रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि यसरी तयार हुँदैछ रथ (तस्बिर/भिडिओ) – Nepal Press

रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि यसरी तयार हुँदैछ रथ (तस्बिर/भिडिओ)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण भइरहेको छ । वैशाख कृष्ण प्रतिपदाका दिने रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि रथ बनाउने काम भइरहेको हो ।

वैशाख शुक्ल प्रतिपदा अर्थात वैशाख २१ गतेदेखि सुरु हुने मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको गुठी संस्थानले जनाएको छ । रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ ।

काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ । पाटनको तःबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ । मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ । आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर पाटनका बिभिन्न स्थानमा पुर्‍याइने गरिन्छ ।

किंवदन्तीअनुसार १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *