उदयपुरका ६ स्थानीय तहमा पुरानै अनुहार चुनावी मैदानमा – Nepal Press

उदयपुरका ६ स्थानीय तहमा पुरानै अनुहार चुनावी मैदानमा

काठमाडौं । नेपाली राजनीतिमा सत्ता मोह केन्द्रदेखि स्थानीय तह सम्म देखिएको छ । एकपटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा हुँदै गर्दा यही रोग उदयपुरका स्थानीय तहमामा देखिएको छ ।

अघिल्लो कार्यकालमा राम्रो काम गर्ने मात्र होइनन्, पटक–पटक विभिन्न काममा विवादित भएका जनप्रतिनिधिसम्म यस पटकको स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमध्ये ६ स्थानीय तहका प्रमुख तथा अध्यक्ष र एकजना उपप्रमुख तथा उपाध्यक्षले सोही पदमा चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

सत्ता मोह छर्लङ्ग उदाहरण जिल्लाको चौदण्डी गढी नगरपालिकामा प्रस्ट देखिएको छ । यस नगरपालिकामा त प्रमुख र उपप्रमुख दुवैले त्यही पदमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् ।

चौदण्डी गढी नगरपालिकाका प्रमुखमा खगेन्द्र राई र रिता कुमारी चौधरी गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए र यो पटक पनि सोही पदमा मैदानमा उत्रेका हुन् ।

नेकपा एमालेबाट त्रियुगा नगरपालिकाको प्रमुखमा निर्वाचित बलदेव चौधरी यो पटक पनि नगरप्रमुखमा लड्दै छन् ।

नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष समेत रहेका उनी फूले थालेका दीर्घकालीन योजनाहरू पूरा गर्न नपाएकाले तिनलाई पूरा गर्न पुनः नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा आएको बताउँछन् ।

यस्तै गरी जिल्लाको व्यापारिक केन्द्रका रूपमा परिचित कटारी नगरपालिकामा प्रमुखको लागि पुनः ज्ञानेन्द्र श्रेष्ठ दोहोरिएका छन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित उनी यो पटक पनि एमालेबाट नै चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । कटारी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख भिमकुमारी राउतले नगर प्रमुखमा बागी उम्मेदवारी दिएकी छन् ।

यता बेलका नगरपालिकामा नेकपा एमालेले पुनः दुर्गा कुमार थापालाई टिकट दिएको छ । उनी उदयपुरमा राम्रा नराम्रा काम गरेर बेलाबेलामा चर्चामा आई रहने स्थानीय तहका प्रमुख मध्ये एक हुन् ।

उनीविरुद्ध उपमेयर रामकुमारी चौधरीले नै भ्रष्टाचारीको आरोप लगाएपछि बेलकाबासी आन्दोलितसमेत भएका थिए ।

उदयपुर गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर क्याप्छाकी मगर ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पार्टी विभाजन पछि उनी एकीकृत समाजवादीमा रहेका छन् । मगरले यो पटक पनि सोही पदमा उम्मेदवारी दिएका छन् । उनी तीन दलीय गठबन्धनबाट अध्यक्षमा उम्मेदवार बनेका हुन् ।

यस्तै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षमा मेजर कुमार राई पुनः दोहोरिएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

लिम्चुङबुङ गाउँपालिकामा निवर्तमान उपाध्यक्ष रमिला राईले पनि गाउँपालिकाको उपाध्यक्षमा पुनः उम्मेदवार दिएका छन् । उनी ०७४ मा नेपाली कांग्रेसबाट विजयी भएकी थिइन् । तर यो पटक भने उनलाई पार्टीले टिकट दिएर लडेकी हैनन् । गाउँपालिकामा गठबन्धनमा नेपाली कांग्रेसका पुष्प राई उम्मेदवार रहेका छन् ।

पार्टीले अर्को उम्मेदवार बनाएको भए पनि उनी गठबन्धनका विरुद्ध गाउँपालिका उपाध्यक्षमा लड्न लागेकी हुन् ।

उनीहरू आफूले गरेका राम्रा काममा गति लिन र यसअघि गर्न नसकेका कामलाई पूर्णता दिन पुनः सोही पद दोहोर्‍याएको दाबी गर्दै मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने कसरतमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर