अवकाशमा जानुअघि आईजीपी थापाले भने- व्यवसायिक छवी अन्तिमसम्म कायम राखेँ – Nepal Press

अवकाशमा जानुअघि आईजीपी थापाले भने- व्यवसायिक छवी अन्तिमसम्म कायम राखेँ

काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापाले संगठनमा व्यवसायिक, इमान्दार र पारदर्शी छवी अन्तिम घडीसम्म कायम राखेको दाबी गरेका छन् ।

३० वर्षे सेवा अवधिका कारण अवकाश पाउनुअघि बुधबार सुरक्षा पत्रकारसँगको भेटघाटमा आईजीपी थापाले भने, ‘म आईजीपीबन्दा जस्तो थिएँ, त्यस्तै रहेर बिदा हुँदै छु ।’ थापा यही १८ गतेदेखि अवकाशमा जाँदैछन् ।

तर, १७ गते शनिबार र १८ गते मजदुर दिवसको सार्वजनिक बिदा भएका कारण शुक्रबारसम्म मात्र उनी कार्यालय जानेछन् ।

वरिष्ठताका आधारमा २२ महिनाअघि आईजीपी नियुक्त भएका थापा नेपाल प्रहरीभित्र व्यावशायीक, इमानदार र पारदर्शी प्रहरी अधिकृतका रुपमा चिनिदै आएका थिए। उनले आफ्नो व्यावशायीक आचरण कति पनि कमजोर नबनेको दाबी गरेका हुन् ।

उनले आईजीपीको आफ्नो कार्यकालमा सन्तुष्ट रहेको बताए । संगठनभित्र तल्लो दर्जाका कर्मचारीका लागि आफूले गरेका कामहरू अभुतपूर्व रहेको बताए ।

‘विगतमा आईजीपीले माथिल्लो दर्जाका प्रहरीलाई मात्र हेर्छ भन्ने थियो । तर, मेरो कार्यकालका तल्लो दर्जाका कर्मचारीका लागि धेरै कामहरु भएका छन् । अझ म यसलाई अभुतपूर्व भन्न रुचाउँछु’, थापाले भने, ‘ तल्लो दर्जामा तीन वटा दरबन्दी थप भएका छन् । कार्यालय सहयोगीहरूको पाँच तहसम्म बढुवा हुने व्यवस्था भएको छ । एसपीसम्म एउटै पदमा कम्तीमा ८ वर्ष रहेर अवकाशमा जाँदा स्वत: एक तह बढुवा पाउने व्यवस्था गरिएको छ । प्रहरीको रासनमा १५ प्रतिशत वृद्धी भएको छ । जुत्तादेखि ब्लाङ्केटसम्म स्तरीय दिने व्यवस्था गरेका छौँ ।’

उनले आफ्नो कार्यकालमा भएका ठूला अपराधको सफलतपूर्वक अनुसन्धान भएको पनि बताए ।

‘विगतमा निर्मला पन्त प्रकरणको अनुसन्धान पनि टुंगो लगाउन प्रयाश गरेको थिएँ । एआईजीसमेत खटाएर प्रयाश गरिएको थियो। यो पत्ता लगाउन सकेको भए राम्रो हुने थियो । तर, मेरो कार्यकालमा भएका ठूला घटनाको अनुसन्धान निष्कर्षमा पुगेन नी भन्ने अवस्था रहेन’, थापाको भनाइ छ ।

कोरोना महामारीको समयमा नेपाल प्रहरीको प्रभावकारी उपस्थिति गराउन सकेकोमा आफूलाई गर्व लागेको उनले सुनाए ।

‘तर कोरोना महामारीका कारण प्रहरी-समुदाय साझेदारीलाई अपेक्षित विस्तार गर्न सकिएन । प्रहरीको पेन्सनलाई १६ वर्षमा झार्न पनि प्रयास भएको हो । यो पनि मेरै पालामा गरौँ भन्ने इच्छा थियो तर निकट भविष्यमै यो हुन्छ’, थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर