महिलालाई रातभर एक्लै हिँड्न सक्ने सुरक्षित काठमाडौं बनाउँछु : सिर्जना सिंह (भिडिओ) – Nepal Press
स्थानीय चुनाव

महिलालाई रातभर एक्लै हिँड्न सक्ने सुरक्षित काठमाडौं बनाउँछु : सिर्जना सिंह (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रहेकी सिर्जना सिंहले सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

आज आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गर्दै उनले त्यसका लागि सबैभन्दा पहिला महानगरपालिका भ्रष्टाचारमुक्त बनाउने बताइन् ।

‘जब घर नै प्रदूषित छ, भने कसरी सुशासन दिन सक्छु,’ उनले भनिन्,‘त्यसकारण म मेयर भएपछि महानगरभित्र सबैभनदा पहिला भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरी चुस्त र दुरुस्त पार्नेछु ।’

त्यसपछि काठमाडौंको विकराल समस्याका रूपमा रहेको फोहोर समाधानमा ध्यान दिने बताइन् । त्यसका लागि उनले ‘जिरो वेष्ट म्यानेजमेन्ट’ को अवधारणा आफूसँग रहेको बताइन् । ‘घरबाटै सुरू गर्ने । जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा सञ्चालन गर्छु । त्यसबाट कम्पोस्ट बनाउन सक्छौं । रिसाइकल गर्नसक्छौं,’ उनले भनिन् ।

यस्तै काठमाडौंलाई हिँड्नयोग्य सहर बनाउँने पनि उनले बताइन् ।

‘काठमाडौंमा फुटपाथमा सबैले आनन्दसँग हिँड्न पाउने, साइकल लेन भएको, प्रदूषणमुक्त सडक बनाउने मेरो योजना छ,’ उनले भनिन्,‘यसबाहेक ट्राफिक जाम कम हुने, सडकमा खाल्डाखुल्डी देख्न नपर्ने बनाउँछु ।’

उनले महिलालाई सुरक्षित महसुस हुनेगरीको महानगर बनाउने आफ्नो योजना पनि सुनाइन् ।

‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ । म मेयर भए त्यो समस्या हटाउँछु,’ उनले भनिन्,‘त्यसका लागि झिलिमिली सडक बनाए, सिसिटिभी क्यामराहरू राख्छु ।’

त्यसपछि महिलाहरूमा सुरक्षाको अनुभूति दिलाउन एकरात एक्लै काठमाडौंमा हिँड्नेसम्मको आफ्नो योजना रहेको उनले सुनाइन् ।

काठमाडौंमा रहेका विपन्न महिलालाई लक्षित गरेर उनीहरूको श्रमको सम्मानसहितको विशेष प्याकेज ल्याउने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर