दमकमा चुनावी चमक- हारको ह्याट्रिक गरिसकेका राम थापालाई गठबन्धनको टेको – Nepal Press

दमकमा चुनावी चमक- हारको ह्याट्रिक गरिसकेका राम थापालाई गठबन्धनको टेको

ससुरासँग हारेको ३६ वर्षपछि बुहारीसँग भिड्दै, सधैं उठ्ने तर नजित्ने नियति

झापा । नेकपा एमालेविरुद्ध देशभर पाँचदलीय गठबन्धन भए पनि केपी ओलीको गृहनगर दमकमा भने ६ दलीय महागठबन्धन बनेको छ । राप्रपालाई मेयर दिएर महागठबन्धन चुनावमा हेलिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको चुनाव यसपटक झनै रोचक र पेचिलो बनेको छ । गत निर्वाचनभन्दा यो निर्वाचन यसकारण पनि बढी पेचिलो भएको छ कि दमकको दोस्रो शक्ति राप्रपा सत्ता गठबन्धनसँग प्रमुख पद लिएर मिलेको छ ।

एमालेबाट हालकी उपमेयर एवं केन्द्रीय सदस्य गीता अधिकारी प्रमुख पदमा प्रतिस्पर्धामा छिन् भने गठबन्धनबाट राम थापा उम्मेदवार बनेका छन् । अधिकारी पहिलो पटक प्रमुख पदमा निर्वाचन लड्दैछिन् भने थापा हरेक चुनावका सदाबहार मेयरका उम्मेदवार हुन् ।

थापा चुनाव लड्ने तर नजित्ने उम्मेदवारको रुपमा दमकमा दरिएका छन् । २०६१ मा राजा ज्ञानेन्द्रको पालामा मनोनीत मेयर भएकोबाहेक उनीसँग जीतको विगत छैन । तर, उम्मेदवार नभएको चुनाव पनि छैन ।

‘व्यक्तिगत मतको एउटा सानो क्लस्टर देखाएर स्थानीय चुनावमा सधैं उम्मेदवार हुने उहाँको बानी नै हो’, थापासँग संगत गरेका एक कांग्रेसका नेता भन्छन्, ‘चुनाव उठ्नु तर नजित्नु उहाँको नियती नै हो । यो पटकको चुनाव सायद उहाँको अन्तिम होला ।’

राजनीति गर्नेहरुले जीतको इतिहास बनाउँछन् । तर, थापाले अहिलेसम्म हारको इतिहास बनाएका छन् । यो चुनाव पनि हारे भने यो उनको चौथो हार हुनेछ । यसपालि उनको अन्तिम हार हुने र राजनीतिबाट संन्यासको घोषणा गर्न सक्ने उनी निकटहरु बताउँछन् ।

थापाको हारको लामो इतिहास छ । २०४३ सालमा तत्कालीन दमक नगर पञ्चायतको प्रधानपञ्चको निर्वाचनमा उनी बलभद्र अधिकारीसँग हारेका थिए । अधिकारी परिवारसँग सुरु भएको उनको हारको श्रृंखला तिनै बलभद्रकी भतिजी बुहारी गीता अधिकारीसम्म आइपुगेको छ । उनको उम्मेदवारीबारे राप्रपा दमकमै पनि असन्तुष्टि छ ।

‘३७ वर्षसम्म एउटै मान्छे एउटा पदमा निरन्तर उम्मेदवार हुने कस्तो राजनीतिक संस्कार हो’, राप्रपा दमकका एक नेता भन्छन्, ‘राम थापालाई नेता मान्दा मान्दा हामी नै जीवनको उत्तराद्र्धमा आइसक्यौं । तर, सधैं उहाँलाई बोक्दा प्रमुख पदमा दाबी पनि गर्न पाएनौं ।’

प्रधानपञ्चमा चुनाव हारेका थापा बहुदल स्थापनापछिको निर्वाचनमा फेरि वडा अध्यक्षमा झरे । तत्कालीन १२ नं वडाबाट अध्यक्ष भए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी फेरि मेयरको उम्मेदवार बने । एमालेका रोमनाथ ओलीसँग पराजित भए । त्यसबेला उनी ९ सय मतले पराजित भए ।

२० वर्षपछि २०७४ मा भएको निर्वाचनमा संयोगले उनै ओली र थापा आमनेसामने भए । त्यसबेला थापा २७ सय मतले पराजित भए । यसबाट के पुष्टि हुन्छ भने २५ वर्षमा थापाको लोकप्रियता तीन गुणाले घट्यो । तर, थापा थाकेनन् । उनले यसपालि पनि एमालेसँग मेयर मागेका थिए । एमालेले नदिएपछि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

दमकमा यसपालि राप्रपाको एउटा खेमा एमालेसँग चुनावी तालमेल गर्न चाहन्थ्यो । राम थापापछिका नेता भीम पौडेल उपमेयर भएर जान चाहन्थे । यस विषयमा एमाले अध्यक्ष ओलीसँग उनले एक–दुई राउण्ड वार्ता पनि गरेका थिए । सूर्य चिन्हमा उपमेयर लिएर चुनाव लड्ने करिब तयारी अवस्थामा पुगेपछि यो कुरा बाहिरियो । त्यसपछि गठबन्धन दलले राम थापाको महत्वाकांक्षामा थप मलजल गरेर आफूलाई पाखा लगाएको गुनासो पौडेलले गर्ने गरेका छन् ।

थापालाई मेयरको उम्मेदवार बनाएकोमा माओवादी र कांग्रेसको ठूलो तप्का असन्तुष्ट छ । माओवादीबाट मेयरका महत्वाकांक्षी उम्मेदवार गगन पुरीलाई रोक्न जिल्ला पार्टीले गठबन्धनभन्दा बाहिरको राप्रपालाई सघाउने निर्णय लियो । जबकि केन्द्रमा भएको सहमतिअनुसार गठबन्धनबाहिरका दलसँग तालमेल गर्न नपाइने थियो । गठबन्धनमा माओवादीको भागमा दमकको प्रमुख राखिएको थियो ।

माओवादीका एक नेताले भने, ‘माओवादीका जिल्ला नेताको रणनीति पुरीलाई फकाउन दिए जस्तो पनि गर्ने तर अन्तिममा राप्रपा देखाएर रोक्ने नीति थियो । त्यो सफल भयो । गगन माओवादीभित्रका राम थापा हुन् । त्यसैले उनलाई पाखा नलगाएसम्म दमकको नेतृत्व विकास सम्भव छैन ।’

राप्रपामा कट्टर राजावादी खेमाको नेतृत्व गरेका राजेन्द्र लिङ्देन समूहका नेता थापालाई मत हाल्न माओवादीलाई सहज हुने छैन । भूमिगतकालमा राजा हटाउन हिँडेको अभियोगमा जेल परेका र बेपत्ता भएका परिवारहरु दमकमा धेरै छन् । उनीहरु आफ्नै पार्टीले राजावादी एजेण्डाका पात्रलाई बोकेको भनेर असन्तुष्ट छन् ।

२०७४ को चुनावमा चौथो पार्टी भएको कांग्रेसले मेयरमा त आफ्नो दाबी राख्नै सकेन । अघिल्लो पटक उपमेयरकी उम्मेदवार रेगिना भट्टराई प्रसाईं नै यसपालि उममेयर उम्मेदवार भएकी छिन् । अघिल्लो पटक एमालेकी गीता अधिकारीसँग करिब ३८ सय भोटले पराजित रेगिनालाई यसपालि पनि आफ्नै पार्टीका भोटले हराउने चिन्ता छ ।

रेगिनाका श्रीमान प्रकाश दमक कांग्रेसका सभापति हुन् । उनी एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका नयाँ कांग्रेस हुन् । तर श्रीमानश्रीमतीकै राजनीतिक उचाइ बढ्दै गएको डाह दमक कांग्रेसमा अचम्मले चुलिएको छ । त्यसैले विगतको कांग्रेस संस्थापन रेगिनालाई कुनै पनि हालतले रोक्न चाहन्छ । अघिल्लो पटक पनि उक्त समूहको ठूलो मत गीता अधिकारीले पाएकी थिइन् ।

को हुन् गीता अधिकारी ?

दमकमा राम थापा जति परिचित छन्, गीता अधिकारीले ५ वर्ष उपमेयर भएर आफूलाई स्थापित गरेकी छन् । हुन त प्राध्यापन पेशामै रहेका बेला पनि उनी यहाँको स्थापित र बौद्धिक महिला हुन् । उनले पढाएका विद्यार्थीहरु नै धेरै छन् दमकमा ।

अघिल्लो चुनावमा उनी उपमेयरको दाबेदार नै थिइनन् । तर अध्यक्ष केपी ओलीले उनलाई उपप्राध्यापकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाए । उनले मेयरका उम्मेदवारभन्दा बढी भोट ल्याएर चुनाव जितिन् ।

उपमेयरको रुपमा उनले गरेको कामले विगतको भन्दा उनको प्रभाव अवश्य बढेको छ । त्यसमाथि एमाले अध्यक्ष ओलीको गृहनगर र ओलीले नै अघि बढाएको महिला नेता भएकाले यहाँको विकास निर्माणको कामका लागि पनि गीतामाथि मतदाताको भरोसा हुनसक्छ ।

एमालेबाहिरको तटस्थ मतसमेत तान्न गीता अधिकारी बलियो उम्मेदवार हुन् । यद्यपि दमकको दोस्रो शक्ति राप्रपालाई तेस्रो र चौथो शक्ति माओवादी तथा कांग्रेसले साथ दिएकाले चुनौती भने निकै देखिन्छ ।

ससुरासँग चुनाव लडेर मेयर हार्न सुरु गरेका राम थापाले भतिजी बुहारीसँगको प्रतिस्पर्धामा कस्तो परिणाम ल्याउलान् ? अझै केही दिन चुनावी माहोल हेरेपछि मात्र आँकलन गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर