माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनमा अब ‘नचल्ने’ – Nepal Press

माओवादी केन्द्रका प्रदेश इन्चार्ज भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनमा अब ‘नचल्ने’

काठमाडौं । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टको हस्ताक्षर अब निर्वाचन प्रयोजनमा ‘नचल्ने’ भएको छ । ‘जथाभाबी’ निर्णय गर्न थालेपछि उनको अधिकार केन्द्रले खोसेको पार्टी स्रोतले जनाएको छ ।

अब प्रदेश समितिका अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर नै आधिकारिक हुने भनेर पार्टी केन्द्रले निर्वाचन अधिकृतको कार्यालयहरूलाई पत्राचार गरिसकेको छ । सो कुरालाई केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि पुष्टि गरे ।

भट्टले मुख्य गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रदेश समितिलाई हस्तक्षेप गरेर मेयरको टिकट दिएपछि विवाद बढेको हो ।

नगर कमिटीबाट पहिलो नम्बरमा सिफारिस भएर आएका लोकबहादुर ऐरलाई जिल्ला कमिटीले पनि सदर गरेर पठाउँदा प्रदेश समितिले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर भट्टले हस्तक्षेप गरेर नवराज ऐरलाई उम्मेदवार बनाउनुपर्ने अडान राखे । सोहीअनुसार आफै पहल गरेर नवराजलाई उम्मेदवार बनाई छाडे । जसमा उनले आफ्नो हस्ताक्षरको अधिकार प्रयोग गरेका थिए ।

त्यसपछि असन्तुष्ट बनेका लोकबहादुरले पनि उम्मेदवारी दर्ता गरे ।

यसरी माओवादी केन्द्रबाटै २ जना उम्मेदवार भएपछि प्रदेश इन्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयबाट नवराजलाई आधिकारिक उम्मेदवार घोषणा गराइछाडे ।

यही विवादका कारण माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट लोकबहादुरको उम्मेदवारी फिर्ता लिन लगाएर भट्टसँग हस्ताक्षरको अधिकार छिनेको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर