कैलाली कांग्रेसमा प्रमुख उपप्रमुखमै दर्जनौँ बागी, फिर्ता लिन आनाकानी – Nepal Press

कैलाली कांग्रेसमा प्रमुख उपप्रमुखमै दर्जनौँ बागी, फिर्ता लिन आनाकानी

कैलाली । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिए पनि कैलालीमा अहिले सम्म कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

गठबन्धनका दलहरूको सहमतिमा कैलालीका १३ पालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको क्षेत्र बाँडफाँट गरिएको थियो ।

नेपाली कांग्रेसले प्रमुख पदमा माओवादी र एकीकृत साजवादीको भागमा परेका स्थानीय तहमा बागी उम्मेदवारी दिएको छ ।

उनीहरूलाई फिर्ता गराउने प्रयास भइरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

उनले भने, ‘अहिले सम्म कसैले पनि फिर्ता लिनु भएको छैन । तर, लिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा पनि कांग्रेसका बागी उम्मेदवार छन् । यहाँ गठबन्धनका दलहरू बिच प्रमुख कांग्रेसले र उपप्रमुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

प्रमुखमा नृप वडले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट शान्ति अधिकारीले उम्मेदवारी दिएकी थिइन् । उपप्रमुखमा कांग्रेसका प्रभाकर भण्डारीले पनि मनोनयन दर्ता गराएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकामा कांग्रेसकै विरुद्ध कांग्रेसको उम्मेदवारी परेको छ । त्यहाँ कांग्रेसका तर्फबाट गुरिया देवी चौधरी र राजेश हमालको उम्मेदवारी छ र गठबन्धनको सहमतिमा माओवादी केन्द्रका उपाध्यक्षको भाग गरेको जानकी गाउँपालिकामा कांग्रेसकी उमा महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । उनी यस अघिको उपाध्यक्ष हुन् ।

टिकापुरमा पनि कांग्रेस नेताले कांग्रेस बिपीको नाममा उम्मेदवारी दिएका छन् ।

कैलालीमा सबै भन्दा धेरै बागी उम्मेदवार कैलारी गाउँपालिकामा छन् । माओवादी केन्द्रको भागमा परेको कैलाली गाउँपालिका प्रमुखमा कांग्रेसका राज समझ चौधरी, रामचरण चौधरी र मनिराम बखरीले उम्मेदवारी दिएका छन् ।

माओवादीले पाएको मोहन्यालमा गाउँपालिका प्रमुखमा कांग्रेसका रबी रानाले र लोकेन्द्र बडूवालले उम्मेदवारी दिएका छन् । बडूवालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन् । एकीकृत समाजवादीले प्रमुख पाएको चुरे गाउँपालिकामा टिकाराम ढुङ्गानाले उम्मेदवारी दिएका छन् ।

प्रमुख र उपप्रमुखमा मात्रै कैलालीमा दर्जन बढीको बागी उम्मेदवारी छ । यहाँका सबै जस्तो वडाहरूमा गठबन्धनको विरुद्धमा वा कांग्रसकै विरुद्धमा पनि बागी उम्मेदवार उठेका छन् ।

उनीहरूलाई मनाउने प्रयास भइरहेको कांग्रेस सचिव सुनारले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिले पनि आज उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर