे, ‘म पनि भित्रभित्र डराइरहेको थिएँ । म लगलग काँपिरहेको थिएँ । अब मलाई पनि मार्छन् भन्ने डरसँगै आक्रोशित थिएँ । रगत भलभल उम्लिरहेको थियो । तर, म केही गर्न सक्ने अवस्थामा थिइँन ।’

झापाबाट इलाम सरुवा गरिएका ६ जनामध्ये मनकुमारलाई मात्रै सशरीर इलाम पु¥याइएको थियो । इलाम जेलमा रहँदा आफू कसरी बाहिर निस्कने भन्ने योजनामा लागेको उनले बताए । ‘तर सोचे जस्तो भएन । मलाई इलामबाट फेरि वीरगञ्ज जेल सरुवा गरियो । यति बेला पनि मलाई मार्ने षड्यन्त्र रचिएको रहेछ तर पूरा हुन पाएन’, मनकुमारले सम्झे, ‘वीरगञ्जबाट काठमाडौंको नख्खु जेल हुँदै भद्रगोल जेलमा लगियो । २०४६ सालमा जेलमुक्त हुने बेला केन्द्रीय कारागारबाट भएँ ।’

२०२९ देखि ०४६ सालसम्म १७ वर्ष जेल बस्दा पनि आफ्नो मनमा सुखानी हत्याको बदला कसरी लिने भन्ने कुरामात्रै खेलिरहेको उनी बताउँछन् । छइनछुट्टा अभियानका आफ्ना सहयोद्धाहरुलाई आफ्नै अगाडि मार्न कसैले योजना बनाएको र ती योजनाकारको खोजीमा आफू लागिपरेको उनले बताए । तर, ०४६ सालको आन्दोलनपछिको परिवर्तनले आफ्नो खोजी पूरा नभएको उनको भनाइ छ । ‘सुखानी हत्याकाण्डका नाइकेलाई त्यही लगेर मारेर सहयोद्धा पाँच जनाको बदला लिने मेरो सपना २०४६ सालको जनआन्दोलनपछिको परिवर्तनले तुहाइदियो’, मनकुमारले निराशा पोखे ।

जेल बस्दा नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु कृष्णप्रसाद भट्टराई, ओखलढुंगेली कम्युनिष्ट आन्दोलनका अगुवा लोककृष्ण भट्टराई, झापा आन्दोलनका सहयोद्धा खड्गप्रसाद (केपी) शर्मा ओली, राधाकृण मैनाली, झलनाथ खनाल, मनमोहन अधिकारीलगायतका नेताहरु साथी जस्तो भएको उनले बताए । त्यसबेला सँगै जेल जीवन बिताएका नेताहरुले अहिले नचिन्ने गरेको उनले गुनासो गरे ।

तत्कालीन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री मनमोहन अधिकारीप्रति आक्रोश पोख्दै मनकुमारले भने, ‘२०५१ सालको निर्वाचनपछि काम माग्न जाँदा मेरो खिसी गरेपछि प्रधानमन्त्री मनमोहन अधिकारीलाई पार्टी कार्यालय बल्खुमै हात हालेको थिएँ । प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष रहेका मनमोहनलाई ‘कामरेड मलाई एउटा काम दिनुस्’ भनेको थिएँ । उहाँले ‘के काम दिन परो कामरेड ?’ भनेर सोधेका थिए । मैले मलाई नेपालमा चिनी आयात गर्न लाइसेन्स दिनुस् भनेँ । मनमोहनले मलाई बच्चालाई जस्तो जिस्काए । ‘कामरेड, ट्रकमा बालुवा हालेझैं चिनी हाल्न सकिन्न । उखु रोप्नुस्, चिनी हुन्छ’ भनेर खिल्ली उडाउँदा मलाई सारै रिस उठ्यो । त्यही कारण मैले मनमोहनलाई कार्यकक्षमै हात हालेर हिँडेको थिएँ ।’

पार्टी अध्यक्षलाई नै हात हालेका कारण तत्कालीन नेकपा एमालेका कार्यकर्ताहरुले उनलाई मार्न खोजी गरेको मनकुमार बताउँछन् । आफू भागेर १५ दिनसम्म काठमाडौं काभ्रे र सिन्धुपाल्चोकमा भूमिगत हुन परेको उनले सुनाए । ‘अखिलका रुपनारायण श्रेष्ठको टीमले मलाई सक्न खोज्दा १५ दिन भूमिगत भई झापा आएको थिएँ’, मनकुमार भन्छन्, ‘त्यसपछि मैले अब यी नेताहरु सबै काम नलाग्ने भए भनेर अड्कल गरेको थिएँ । अहिले सही साबित हुँदैछ ।’

‘मैले नेपालमा चिनी आयात गर्न लाइसेन्स दिनुस् भनेँ । मनमोहनले मलाई बच्चालाई जस्तो जिस्काए । ‘कामरेड, ट्रकमा बालुवा हालेझैं चिनी हाल्न सकिन्न । उखु रोप्नुस्, चिनी हुन्छ’ भनेर खिल्ली उडाउँदा मलाई सारै रिस उठ्यो । त्यही कारण मैले मनमोहनलाई कार्यकक्षमै हात हालेर हिँडेको थिएँ ।’

उनका अनुसार देशमा ठूलो परिवर्तन भयो तर जनताका लागि केही भएन । उनीसँगै किसान आन्दोलनमा लडेका सहयोद्धाहरु आज कोही मन्त्री भए, कोही प्रधानमन्त्री । यसमा खुसी लाग्ने भए पनि आफू घरको न घाटको हुँदा र कसैले वास्ता नगर्दा दुःख लाग्ने गरेको मनकुमारको भनाइ छ । ‘चुनाव आयो भने के छ मनकुमार कामरेड भन्दै चुनाव प्रचारमा लगाउँछन् । तर, अघि पछि चिन्दैनन्’, उनले गुनासो गरे ।

नेताहरुले आफ्नो गुनासो कहिल्यै नसुनेकोमा असन्तुष्ट मनकुमार अगाडि भन्छन्, ‘चुनावका समय चिनेर आउनेहरु अरु बेला पनि आएर सुखदुःखका कुरा गरे र मेरा समस्या बुझे हुने जस्तो लाग्छ । तर, अरु समय कसैले चिन्दैनन् मलाई । चुनावमा धर्मशीला बहिनी पनि आइन् । दाइ भन्नु भयो तर चुनावपछि उनको पनि मुख देखेको छैन ।’
धर्मशीला चापागाईंले २०६४ सालमा झापा क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचन जितेकी थिइन् । ‘माथि पुगेकाहरुले दिन केही पर्दैन । कहिलेकाहीं भेटघाटमात्रै गरे पनि चित्त बुझ्ने थियो । तर, त्योप नि छैन । मन दुख्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरु झापा आउँदा भेटमात्रै गरे पनि खसी हुने थिएँ । तर, मलाई भेट्ने फुर्सद उनीहरुलाई के हुन्थ्यो, राज्यको सम्पत्तिमा दाइँ गर्न र ढुकुटी सक्न पल्केकाहरु ।’

पछिल्लो समयका कार्यकर्ताहरु कम्युनिष्टको पार्टी सदस्यता नवीकरण गर्नुपर्यो भन्दै आउँदा रिस उठ्ने गरेको मनकुमार भनाइ छ । ‘हिजो मैले हतियार उठाउँदा नजन्मेकाहरु अहिले पार्टी सदस्यता रिन्यु गर्नुपर्यो भन्दै आँउछन् । कति न उनीहरुले नै मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिए जसरी’, उनले भने ।
हालसम्म राज्यको तर्फबाट केही नपाउँदा दुःख लाग्ने गरेको उनको गुनासो छ ।

माओवादी पनि बने मनकुमार

२०५१ मा मनमोहन अधिकारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हुँदा अधिकारीले योजनाबद्ध तरिकाले आफूलाई मार्ने षड्यन्त्र गरेपछि तत्कालीन एमालेबाट आफू विरक्तिएको उनी बताउँछन् ।

‘यदि मनमोहनका कार्यकर्ताले मलाई मार्ने षड्यन्त्र नगरेका भए, म एमालेकै सल्लाहकारसम्म भएर बस्थे होला । तर, रुपनारायणको टीमले मार्न खोज्दा म किन एमालेमै रहने भनेर बाबुराम भट्टराई र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक पुगेँ’, मनकुमारले थपे ।

तत्कालीन एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त जनमोर्चाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेर पार्टीको हरेक कार्यलाई नजिकबाट नियालेका तामाङले भने, ‘त्योबेला अब देशमा केही गर्छ भने माओवादीले गर्र्छ, अरु कसैले गर्दैन भनेर माओवादीको झापा–इलाम संयुक्त जिल्ला संयोजक बनेको थिएँ ।

पार्टीको कार्यनीति यसरी निर्माण गर्नुपर्छ भनेर भटट्राई र दाहाललाई सल्लाह दिएबमोजिम धेरै काम पनि भएको सुनाउँदै मनकुमारले सशस्त्र जनयुद्ध सुरु नहुँदै यदि पार्टीले हतियार नै उठाउने हो भने पहिले जनताविरोधी सुराकीहरुलाई सक्नुपर्ने सल्लाह दिएको स्मरण गरे । माओवादी जनयुद्धको बेला पूर्वका धरै कारबाहीहरु आफ्नो सल्लाहमा भएको र झापामा धरै कामहरु आफ्नै सल्लाहमा गरिएको उनले दावी गरे ।

‘कतिपय मान्छेहरुलाई मैले सुध्रिन सल्लाह दिएँ । तर, कुनै हालतमा नसुध्रेपछि मात्रै कारबाहीस्वरुप सफाया गरेका थियौँ’, उनले भने, ‘जनयुद्ध ०६२÷०६३ को आन्दोलनपछि सकियो । तर, जनयुद्धले पनि आम नेपालीको भने जस्तो परिवर्तन गरेन । जनयुद्ध र जनआन्दोलनमा हजारौं सहिद भए, सयौंै बेपत्ता छन् । हजारौं घाइते तथा अपांग भए । तर, हिजो जे सोचेको थियोे, त्यस्तो भएन ।’

विप्लव पनि फटाहा भइसके !

अहिले विप्लवले जनताका आँखामा छारोमात्रै हालेको मनकुमारको बुझाइ छ । पछिल्लो समय सस्तो लोकप्रियताका लागि मात्रै विभिन्न आन्दोेलन भन्ने गरेको उनको बुझाइ छ । ‘लोकप्रियताका लागि मात्रै गरिने आन्दोलनले नेपालमा केही नहुने मैले बुझेको छु’, उनले भने, ‘किनभने यी सब फटाहा भइसकेका छन् । राजनीतिक परिवर्तन जति भए पनि जनताका लागि नहुँदो रहेछ । यी नै फटाहाहरुलाई मात्रै फाइदा हुँदो रहेछ ।’

मनकुमारलाई अहिले पनि राजनीतिमा धेरै चासो छ । देशमा के भइरहेको छ भने छरछिमेकसँग छलफल गर्छन्, राजनीतिक विचारविमर्श गर्छन् । तत्कालीन एमाले र माओवादीको व्यवहार देखेभोगेका उनको निष्कर्ष छ, ‘नेपालमा साँचो कम्युनिष्ट पार्टी नै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *