सुर्खेतमा पनि तोडियो गठबन्धन, कर्णालीका अधिकांश तहमा बेमेल – Nepal Press

सुर्खेतमा पनि तोडियो गठबन्धन, कर्णालीका अधिकांश तहमा बेमेल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा पाँच दलीय गठबन्धन तोडिएको छ । नेपाली कांग्रेसले आफूहरुले मागेअनुसारको भाग नदिएको आरोप लगाउँदै माओवादी केन्द्रले नौ ओटै पालिकामा एकल प्यानलसहित आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।

माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्ण जिसी जितेन्द्रले ‘अमुक नेताको दम्भ’का कारण गठबन्धनको सम्भावना सकिएको बताए । हिजो  नेकपा माओवादी सुर्खेतका इन्चार्जले झकबहादुर मल्लले पनि गठबन्धन नहुने सम्भावना बढेको उल्लेख गरेका थिए ।

स्रोतका अनुसार नेपाली कांग्रेसले माओवादीलाई सुर्खेतमा एक पालिका पनि नदिने भनेका कारण गठबन्धन तोडिएको हो ।

कहाँकहाँ भाँडियो गठबन्धन ?

रुकुम पश्चिममा तीन पालिका माग गरेको कांग्रेसले सुर्खेतमा एक पालिका पनि नदिने भनेका कारण गठबन्धन हुने सम्भावना सकिएको छ । यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि गठबन्धन नहुने देखिएको छ । यहाँ समाजवादीलाई नगरप्रमुख दिएको भन्दै कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन् । आज त्यहाँ कांग्रेसले नगरप्रमुख लगायत सबै पदमा उम्मेदवारी दिने बताइएको छ । दैलेखको नौमुलेमा नेकपा एस र समाजवादी मिलेर जाने निर्णय भइसकेको छ ।

यस्तै, कालिकोटको तिलागुफा नगरपालिकामा पनि कांग्रेसले उम्मेदवारी दर्ता गरिसकेको छ भने सुर्खेतमा नेपाली कांग्रेस भित्रै गुटबन्दी चर्किएको छ । कांग्रेसको आन्तरिक विवादले सुर्खेत कंँग्रेस दुई चिरा भएको हो ।

‘हामीसँग संस्थापन पक्षले हालसम्म कुनै पनि छलफल गरेको छैन । हाम्रो माग चालिस प्रतिशत नेतृत्व नै हो’, काँग्रेस नेता नारायण कोइरालाले भने, ‘त्यो नभएसम्म सहमति हुँदैन ।’

यता, नेकपा एसले पनि एक्लाएक्लै चुनावमा होमिने तयारी गरेको छ । र जिल्ला अध्यक्ष मोहन बडुवालले सुर्खेतमा गठबन्धन नबनेको बताउँदै आफूहरु एक्लै चुनावमा होमिन लागेको बताए । ‘गठबन्धन नै नबनेपछि के तोडियो भन्नु, के गठबनधन भयो भन्नु र ?’ उनी भन्छन्, ‘हामी एक्ला एक्लै चुनावमा होमिँदैछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर