वागमतीका दुई तिहाई पालिकामा एमालेविरुद्ध पूर्ण र आंशिक गठबन्धन (सूचीसहित) – Nepal Press

वागमतीका दुई तिहाई पालिकामा एमालेविरुद्ध पूर्ण र आंशिक गठबन्धन (सूचीसहित)

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन दलहरूको तालमेल वागमती प्रदेशका बहुसंख्यक स्थानीय तहमा सम्भव देखिएको छ । प्रदेशका एक सय १९ स्थानीय तहमध्ये ७४ स्थानीय तहमा गठबन्धन दलका प्रमुख तीनपार्टीहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी(एस) बीचमा तालमेल सम्भव भएको छ ।

बाँकी ४५ मध्ये अधिकांश स्थानमा कांग्रेस एक्लै लडेको छ, भने त्यसमध्येको अधिकांश ठाउँमा माओवादी केन्द्र र नेकपा एसबीचमा तालमेल भएको छ । आंशिक स्थानमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

जिल्लागत तालमेल र २०७४ को नतिजाको अवस्था

धादिङ : एमालेको निकै शक्तिशाली उपस्थिति रहेको यो जिल्लाका १३ वटै तहमा सत्तारूढ गठबन्धनका तीनदलले पूर्ण रूपमा तालमेल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ३ र नेकपा एसले दुई स्थानीय तहको नेतृत्व लिएका छन् ।

कांग्रेसले निलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र थाक्रे गाउँपालिकाको नेतृत्व पाएको छ ।

यस्तै माओवादी केन्द्रले रुवीभ्याली, बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको नेतृत्व लिदाँ धुनीवेँशी नगरपालिका र गल्छी गाउँपालिकाको नेतृत्व एसले लिएको छ ।

यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रले बेनीघाट रोराङ गाउँपालिका जितेको थियो भने, रुवीभ्याली राप्रपाले जितेको थियो ।

खनियाँबास, गंगाजमुना, ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिका सहित ४ वटा कांग्रेसले जितेको थियो भने त्रिपुरासुन्दरी, गल्छी, नेत्रावती, सिद्धिलेक, गजुरी, थाक्रे गाउँपालिका र धुनिवेशी नगरपालिकागरि ७ स्थानीय तहमा एमालेले जितेको थियो ।

चितवन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा अघिल्लो निर्वाचनदेखि नै ठूलै चर्चा हुँदै आएको छ । ७ स्थानीय तह रहेको यहि चर्चित जिल्लामा यसपटक पनि विवादै-विवादबीचमा सत्तारूढ गठबन्धन दलबीच तालमेल भएको छ ।

कांग्रेसको सहयोगमा माओवादी केन्द्रले जितेको भरतपुर महानगरपालिका र माडी नगरपालिका माओवादीको भागमा परेको छ भने, राप्ती नगरपालिका नेकपा एसलाई दिइएको छ ।

बाँकी रहेका इच्छाकामना गाउँपालिकासहित कालिका, रत्ननगर र खैरहनी कांग्रेसले पाएको छ ।

यहाँ अघिल्लो पटक इच्छानगरमा मात्रै कांग्रेसले जित्दा राप्ती, कालिका, रत्ननगर र खैरहनीमा एमालेले जितेको थियो ।

मकवानपुर: १० स्थानीय तह रहेको बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा पनि सत्तारूढ तीनदलबीचमा पूर्ण तालमेल भएको छ । भागबण्डाअनुसार हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका नेकपा एसलाई दिइएको छ भने, वागमती, भीमफेदी गाउँपालिका र थाहा नगरपालिका माओवादी केन्द्रलाई दिइएको छ ।

बाँकी ५ वटा तहहरू कांग्रेसलाई दिइएको छ । जसमा मकवानपुरगढी, मनहरि, राक्सिराङ, कैलास र बकैया गाउँपालिका कांग्रेसको हिस्सा लागेको छ ।

२०७४ को निर्वाचनमा इन्द्रसरोवर, कैलाश, फिमफेदी, मकवानपुरगढी, मनहरी, हेटौंडामा एमालेले जितेको थियो भने, माओवादी केन्द्रले कांग्रेसको सहयोगमा थाहा नगरपालिका र बागमती गाउँपालिका जितेका थिए ।

यस्तै बकैया, रक्सिराङ गाउँपालिका कांग्रेसले जितेको थियो ।

काभ्रेपलाञ्चोक: १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा पनि सबै स्थानीय तहमा सत्तारूढ गठबन्धन दलकाबीचमा तालमेल भएको छ ।

जसअनुसार कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा तेमाल, बेथानचोक, रोशी गाउँपालिकासहित ७ पालिका पाएको छ भने, माओवादी केन्द्रले खानीखोला, चौरदेउराली, भुम्लु र महाभारत गाउँपालिकागरी ४ वटा पाएको छ । धुलिखेल र मण्डनदेउपुर नगरपालिका नेकपा एसले पाएको छ ।

यसअघि २०७४ को निर्वाचनमा महाभारत र चौरीपोखरी गाउँपालिका माओवादी केन्द्रले जित्दा, एमालेले धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र भुम्लु तथा खानीखोला गाउँपालिकासहित ६ स्थानीय तह जितेको थियो । कांग्रेसले पाँचखाल नगरपालिकासहित तेमाल, बेथानचोक र रोशी गाउँपालिका जितेको थियो ।

दोलखा: सत्तारूढ गठबन्धनका तीनदलले दोलखाका ९ वटै स्थानीय तहमा तालमेलका लागि आधिकारिक निर्णय गरेका थिए । तर जिल्लाको वैत्तेश्वर र शैलुङ गाउँपालिकामा भने त्यो निर्णय भाँडिएको छ । त्यहाँ माओवादी केन्द्र र नेकपा एसले छुट्टै लड्ने निर्णय गरेपछि कांग्रेस एक्लै लड्ने भएको छ ।

शैलुङमा पनि नेकपा एसले उम्मेदवारी दिएको छ ।

बाँकी ७ वटामा भने तालमेलअनुसार नै मनोनयन दर्ता भएको छ । जसमा तालमेलअनुसार जिरी नगरपालिका, कालिञ्चोक र भीमेश्वरको नेतृत्व कांग्रेसले पाएको छ भने, नेकपा एसले तामाकोसी र मेलुङमा नेतृत्व पाएको छ । यस्तै माओवादी केन्द्रले विगु, शैलुङ र गौरिशंकर पाएको छ ।

अघिल्लो निर्वाचनमा एमालेले कालिञ्चोक, गौरिशंकर, जिरी, तामाकोसी, भीमेश्वर, मेलुङ र शैलुङमा जितेको थियो भने, माओवादी केन्द्रसँगको तालमेलमा वैत्तेश्वर र बिगु गाउँपालिकामा कांग्रेस जितेको थियो ।

सिन्धुली: सिन्धुलीका नौ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनका दुईवटा दल कांग्रेसले ५ र माओवादी केन्द्रले ४ स्थानीय तह भागबण्डा गरेर तालमेल गरेका छन् । जसअनुसार कांग्रेसले कमलामाई नगरपालिकासहित गोलन्जोर, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपाकिलाको नेतृत्व लिएको छ भने, माओवादी केन्द्रले दुधौली नगरपालिकासहित हरिहरपुरगढी, सुनकोशी र मरिण गाउँपालिकाको नेतृत्व लिएको छ ।

अघिल्लो निर्वाचनमा कमलामाई र दुधौली नगरपालिका सहित फिक्कल गाउँपालिका एमालेले जित्दा गोलन्जोर, घ्याङलेख र तीनपाटन कांग्रेसले जितेको थियो भने मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

सिन्धुपाल्चोक: १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा दुई स्थानीय तहमा सत्तारूढ गठबन्धनका तीनवटै दल तथा तीनमा माओवादी केन्द्र र नेकपा एसबीचमा तालमेल भएको छ ।

जुगल र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबाट साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । दुबै पालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएका छन् ।

भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिकामा र इन्द्रावती गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् ।

बाँकी रहेको चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, र हेलम्बु गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । यसमा चौतारा साँगाचोकगढी र हेलम्बुमा माओवादीले नेतृत्व लिदाँ मेलम्चीमा नेकपा एसले नेतृत्व लिएको छ । यहाँ कांग्रेसले एक्लै उम्मेदवारी दिएको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोसी गापा जितेको थियो भने, एमालेले बाह्रबिसे, मेलम्ची, पाँचपोखरी, जुगल, लिसंखुपाखर, त्रिपुरासुन्दरी र बलेफीमा जितेको थियो । कांग्रेसले सुनकोसी, इन्द्रावती र हेलम्बुमा जितेको थियो ।

काठमाडौं: ११ स्थानीय तह रहेको काठमाडौं महानगरपालिकामा महानगरमा केन्द्रबाटै सत्तारूढ पाँचदलीय गठबन्धन भएको छ । त्यसबाहेकका काठमाडौंका १० स्थानीय तहमा माओवादी केन्द्र र नेकपा एसले मात्रै तालमेल गरेका छन् । कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।

नेकपा एस र माओवादीबीच पनि सबैमा तालमेल भएको छैन । नेकपा एसले नागार्जुन र दक्षिणकालीबाहेक अन्यमा मेयरको उम्मेदवारी दिएको छ ।

अघिल्लो निर्वाचनमा काठमाडौं महानगरपालिकासहित शंखरापुर, कागेश्वरी मनहरा, बुढानिकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो भने गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिका कांग्रेसले जितेको थियो ।

नुवाकोट: नुवाकोटमा अघिल्लो पटक एमालेले जितेका ४ स्थानीय तहमध्ये ३ तहमा सत्तारूढ गठबन्धन दलकाबीचमा तालमेल भएको छ । बाँकी तहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमती भएको छ ।

अघिल्लो पटक यहाँका १२ स्थानीय तहमध्ये एमालेले ककनी, तारकेश्वर र बेलकोटगढी गाउँपालिका र विदुर नगरपालिका जितेको थियो । त्यसमध्ये ककनीबाहेकका स्थानीय तहमा तालमेल भएको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले नुवाकोटका किस्पाङ, तादी, दुप्चेश्वर, मेघाङ, लिखु, शिवपुरी र सुर्यगढीगरी ७ स्थानीय तह जितेको थियो भने माओवादी केन्द्रले पञ्चकन्या गाउँपालिकामा जितेको थियो । किस्पाङमा कांग्रेसविरुद्ध माओवादी–एमालेको तालमेल हुने चर्चा पनि चलेको छ ।

ललितपुर: ललितपुरका ६ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरेका छन् । ललितपुर महानगरका हकमा केन्द्रबाटै तालमेल भएर कांग्रेसले नेतृत्व पाएको छ, भने अन्य ५ स्थानीय तहमध्ये ३ मा कांग्रेसले प्रमुख र २ मा माओवादीले प्रमुख पाउने भएको छ ।

जसअनुसार कांग्रेसले गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिका पाएको छ, भने माओवादीले महालक्ष्मी नगरपालिका र कोञ्ज्योस्योम गाउँपालिकामा अध्यक्ष पाएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले महानगर सहित बागमती र गोदावरी जितेको थियो । माओवादी केन्द्रले कोञ्ज्योस्योम गाउँपालिका जित्दा एमालेले महालक्ष्मी र महांकाल जितेको थियो ।

भक्तपुर: अघिल्लो पटक ४ वटा स्थानीय तह रहेको भक्तपुरमा कांग्रेस र माओवादी केन्द्र नील भएका थिए । यसपटक सत्तारूढ गठबन्धन दलले भक्तपुरका तीनवटा स्थानीय तहमा तालमेल गरेका छन् ।

जसअनुसार भक्तपुर, सुर्यविनायक र मध्यपुर ठिमीको मेयर कांग्रेसलाई नै दिइएको छ, भने उपमेयरमध्ये भक्तपुर र सुर्यविनायकमा नेकपा एस र मध्यपुर ठिमी माओवादी केन्द्रले लिएका छन् । चाँगुनारायणको मेयरमा सबै दलहरूले मनोनयन दिएका छन् ।

अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको सबै पदहरू नारायणमान विजुक्छेको पार्टी नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । बाँकी तीनवटामा चाँगुनारायण, सुर्यविनायक, र मध्यपुर ठिमी एमालेले जितेको थियो ।

रसुवा: पाँचवटा स्थानीय तह भएको रसुवामा भने कुनैपनि स्थानीय तहमा तालमेल भएको छैन् । नेकपा एस शुन्यप्रायः रहेको यो जिल्लामा माओवादी केन्द्र र कांग्रेसले एक्लाएक्लै मनोनयन दिएका छ् ।

अघिल्लो निर्वाचनमा उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकामा कांग्रेसले जितेको थियो, भने कालिका र गोसाईँकुण्ड गाउँपाँलिकामा एमाले जितेको थियो । नौकुण्ड गाउँपालिकामा नयाँशक्तिले जितेको थियो । पाँचवटै स्थानीय तहको उपाध्यक्ष भने एमालेका उम्मेदवारहरू जितेका थिए । कालिका गाउँपालिकामा नेकपा एस र माओवादीले तालमेल गरेका छन् ।

रामेछाप: आठवटा स्थानीय तह रहेको रामेछापमा कांग्रेसलाई बाहिर राखेर नेकपा एस र माओवादी केन्द्रले तालमेल गरेका छन् । सहमति अनुसार नेकपा एसले खाँडादेवी, लिखु तामाकोशी र गोकुलगंगाको अध्यक्ष पाएको छ भने दोरम्बा, सुनापति र उमाकुण्ड गाउँपालिका सहित मन्थली र रामेछाप नगरपालिकाको नेतृत्व माओवादी केन्द्रले लिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकामात्रै जित्दा माओवादी केन्द्रले सुनापती र दोरम्बासैलुङ गाउँपालिका जितेको थियो । बाँकी पाँचवटा मन्थली नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, लिखुतामाकोसी र खाँडादेवी गाउँपालिका एमालेले जितेको थियो ।

गठबन्धन दल उत्साही

यसरी बहुसंख्यक स्थानमा तालमेल सम्भव भएपछि सत्तारूढ दलहरू हौसिएका छन् । जसले धेरैभन्दा धेरै ठाउँमा एमालेलाई हराउन सकिने दलहरूको आँकलन छ । अघिल्लो निर्वाचनमा एमालेले एक्लै ६४ स्थानीय तहको नेतृत्व जितेको थियो ।

एमालेबाट फुटेको पार्टी नेकपा एस गठबन्धन दलहरूसँग मिसिएको छ । यस्तो अवस्थामा पूर्ण रूपमा नै गठबन्धन सम्भव भएको भए एमालेले अघिल्लो निर्वाचनमा पाएकोभन्दा ५ प्रतिशत मात्रै मत काटिएको अवस्थामा ६४ बाट २४ सिटमा झर्ने आफूहरूको अनुमान रहेको कांग्रेस बागमती प्रदेश कार्यालयका कार्यालय सचिव राजु नेपाल बताउँछन् ।

‘यो अवस्थामा गठबन्धन पूर्ण रूपमा कार्यान्वयन भएको भए पाँच प्रतिशत मतमात्रै काट्दा २४ मा झथ्र्यो । १० प्रतिशत काट्दा १२-१३ मा,’ उनले भने,‘यद्यपी केही जिल्लामा सम्भव भएन् । तर जतिमा भयो त्यसले उत्साहित त बनाएको छ नै ।’

उम्मेदवारी फिर्ता लिने समयसम्म अरु ठाउँमा पनि मिलाउने अवस्था रहेको काठमाडौं नेकपा एसका अध्यक्ष कुसुम कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर