ज्येष्ठ नागरिकले सधैं सम्झिरहने एक नेता
सम्पत्तिका नाममा सानो एउटा घर छ । अनि घर वरिपरि थोरै जमिन । सन्तान भए पनि नभएको अनुभूति छ उनीहरूलाई । सधैंभरि दुई छाक खानलाई बनीबुतो गरेर खानुपर्ने बाध्यता छ । न साथमा सन्तान, न त सम्पत्ति । त्यसमाथि हिँडडुल गर्न र बनीबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । यही अवस्था छ, ग्रामीण भेगमा रहेका ज्येष्ठ नागरिकहरूको ।
झापाको अर्जुनधारा नगरपालिका– २ सहकालेका ९० वर्षीय हेमकुमार तामाङको वास्तविक अवस्था पनि यही हो । आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरू बिताइरहेका छन् तामाङ र उनकी श्रीमती मनकला तामाङ । बुढेसकालमा सरकारले दिने भत्ता आफनो सहर बनेको उनी बताउँछन् । उनी भन्छन्, ‘मनमोहनले हामीलाई बाँच्ने आधार बनाइदिए ।’
सहकालेकै ८७ वर्षीया मसिनी कार्की डोलीको पनि अवस्था उस्तै छ । उनी पनि घरमा आफन्तबाहेक एक्लै दिन बिताइरहेकी छन् । उनी सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेको दिन निकै खुसी हुन्छिन् । पाँच वर्षअघि श्रीमान् बितेपछि सानो छाप्रोमा उनले एक्लै जीवन बिताइरहेका छन् । उनी सरकारले दिने वृद्ध भत्ताको रकम फारु गरेर खर्च गर्छिन् । ‘मनमोहनले दिएको भत्ता अर्काेपटक नआउँदासम्म राखिरहन्छु’, उनले भनिन् । तर, उनको गुनासो छ, ‘पहिले घरघरमा ल्याइदिन्थे । अहिले बैंकमा जानुपर्छ, अलि समस्यै हुन्छ । वृद्धभत्ताबाहेक सन्तानविहीन उनको आम्दानीको अन्य कुनै स्रोत छैन ।’
यस्तै झापाकै भद्रपुर ५ शान्ति टोलका भूमिहीन शङ्कर माझीको जीवन जिउने आधार पनि त्यही सामाजिक सुरक्षा भत्ता रहेको छ । ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै सरकारले दिने वृद्ध भत्ता बनेको उनको भनाइ छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ९ की विष्णुमाया खड्काको श्रीमान् बितेको २५ वर्ष भयो । घर खर्च, औषधोपचार र चाडपर्वमा नातिनातिनीलाई दक्षिणा वृद्ध भत्ताबापत पाइने रकमबाट पूर्ति हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘काम गर्न सकुञ्जेल आफैंले दुःख गरेर खाएँ । अहिले काम गर्न सक्दिनँ । मनमोहनले दिन सुरु गरेको पैसाले पेट पालेकी छु ।’
ओखलढुंगाकै लिखु गाउँपालिका ६ की भमाया सार्की सन्तान भएर पनि असहाय भएकी छन् । अहिले उनी सानो छाप्रोमा एक्लै बस्छिन् । १५–२० वर्षअघि श्रीमानले पनि कान्छी लिएर हिँडेपछि उनी अहिले बेसहरा भएकी छन् । ‘छोराछोरी भए पनि अहिले मेरो सहारा मनमोहन प्रधानमन्त्री भएको बेला दिएको भत्ता भएको छ’, उनले भनिन्, ‘छोराछोरी जन्मे हुर्के । तर, अहिले सबै दरदिशा लागे, के गर्नु ? यो भत्ता नभएको भए कसरी बाँच्नु थियो र ?’
झापाका तामाङ, माझी र कार्की डोली अनि ओखलढुंगाका सार्की र खड्का त केही प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुमात्र नभएर भत्ता पाउने धेरै ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता भएको छ । त्यही मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा दिन सुरु गरिएको भत्ताले नै आफूहरुलाई साँझ–बिहान खाने गाँस र बिरामी पर्दा औषधोपचार गर्ने खर्च पुगेको उनीहरू बताउँछन् ।
सामाजिक सुरक्षा भत्ता लिने अधिकांश ज्येष्ठ नागरिकहरुले ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारले दिन सुरु गरेका कारण अधिकारीको नाम नै लिने गरेका छन् ।
समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाए पनि सरकारले दिएको सामाजिक सुरक्षा भत्ता आफूहरूको गुजारा चलाउने माध्यम बनेको उनीहरुको भनाइ छ । भएका छोराबुहारी र छोरीज्वाइँले हेंला गरेकाले अलग्गै बसेका वृद्धवद्धाहरु आफ्नो गुजारा वृद्ध भत्ताको रकमबाटै चलाएको बताउँछन् । उनीहरु भन्छन्, ‘सन्तानबाट दुःख भोग्नुपरे पनि ०५१ मा प्रधानमन्त्री भएका मनमोहन अधिकारीले वृद्ध भत्ताको व्यवस्था नगरेको भए अहिले हामीलाई छोराछोरीले कति हेप्थे होलान् ?’
वृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ । संघीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षा भत्ता सचिवले वडा कार्यालय अथवा टोल–टोल पुगेर वितरण गर्ने गरेको सम्झँदै संघीयता कार्यान्वयनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ । कतिपयले बोकाएर बैंकसम्म पुग्नु पर्ने बाध्यताले आधा रकम ज्याला तथा गाडी भाडामै सकिने गरेको गुनासो गरे ।
भत्ता बुझ्न बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको जनप्रतिनिधिहरुको भनाइ छ । सरकारले दिएको भत्ता वृद्धवृद्धाको जिउने आधार त बनेको छ । तर, बैंकसम्म धाउनुपर्दा आफूहरूलाई निकै दुःख हुने गरेको उनीहरू बताउँछन् ।
पहिले घरघरमा आएर दिइने भए पनि अहिले बैंकसम्म पुग्नुपर्दा धेरैले गुनासो गरेको लिखु गाउँपालिका– ६ का वडा अध्यक्ष टीकाराम मगरले बताए ।
सरकारले सम्बन्धित स्थानीय तहको वडा कार्यालय वा घरआँगनमै वितरण गर्ने व्यवस्था मिलाइदिए ज्येष्ठ नागरिकहरुलार्ई धेरै राहत हुने उनको भनाइ छ ।