आर्थिक संकट आउनुमा ओली सरकार र गभर्नर अधिकारी दाेषी : गुरुङ – Nepal Press

आर्थिक संकट आउनुमा ओली सरकार र गभर्नर अधिकारी दाेषी : गुरुङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् ।

उनले एमाले अध्यक्ष ओली नेतृत्वकाे सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताएका हुन् ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेकोसमेत बताए । नेता गुरुङले अहिले देखापरेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताए ।

‘पार्टी सरकारको पक्षमा छ, सरकारले गरेको निर्णयमा पार्टीको समर्थन छ । कारबाही गर्ने समय र परिस्थितिबारे त सरकारले अवश्य पनि सोचेरै गरेको होला, त्यो सरकारले मूल्यांकन गरेको होला’, गुरुङले भने ।

उनले वित्तीय एकाधिकार दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताए । कृषिलगायतका राष्ट्रिय उद्योग विस्तार हुनुको साटो वित्तीय एकाधिकार पूँजीमा भर पर्नुपर्ने अवस्था देशमा सिर्जना भएको गुरुङले बताए । परनिर्भर न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको उनकाे भनाइ छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा बाहिरबाट आएकाले राष्ट्र बैंकमा डलर जम्मा नभएको बताए । “विगतकाे सरकारका गलत नीतिको परिणामस्वरुप अहिले अर्थतन्त्रमा संकट देखा परेको हो । यो रातारात पैदा भएको संकट होइन’, गुरुङले भने, ‘राष्ट्र बैंकको नेतृत्वले वित्तीय नीतिलाई ठीकसँग लागू गर्न नसकेको र वित्तीय अर्थतन्त्रलाई सुधार गर्ने दिशातिर लागेन । “गभर्नरको सोच र विचारमा समस्या पक्कै पनि पर्यो । यसले राष्ट्र बैंकको नेतृत्वबारे सरकारले सोच्नुपर्ने त देखिन्छ ।’

गुरुङले अन्तरिम आदेश दिँदा पनि स्वार्थ जोडिएका न्यायाधीशले मुद्धा हेरिएकोसमेत बताए ।

गुरुङले एमाले प्रतिगामी र पश्चिगामी शक्ति भएकाले वामपन्थीहरुबीच चुनावी तालमेल हुन नसकेको औंल्याए । जनताको लामाे संघर्षबाट प्राप्त उपलब्धिको रक्षा पश्चगामीभन्दा यथास्थितिवादबाटै हुने देखिएकाले कांग्रेससँग चुनावी तालमेल भएको उनकाे भनाइ छ ।

पश्चिमा शक्ति केन्द्रहरुले नेपाललाई युक्रेनजस्तो बनाउन खोजेको भन्दै गुरुङले देशको स्वाधीनतालाई ध्यान दिएर पाँच दलबीच गठबन्धन भएको बताए । ‘राज्यका अंगहरुको भताभुङ्ग बनाउने र जबरजस्त संकटग्रस्त पारेर विदेशी सेना ल्याउने चाहना छ, एमालेको नेतृत्वले देशमा अस्थिरता निम्त्याउन चाहन्छ । स्थानीय तहमा यही सोच र प्रवृत्ति जिते फेरि पनि राष्ट्रिय सुरक्षामा संकट पैदा हुन्छ’, गुरुङले भने, ‘नेपालको रक्षाको लागि पनि पाँच दलीय गठबन्धनलाई भोट दिनुपर्छ ।’

गठबन्धनको निर्णयविपरीत उम्मेदवारी परेका ठाउँ उम्मेदवारी फिर्ता लिने बेलासम्म समस्या हल हुने बताउँदै उनले यदि त्यो पनि नभए गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा हुने सुनाए ।


प्रतिक्रिया

One thought on “आर्थिक संकट आउनुमा ओली सरकार र गभर्नर अधिकारी दाेषी : गुरुङ

  1. एमसिसिकाे चर्काे विराेध, संसदकाे बैठकमा पेशै नगर्न् सभामुखलाई लेखेकाे पत्र, पछि बैठमा पक्षमा भाेट त्यसपछि चुपचाप । के लाभ लिन विराेध ? के पाएर चुपचाप ? एमसिसिलमई कमाउने भाँडाे बनाउनेले फुर्ति लगाउने ? ४० कराेडकाे मामला हाे । देखिएका शाह तर पैसा माओवादीका नेताकाे जस्ताे छ । यिनकाे पनि हाे जस्ताे छ विराेधकाे स्तर हेर्दा त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर