खोर्सानेखापवासीको ‘पीरो गुनासो’: लौरे बनेर नेतालाई खोला तार्यौं, तर पुल बनेन – Nepal Press

खोर्सानेखापवासीको ‘पीरो गुनासो’: लौरे बनेर नेतालाई खोला तार्यौं, तर पुल बनेन

इटहरी । खोर्सानी पीरोको बिम्ब हो । यस्तै खोर्सानी जोडिएको इटहरीको एक ग्रामीण क्षेत्र हो खोर्सानेखाप । खोर्सानी जस्तै पीरो छ, खोर्सानेखापवासीको दैनिकी ।
तीनतिर खोला र एकतिर जंगलले घेरिएको इटहरी ३ खोर्सानेखापवासी सधैँ समस्यामा छन् । उनीहरुलाई इटहरी बजार आउन एक सय रुपैयाँ भाडा लाग्छ । यो भाडा धरानबाट विराटनगर बस यात्रा बराबरको हो ।

पाइपको पानी खोर्सानेखाप अहिलेसम्म पुगेको छैन । स्थानीयले कल र बोरिङ गाडेर पानी खाँदै आएका छन् । खोर्सानेखापलाई इटहरी उपमहानगरको ‘कणाली’ भनेर चिनिन्छ । तर, इटहरी जनसंख्या र आन्तरिक आम्दानीको कोणमा प्रदेश १ कै सबैभन्दा ठूलो उपमहानगर हो । वार्षिक दुई अर्ब हाराहारीको बजेट चलाउँदै आएको छ इटहरीले ।

खोर्सानेखापलाई इटहरी बजारसँग जोडिन सखुवा चौक, तामाङ टोल, तालतलैया हुँदै दश किलोमिटर हाराहारी यात्रा गर्नुपर्छ । सखुवा चोक पुग्नु अगाडि सेहरा खोला छ । खोलामा सवारी गुड्न सक्ने पुल छैन । सामान्य अवस्थामा गाडीहरु गुड्छन् । तर, वर्षात्को समय बाढी आउँदा सवारी जान सक्दैन । अनि खेर्सानेखाप बाहिरी दुनियाँसग सडक सञ्जालबाट अलग हुन्छ । यो पीरो नियति खोर्सानेखापका स्थानीयको वर्षौंदेखिको हो ।

यस्तै पीरो अनुभव छ खोर्सानेखापमा २०४५ माघ १६ गते रामकुमार धिमालसँग विवाह गरेर आएकी फूलकुमारी धिमालको । नजिकैको बुद्ध चौककी फूलकुमारी बिहे गरेर खोर्सानेखाप जान तयार थिइनन् । कारण थियो अविकास । प्रकृतिले ठगेको खोर्सानेखापमा पूर्वाधारको अभाव थियो । उनले नचाहँदैमा विवाह रोकिने कुरा भएन । उनी खोर्सानेखाप जान बाध्य भइन् ।

अहिले ५० वर्ष पुगेकी फूलकुमारीले आफ्नो विवाह सम्झँदै भनिन्, ‘किस्मतले ठग्दा बाउआमाले जहाँ दिन्छन्, त्यही जानुपर्यो ।’

३४ वर्षअघि फूलकुमारीले बिहे गर्दा खोर्सानेखापमा पक्की बाटो थिएन । घरहरु स–साना थिए । बिजुली थिएन । खोर्सानेखाप पुग्ने झोलुङ्ले पुल पनि थिएन । त्योभन्दा ठूलो समस्या हात्तीको आतंक थियो । ‘यो ठाउँ भएर हात्तीहरु लस्करै हिँड्थे’, फूलकुमारी विगत सम्झन्छन्, ‘घरहरु भत्काउने डर हुन्थ्यो । कति भत्किए ।’

२०४५ सालताका गाउँमा पस्ने हाँत्ती अहिले देखिन छोडेको छ । बाढीले सताउन भने अहिले पनि छोडेको छैन । ‘दुई पटक त बाढीले घर घेरेको थियो । भाग्यले बाँचियो’, उनले भनिन् । यसबीच फूलकुमारीका चार छोराछोरी र ६ नातिनातिना भइसके । उनको आफ्नो सात कट्ठा जग्गा छ । बाढी आउँदा ज्यान जोगिए पनि जग्गा जोगाउन गाह्रो भएको उनी सुनाउँछिन् । ‘बाढी आएपछि बालुवै बालुवाले पुर्दिन्छ । सफा गर्न धेरै लाग्छ’, उनले दुःख बिसाइन् ।

२०५० सालमा खोर्सानेखाप आएका ७५ वर्षीय विष्णुराज राईको अनुभव फूलकुमारीभन्दा फरक छैन । ६ कट्ठा हाराहारी जग्गामा कमाई गर्ने विष्णुराजको खेतमा धेरैपटक बुढी खोलाले झम्टेको छ । बाली फल्ने खेतमा बालुवा भरिएको छ ।

धनकुटा आँखीसल्लाबाट इटहरी आएका विष्णुराजका अनुसार खोर्सानेखापको बाढीपछिको मुख्य समस्या बाटो हो । ‘गाडी गुड्ने पुल बनाए धेरै राम्रो हुन्थ्यो । अहिलेसम्म कसैले बनाएनन्’, उनको गुनासो थियो । ५६ घर र झन्डै २०० मतदाता रहेको खोर्सानेखापमा पार्टीका ठूला नेता नहुँदा समस्या भएको उनी सुनाउँछन् ।

‘विकास ठूला नेता भएका ठाउँमा मात्रै हुँदोरहेछ’, विष्णुराजले भने, ‘खोर्सानेखापमा पहिले बाटो थिएन । अहिले बाटो बन्यो । बिजुली आयो । सामान्य झोलुङ्गे पुल बनेको छ । तर, हुनुपर्ने जति विकास भएको छैन ।’

उनका अनुसार नेताहरुले हरेक चुनावमा भोट पाउन बाटो पिच गर्ने र मोटर गुड्ने पुल बन्ने आश्वासन दिन छाडेनन् । तर अहिलेसम्म न बाटो पिच भयो न त खोला तर्न पक्की पुल नै बन्यो ।

रामेछापको तत्कालीन धोबी गाउँबाट विराटनगरको रघुपति जुट मिल्समा जागिर गरेका सन्तबहादुर मगर २०५१ सालमा इटहरीको खोर्सानेखापमा आएका थिए । ६६ वर्षीय सन्तबहादुर खोर्सानेखापमा राम्रो नेता नहुँदा विकास पनि राम्रो नभएको सुनाउँछन् ।

खोर्सानेखापमा अझै पनि आधारभूत विद्यालयसम्म खुलेको छैन । ‘बाल केन्द्र छ । सिंहबाहिनी आधारभूत विद्यालयमा पुग्न स–साना नानीबाबुले खोला तर्नुपर्छ’, उनले भने, ‘अटोमा इटहरी जानुपर्छ । धेरै महंगो पर्छ । सार्वजनिक गाडी चलाइदिए गाँउका मान्छेले धेरै सुविस्ता पाउँथे ।’

आफैले कल गाडेर खानेपानी समस्या हल गरिएको भन्दै उनले यातायातले गर्दा आफूहरु कर्णालीवासीभन्दा पछाडि रहेको बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर