किन मतदाताको पाउ परे भरतपुर मेयरका उम्मेदवार सुवेदी ?
निर्वाचनताका उम्मेदवारले प्रचारका लागि अनेक ‘स्टन्ट’ गर्ने कुरा नौलो होइन । पछिल्लो समय स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा त्यस्ता ‘स्टन्ट’हरु खुब हुन थालेका छन् । तीमध्ये बुधबार भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु गर्दा ज्येष्ठ नागरिकको गोडा ढोगेको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
खासमा उक्त तस्बिर खिचिनु र सार्वजनिक हुनुको अन्तर्य के थियो ?
उक्त तस्बिर खिचेर सार्वजनिक गरेकी पत्रकार प्रतिमा सिलावाल भनाइ, जस्ताको तस्तै–
चुनाव लागेपछि यसै पनि रिपोर्टिङको लागि दौडादौड छँदैछ । त्यहीं क्रममा माडी जाने तयारीमा थिएँ । मेरो घर भतपुरको १६ नम्बर वडामा पर्ने भएकोले भरतपुरतर्फ नगइ माडी जान सिधा बाटो पर्दछ ।
बिहान ७ बजेतिर घरबाट निस्किएँ । शारदानगरहुँदै जगतपुर निस्किने क्रममा पार्वतीपुर बजार कटेर जानुपर्छ । स्कुटरमा जाँदै थिएँ, पार्वतीपुरमा सूर्य चिह्न अंकित झण्डासहित केही मानिस भेला भएको देखेँ । आखिर मलाई चुनावी स्टोरीको खोजी न थियो । एकैछिन त्यहीं हुलमा अडिएँ ।
सोधीखोजी गर्दा थाहा पाएँ, एमालेका मेयर उम्मेदवार विजय सुवेदी घरदैलोमा आउँदैछन् । हुन त मलाई माडी जानुपर्ने काम महत्वपूर्ण थियो । यद्यपि, विजय सुवेदीप्रति स्थानीयको कस्तो छाप रहेछ बुझ्न मन लाग्यो ।
भीडमा सरसर्ती आँखा डुलाएँ । एकजना पाका व्यक्ति, जसलाई त्यहाँ आउनेले ढोग, नमस्कार गर्दै थिए । लठ्ठीको सहारामा उभिएका उनीसँग अलिकति राजनीतिक गफ गर्न मन लाग्यो ।
गफ सुरु गरेँ ।
८३ वर्षका धनबल्लव न्यौपाने रहेछन् । लमजुङबाट १० सालतिरै चितवन झरेका । पहिले जगतपुर बस्थे रे । १३ सालपछि पार्वतीपुर बसाइँ गएका । उनले चारकोसे झाडी फाँडेर बाटो बनाएको, फूलबारीदेखि तीन दिन लगाएर पार्वतीपुर पुगेको किस्सा पनि सुनाए ।
सरकारले बाटो सिधा पारिदेला भन्ने आश त्यतिबेलैदेखि रहेछ उनीहरुको । तर, त्यहीं फाँडेको गोरेटो लामो समय रह्यो । उनका अनुसार पछि सरकारले बाटो खन्ने बेला त्यही गोरेटोलाई सडकमा स्तरोन्नति गरिदियो ।
पुरानो चितवनको चर्चादेखि उनले राजनीतिक गफ पनि गरे । १५ सालदेखिकै आफू कम्युनिष्ट भएको सुनाए । कम्युनिष्ट भएकोले ‘उग्र’ भन्दै लमजुङदेखि लखेटिएको अनि पार्वतीपुरमा पनि कांग्रेसहरुले टिक्न नदिएको अनुभव पनि उनले सुनाएका थिए ।
आफू पार्वतीपुरको ‘पहिलो कम्युनिष्ट’ भएको दाबी पनि उनले गरे । उनको कुराकानी सबै मैले मोबाइलको अडियोमा रेकर्ड गरेँ । त्यसपछि भने अहिलेका उम्मेदवारको प्रश्न गरेँ ।
विजय सुवेदीको बाल्यकाल पनि पार्वतीपुरमै बितेको कारण उनको राजनीतिक र व्यक्तिगत जीवनबारे केही जान्दछन् भन्ने लाग्यो मलाई ।
उनले विद्यार्थीकालदेखि विजय सुवेदीको आचरण व्यवहारबारे आफू जानकार रहेको बताए ।
अझ वीरेन्द्र क्याम्पस पढ्दा विजय सुवेदीले कुटाइ खाएको र रगताम्य भएको क्षण कहिल्यै नभुल्ने पनि सुनाए । उनले अझ थपे, ‘हामीले दुई पटकसम्म सांसदमा उठाएको पनि हो । तर, जिताउन सकिएन ।’
अहिले महानगरबाट उम्मेदवार बनेकोले आफूलाई असाध्यै खुसी लागेको बताए ।
अनि विजय सुवेदी कस्ता नेता हुन् त ?
मेरो प्रश्नमा उनले थपेका थिए, ‘विजय कमरेडलाई भन्नुपर्दा जे बोल्छन्, त्यो गर्छन् । उहाँको विजय सफल होस् । तर, अहिले सफल नभएपनि हामीलाई जनताले हेँला गरे भनेर ठान्नुहुन्न । त्यसैले उहाँ त जहिल्यै अगाडि । हारे पनि अगाडि, जितेपनि अगाडि । सयका सय गुण मेरा तर्फबाट ।’
आफूले मन पराएको पार्टीका उम्मेदवारको गुणगान उल्कै गाउने रहेछन्, कार्यकर्ताझैँ लाग्यो मलाई । कुराकानी सकिनै लाग्दा मेयरका उम्मेदवार विजय सुवेदी टुप्लुक्कै पुगे । उहाँलाई देखेपछि पहिले दुई हात जोडेर निहुरिए ।
न्यौपानेले विजय सुवेदीको टाउकोमा हात राखेर ठ्याक्कै दुई मिनेट लामो समयसम्म आशीर्वादका शब्दहरु भट्याइरहे, सुवेदी निहुरिरहे । जब न्यौपानेले आशीर्वाद टुंग्याए, विजय सुवेदी भावुक भए सायद । उनले न्यौपानेको खुट्टामै निहुरिए र ढोग गरे । हतारिँदै त्यो दृष्य कैद गर्न भ्याइहालेँ ।
एउम्मेदवार विजय सुवेदीलाई तत्कालै सोधेँ, तपाइँले त खुट्टै ढोग्नुभयो ?
जवाफमा विजय सुवेदीले भने—
म जहाँ हुर्किएँ खेलेँ, उहाँ यहाँकै राजनीतिक अभिभावक हुनुहुन्छ । २०४१ सालमा विद्यार्थी आन्दोलनमा मलाई कुटपिट हुँदासमेत उहाँले संरक्षण गर्नुभयो । उहाँप्रति मसँधै श्रद्धा गर्छु ।
केहीअगाडि उहाँ निकै बिरामी पनि हनुहुन्थ्यो । निको भएकोले आज मैले उहाँको आशीर्वाद लिने मौका पाएँ, त्यसैले श्रद्धाले खुट्टामा ढोग गरेको हुँ ।